विश्वकप २०२२ को उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन फ्रान्स अर्जेन्टिनासँग स्तब्ध बन्यो। पेनाल्टीमा फ्रान्स ४-२ ले पराजित भयो। फ्रान्सका किंग्स्ले कोमानको प्रहारलाई अर्जेन्टिनाका किपर इमिलियानो मार्टिनेजले निष्प्रभावी बनाएपछि खेल अर्जेन्टिनाको पक्षमा पुग्यो।
कोमानको प्रहार रोक्न सफल भएपछि मार्टिनेज भावुक भए। मैदानमा गोडा तन्काए, खुशीको आँशु चुहाए। विश्वकप २०२२ मा मार्टिनेज पेनाल्टी चरणमा २ पटक हिरो बने।
नेदरल्याण्डसँगको खेलमा मेसीको जादुमय पासको सहयोगमा नहेल मोलिनाले अर्जेन्टिनालाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा पेनाल्टीमार्फत मेसीले अग्रता दोब्बर पारे।
खेलको दोस्रो हाफमा डचले, वाट वेहोर्सटलाई मैदान छिराएसँगै नेदरल्याण्ड लयमा फर्कियो। वाटले ८३ औँ मिनेट र इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए। थपिएको ३० मिनेटमा दुबै टोलीले गोल गर्न सकेनन्। २०२२ को विश्वकपमा नेदरल्याण्ड विरूद्धको खेलमा मार्टिनेज पहिलोपटक खेलको केन्द्रमा रहे।
डचका दुई प्रहारलाई मार्टिनेजेले निस्तेज पारिदिए। मार्टिनेजको कौशलका कारण अर्जेन्टिनाले खेल ४-३ ले जितेको थियो।
गत वर्षको कोपा अमेरिकामा अर्जेन्टिना कोलम्बियाविरूद्ध मैदानमा थियो। सेमिफाइनल खेलमा मार्टिनेजले कोलम्बियाका तीन वटा पेनाल्टी प्रहार रोके। कोलम्बियाका डेभिसन सान्चेज, यरी मिना र एडविन कार्डोनाको प्रहारलाई मार्टिनेजले सफल हुन दिएनन्। कोपाको फाइनलमा ब्राजिललाई १-० ले स्तब्ध बनाउँदै उपाधिमा २८ वर्षे खडेरी अर्जेन्टिनाले तोडेको थियो।
कोपा अमेरिकामा पेनाल्टी प्रहारको पंक्तिमा रहेका कोलम्बियन खेलाडीहरूप्रति उनले गरेका खिसिट्युरी शब्द माइक्रोफोनमार्फत् खाली मैदानमा गुन्जियो।
सान्चेजको प्रहारमा मार्टिनेजले भनेका थिए- मलाई माफ गर, तर म तिम्रो प्रहारलाई रोक्नेछु।
‘तिमी हाँसिरहे पनि तिमी अत्तालिएका छौ,’ मार्टिनेजले मिनालाई भनेका थिए।
‘म आँखा चिम्लिएरै तिम्रो प्रहार रोक्न सक्छु। मैले तिमीलाई चिनिसकें,’ मार्टिनेज थप उत्तेजित भए।
मिनाको प्रहारलाई मार्टिनेजले जाली चुम्न दिएनन्। रेफ्रीले सिटी फुके।
सन् २०२२ को विश्वकपमा डच टोली अर्जेन्टिनासँग सन् २०१४ को बदला लिने सोचमा थियो। सन् २०१४ मा पनि पेनाल्टी चरणको खेलमा नेदरल्याण्ड ४-२ ले पराजित भएको थियो। डच टोलीलाई मार्टिनेजले बदला चुक्ताको मौका नै दिएनन्।
जब-जब खेल पेनाल्टी चरणमा पुग्छ मार्टिनेज निकै आक्रामक देखिन्छन्। उनको यो शैलीले विपक्षीमाथि दबाब बढाउँछ।
पेनाल्टी चरणमा मार्टिनेजको रणनीति छ- आत्मविश्वासिलो र आक्रामक हुलियाले विपक्षीलाई प्रहारअघि नै अत्याउने। उनको यो रणनीति धेरै हदसम्म सफल पनि हुँदै आएको छ।
