इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ।
पोखराबाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक लगायतले विदाई गरेका थिए।
पहिलो पटक एशियाली खेलमा समाबेश गरिएको प्याराग्लाईडिङ खेलमा सहभागीता जनाउनेमा नेपालका ५ जना पुरूष र ३ जना महिला खेलाडी छन्। नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका शतप्रतिशत खेलाडीहरु कास्कीका हुन्। टिममा कान्छा उमेरका १६ वर्षीय खेलाडी युकेश गुरूङ पनि छन्।
नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन । नेपालले प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना रहेको खेल मध्ये एक हो।
प्रस्थान गर्ने खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) बिशाल थापा, शुसिल गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ, टिम प्रशिक्षक योगश भट्टराई रहेका छन्।
नेपाली टिम इण्डोनिशयाको राजधानी जर्काताबाट २ सय किलोमिटर टाढा पुनचाक् भन्ने स्थानमा पुग्ने प्रशिक्षक भट्टराईले बताए। नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इण्डोनेशिया जान लागेको हो। ‘प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चाप लगाएतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साता अघि नै जान लागेका हौं’, प्रशिक्षक भट्टराईले सेतोपाटीसँग भने ।
नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक साता पछि त्यस तर्फ प्रस्थान गर्नेछन्। प्याराग्लाइडिङ खेल अगस्ट १८ देखि ३० सम्म आयोजना हुँदैछ।