डचविरूद्धको खेलमा भर्जिल भानको प्रहारलाई जाली चुम्नबाट बचाएपछि मार्टिनेज समर्थकतर्फ फर्किए। उनीहरूतर्फ हात हल्लाए।
भीडबाट हौसला बटुल्दै स्टेभन बुर्गेइसको प्रहार निस्तेज पार्ने तयारीमा जुटे। बुर्गेइसलाई बल दिने क्रममा उनले मच्चाएर फालेका थिए। पेनाल्टी एरियाभन्दा निकै पर पुगेर बुर्गेइसले बल ल्याउनु परेको थियो। रेफ्रीले मार्टिनेजलाई सचेत गराए। असावधानीपूर्वक कुम बढी मच्चिँदा बल पर पुगेको बताए। त्यसपछि बुर्गेइस पेनाल्टी एरियामा आए। मार्टिनेजको यो चाल नियतपूर्वक रहेको कतिपयको टिप्पणी छ।
विपक्षीको ध्यान भंगका लागि उनले यसो गरेको कतिपय बताउँछन्। खैर, पेनाल्टी एरियामा पुगेर बुर्गेइसले जसै बल प्रहार गरे, पोस्टको देब्रेतर्फ लम्किएर भर्जिलको प्रहार रोकेका मार्टिनेजले दाहिनेतर्फ ढल्किएर बुर्गेइसको बललाई गोल हुन दिएनन्।
दोस्रो प्रहार पनि निस्तेज पारेपछि मार्टिनेज खुसीले मैदानमा उफ्रिए।
पेनाल्टी प्रहार रोकेपछि सामान्यत: गोलकिपरहरू उत्सवको संकेत नगरी अर्कोलाई पोल छोड्छन्। मार्टिनेज भने उत्सव मनाउन हम्मेसी छुटाउँदैनन्। आक्रामक र आत्मविश्वासिलो भावले विपक्षीलाई मनोवैज्ञानिक दबाबमा राख्ने क्षमता मार्टिनेजमा छ। गोल रक्षाका निम्ति आत्मविश्वास मात्रै पर्याप्त हुँदैन, यसमा सम्पूर्ण शक्ति खर्च गर्नुपर्नेहुन्छ। उत्कृष्ट प्रदर्शनका निम्ति शारिरिक मात्रै होइन मानसिक पाटो पनि उत्तिकै महत्वपूर्ण छ।
गोलरक्षकमा देखिने आक्रमकता प्राकृतिक हुन जरूरी छ। गोलरक्षकलाई आक्रामक व्यक्तित्व नसुहाउन पनि सक्छ। यस्तो अवस्थामा जबरजस्त रूपमा आक्रामक देखिन सुझाएमा परिणाम नराम्रो हुनसक्छ। गोलरक्षकको भावना स्थिर हुनुपर्छ। मार्टिनेज हरबखत आक्रामक देखिन्छन् र त्यो प्राकृतिक छ।
मार्टिनेजको शैली यत्तिमै रोकिँदैन। नेदरल्याण्डका वेगोर्सटले बल अर्जेन्टिनाको पोस्टतर्फ लम्किँदै गर्दा रेफ्री पछाडि फर्किएका थिए। पोस्ट छोडेर अघि बढ्दै मार्टिनेजले बल प्रहार गरे। सामान्यत: यस्तो अवस्थामा पहेँलो कार्ड पाउने अवस्था हुन्छ। मार्टिनेजको भाग्य ! उनको हर्कत रेफ्रीले देखेनन् र जोगिए।
डच खेलाडी गोलपोष्ट वरपर हुँदा त्यसलाई बलियो गरी सामना गर्न मार्टिनेज नै अग्रसर थिए। कतिपय अवस्थामा उनले नै सिधै सुट प्रहार गरे। बललाई आफ्नो पकडमा राखेर प्रहार गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने राम्रो ज्ञान उनमा छ।डचविरूद्धको खेलमा मार्टिनेज पेनाल्टी बक्सको राजा बने।
अर्जेन्टिनाको अन्तिम प्रहारमा लुआरो मार्टिनेजले गोल गरे। अरू सबै लुआरोतर्फ झुम्मिँदा मेसी गोलरक्षक मार्टिनेजतर्फ अघि बढे। म्याचपछि मेसीले भने, ‘विश्वकै सबैभन्दा उत्कृष्ट गोलरक्षक हामीसँग छन्। खेल पेनाल्टी चरणमा गएमा नतिजा हाम्रै पक्षमा हुनेछ भन्नेमा हामी निश्चिन्त थियौं।’
मैदानमा उत्रिएका हरेक खेलाडीको लक्ष्यझैं खेल जिताउनु नै मार्टिनेजको ध्येय थियो। त्यसैले हरेक खेलमा उनी आक्रामक रूपमा प्रस्तुत हुन्थे। आफ्नो यो शैलीलाई कायमै राख्नका निम्ति नेदरल्याण्डका व्यवस्थापकबाट इख लिएको मार्टिनेजको भनाइ छ। म्याचअघि डच व्यवस्थापक लुइस भान गालको भनाइ स्मरण गर्दै मार्टिनेजले भनेका छन्, ‘म्याच अघि उनीहरूले नानाभाँती भने। कोचले २०१४ को बदला लिने बताए। उनको भनाइ राखिएको आलेखलाई मैले फोनमा सुरक्षित राखें। हरेक दिन त्यही पढें। मेरो शैलीलाई बरकरार राख्न त्यो आलेख निकै सहयोगी बन्यो।’
अर्जेन्टिनाका मार्टिनेजझैं क्रोयसियाका लिभाकोभिचले पनि पेनाल्टी किलरका रूपमा परिचित भइरहेका छन्। जापानविरूद्धको खेलमा उनले ३ बल बचाए। ब्राजिलविरूद्धको खेलमा पनि उनले आफ्नो कौशललाई कायमै राख्दा ब्राजिल स्तब्ध बन्न पुग्यो।
लिभाकोभिचले नेयमारका चार प्रहार रोके। लुकासका दुई प्रहारलाई निस्तेज पारे। अतिरिक्त समयमा पनि उनले उत्तिकै उत्कृष्ट प्रदर्शन गरे। १ सय २० मिनेटको खेलमा लिभाकोभिचले ११ प्रहार रक्षा गरे। विश्वकप २०२२ मा एउटा खेलमा सबैभन्दा बढी गोल रक्षा गरेको खेल यही नै हो। पेनाल्टी चरणमा ब्राजिलका रोड्रिगोको प्रहार रोक्दा खेल क्रोयसियाको पक्षमा पुग्यो। लिभाकोभिच म्यान अफ द म्याचले सम्मानित भए।
लिभाकोभिचको शैली मार्टिनेजको भन्दा पृथक छ। उनी विपक्षीको ध्यान भंग गर्नेमा भन्दा पनि बलको दिशामा र आफ्नो आसनमा ध्यान केन्द्रित गर्छन्।
पेनाल्टी चरणको खेलमा लिभाकोभिचलाई नियाल्ने हो भने उनले बलको दिशालाई पच्छाउँदै निस्तेज पारेका छन्। गोल छेक्न नसक्दा पनि उनी गलत दिशामा गएका छैनन्। सुटरले उनलाई झुक्याउन सक्दैनन्। लिभाकोभिचको एउटा अद्भूत क्षमता छ। सुटरको प्रहार शैली उसले प्रहारका निम्ति लगाएको शक्ति, समय र दूरी नियाल्छन् त्यसैको अड्कलमा बललाई पछ्याउँछन्। ब्राजिलविरूद्धको खेलमा रोड्रिगोको प्रहारमा लिभाकोभिचको अन्दाजलाई उदाहरणका रूपमा लिन सकिन्छ।
खेल पेनाल्टी चरणमा पुग्दा ब्राजिलियनहरू निकै संयमतापूर्वक प्रहारका निम्ति पुगेका थिए। आफ्नो स्कोर टिमका निम्ति कति महत्वपूर्ण छ रोड्रिगोलाई राम्रैसँगै थाहा थियो। ब्राजिलियनहरू पनि रोड्रिगोले पेनाल्टी मिस नगर्नेमा विश्वस्त थिए। तर, जापानविरूद्धको खेलमा लिभाकोभिचको प्रदर्शन फेरि दोहोरिने खतरा थियो। लिभाकोभिच हलचल गरिरहेका थिएनन्। उनी सुटरलाई नियाल्नमै व्यस्त थिए। रेफ्रीले सिठी फुक्नेबित्तिकै रोड्रिगो अघि बढ्दै बल प्रहार गरे। लिभाकोभिचले देब्रेतर्फ हात लम्काउँदै बललाई जाली चुम्नबाट जोगाए। पेनाल्टी जोगाउँदा पनि लिभाकोभिचको आवरणमा कुनै परिवर्तन आएन। उनी न उत्तेजित देखिए त हर्षित। लिभाकोभिच स्थिर रहे।
मार्क्युनोको प्रहार मिस भए पनि क्रोयसियाले ४-२ को जित निकाल्यो। एउटै विश्वकपमा चारवटा पेनाल्टी प्रहार बचाउने सुचीमा सन् १९९० मा अर्जेन्टिनाबाट खेलेका सर्गेई योचा, सन् २०१८ मा क्रोयसियाबाट विश्वकप खेलेका डेनियल सेबिकपछि लिभाकोभिच अटाएका छन्।
पेनाल्टीको सामना गर्ने गोलरक्षकका लागि अत्यावश्यक छ धैर्यता। आफ्नो ज्यानलाई बलको दिशातर्फै धेकेल्नु उत्तिकै जरूरी छ। यता दूरी र समयको अन्दाज लगाउनु उत्तिकै महत्वपूर्ण छ।
पेनाल्टी प्रहार गर्नेहरू गोलरक्षकको चाललाई नियालेर प्रहार गर्छन्। सकभर गोलरक्षकलाई छक्याउने उनीहरूको प्रयत्न हुन्छ। त्यसैले गोलरक्षकहरू पनि बलकै दिशातर्फ आफूलाई पुर्याउने यत्नमा पनि हुन्छन्। बलको गतिमा आफ्नो मनस्थितिलाई चलाउनु निकै कठिन काम हो। खेलकुदमाझैं मानसिक रूपमा पनि गोलरक्षक तन्दुरूस्त हुन जरूरी छ।
मार्टिनेज र लिभाकोभिचको शैली फरक भए पनि उनीहरूमा एउटा कुरा साझा छ। उनीहरूको साझा विशेषता भनेको धैर्यता, शक्ति र बल प्रहारको एंगल अध्ययन गर्नसक्ने क्षमता हो।
डाइभ गर्दा उनीहरूलाई विशेष कौशल सिकाइन्छ। सिधा डाइभ गर्दा एक स्टेप अघि बढेर बललाई निस्तेज पार्न सिकाइन्छ भने। साइडतर्फ डाइभ गर्दा एक स्टेप पछि सरेर बललाई धकेल्न सिकाइन्छ। गोल हुन नदिनका निम्ति बलको एंगललाई पछ्याउनु पर्ने हुन्छ। पेनाल्टी रक्षा चुनौतीपूर्ण यो कारणले पनि छ कि बल प्रहार हुनुअघि गोरक्षक हलचल समेत गर्न पाउँदैन।
फ्रान्सका भर्जिलले बल प्रहार गर्दा मार्टिनेज ३० डिग्री एंगलमा अगाडितर्फ डाइभ गरे। उनले बललाई धकेल्न सफल भए। भर्जिलले प्रहार गर्नुअघि मार्टिनेज स्थिर थिए। जापान र क्रोएसियाविरूद्धको खेलमा जापानी मितोमा बल प्रहारका लागि आउँदा लिभाकोभिच धैर्यताका साथ अडिग थिए। मितोमा बल प्रहारका लागि आउँदै गर्दा लिभाकोभिचले दाहिनेतर्फ प्रहार हुने अड्कल लगाए। उनले दाहिने गोडालाई तन्काउँदै डाइभ गरे। लिभाकोभिच पनि बल जोगाउन सफल भए।
पेनाल्टीमा सुटर र गोलरक्षक दुबै दबाबमा हुन्छन्। गोल रक्षकका निम्ति प्रत्येक बचाउ बोनस हो। उत्कृष्ट गोलरक्षकको परीक्षा यहीँनेर हुने हो। गोलरक्षकका निम्ति सदाबहार उस्तै नतिजा र प्रदर्शन दिन सक्नु सबैभन्दा चुनौतीपूर्ण काम हो। गोलरक्षकको हकमा कुन शैली सही भनेर ठोकुवा गर्नु गलत हुनेछ। हरेक गोलरक्षकका पृथक क्षमता हुन्छ। तर, आफ्नो क्षमतालाई स्थिर कायमै राख्नु सफलता हो जुन मार्टिनेजमा देखिन्छ भने आफूलाई स्थिर राख्न लिभाकोभिचले पनि हरसम्भव प्रयत्न गरेका छन्।
लिभाकोभिचले एउटै खेलमा ११ प्रहार बिफल बनाउँदै म्यान अफ द म्याचको उपाधि पाए। यता मार्टिनेज गोल्डेन ग्लोभ्ससहित सम्मानित भए। पृथकताबीच पनि दुईमा समानता छ लगनशीलता, धैर्यता र बलको गतिलाई अध्ययन गर्ने क्षमता।
(द एथ्लेटिक्समा प्रकाशित सामग्रीको अनुवाद शिशिर ढकालले गरेका हुन्।)