राम्रो सिनेमाका पात्रहरू अभिनय गर्दैनन्, उनीहरू पात्रको जीवन बाँच्छन्। यसो गर्दा उनीहरू पर्दाबाहिरकै मान्छेजस्ता लाग्छन्।
हाल चर्चामा रहेको 'मिनारी' फिल्मका पात्र यस्तै जीवन्त छन्।
आप्रवासी कोरियन-अमेरिकी परिवारको दैनिकी र सपना जोडेर बुनिएको मन छुने फिल्म हो मिनारी। तीन दर्जन बढी अवार्ड जितिसकेको यो फिल्म अस्कर अवार्डका लागि ६ वटा विधामा प्रतिस्पर्धा गरिरहेको छ।
सन्डान्स, टोरन्टोलगायत महोत्सवमा पुरस्कृत मिनारी गोल्डेन ग्लोब अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म बन्न सफल भएको थियो।
सन् १९८० ताका अमेरिकाको क्यालिफोर्नियामा चीन, कोरियालगायत पूर्वी एसियाली मुलुकबाट आउने आप्रवासी संख्या बढिरहेको थियो। यो वृद्धिसँगै अमेरिकामा एसियाली विरोधी भावना पनि मौलायो।
कयौं कोरियन आप्रवासी क्यालिफोर्नियाबाट दुर्गम प्रान्त अर्कान्स बसाइँ सरे र खेतीपाती गरेर गुजारा चलाए। नयाँ ठाउँमा बसाइँ सरेपछि उनीहरूले आर्थिक, सांस्कृतिक र पारिवारिक संकट झेल्नुपर्यो।
मिनारीले यस्तै संकटसँग जुधिरहेका परिवारको कथा भन्छ। यो परिवारमा जेकब, मोनिका र उनीहरूका दुई सन्तान एनी र डेविड छन्।
क्यालिफोर्निया छाडेर नयाँ सपनासहित अर्कान्सँ पुग्दै गरेको दृश्यबाट फिल्म सुरू हुन्छ। चल्लाको लिंग छुट्याउने काममा दक्ष जेकब र मोनिका यही काम गर्न थाल्छन्।
महत्वकांक्षी जेकब यही काममा सीमित हुन चाहँदैनन्। उनीसँग फराकिलो जग्गामा कोरियन जातका तरकारी खेती गर्ने सपना देख्छन्। हरेक वर्ष ३० हजार कोरियन अमेरिका आउने तथ्य उसलाई थाहा छ। उनी तिनै आप्रवासी कोरियनहरू लक्षित गरेर बजारमा तरकारी बेच्न चाहन्छ।
तर जेकबभन्दा सम्पन्न परिवारमा हुर्केकी मोनिकालाई श्रीमानको सपनाले आश्वस्त पार्न सक्दैन। उनी फिल्मको पहिलो दृश्यदेखि नै अशान्त देखिन्छिन्। उनलाई सुविधासम्पन्न सहरबाट टाढा जंगल र विरानो ठाउँमा बसाइँ सरेको चित्त बुझेको छैन।
उनी अर्कान्सँको चारचक्के घरमा बसेर जिन्दगीको गाडी सहजै नचल्ने सम्भावना देख्छिन् र आत्तिन्छिन्। जेकब र मोनिका दुवैले परिवारकै खुसीबारे सोचेका हुन्छन्, तर उनीहरूको सोच मिल्दैन। यो भिन्नताले उनीहरूबीच बेलाबेला झगडा भइरहन्छ।
तर उनीहरू झगडा मात्र गर्दैनन् समस्या समाधानको विकल्प पनि खोज्छन्। झगडापछि मोनिकाकी आमा सुनजालाई डेविड र उनकी दिदीको हेरचाहका लागि कोरियाबाट अमेरिका बोलाइन्छ।
उनीहरूको ८ वर्षे छोरा डेविडको मुटुमा समस्या छ। सुनजालाई डेविडको हेरचाहका लागि भनेर कोरिया बोलाइएको हुन्छ, उनको आगमनले यो परिवारको समस्या टर्दैन। सुनजा डेविडकी आदर्श हजुरआमा बन्न सक्दिनन्।
जेकब दिनरात खटेर अमेरिकामा कोरियन तरकारीहरू फलाउन सफल त हुन्छन् तर उनको व्यवसाय गर्ने योजनामा धक्का लाग्छ।
डेविड र मोनिकाको परिवारको जीवनमा के कस्ता मोड आउलान्? फिल्म हेरेर थाहा पाउनुस्।
फिल्मका निर्देशक ली आइज्याकका जङका बुवा आमा कोरियाबाट अमेरिका बसाइँ सरेर आएका हुन्। उनले आफ्नो र परिवारको भोगाइमा आधारित भई मिनारीको कथा लेखेका हुन्।
यो कथा भन्न उनले कोरियन बिरूवा मिनारीलाई विम्ब बनाएका छन्। मिनारी अर्थात् आशाको विम्ब।
हाम्रो भान्छामा धनियाँ भनेजस्तै कोरियन भान्सामा मिनारी खुब प्रयोग हुन्छ। मिनारी पानी पायो कि सप्रेर झाङ हालिहाल्ने बिरूवा हो। पहिलो वर्षमा सुस्त गतिमा हुर्किने यो बिरूवा दोस्रो वर्ष छिट्छिटो बढ्छ।
मिनारी फिल्मको कथा–विकासक्रम पनि पहिलो चरणमा सुस्त र दोस्रो चरणमा गतिशील लाग्छ। कोरियाबाट मिनारीको बीउ लिएर आउने डेविडकी हजुरआमाको आगमनअघि र आगमनपछि गरी दुई चरणमा बाँड्न सकिन्छ।
रेस्लिङ हेर्न मन पराउने, स-साना ठट्टामा रमाउने सुनजाको आगमनले परिवारमा रौनकता थप्छ तर सबै समस्या समाधान गर्दैन। नयाँ समस्या थपिँदै जान्छन्। हजुरआमाले आफूसँगै ‘कोरियन वासना’ बोकेर आएकी छिन्। तर डेविडलाई यो वासनाले तान्दैन। अमेरिकन नाति र कोरियन हजुरआमाबीच ‘लभ–हेट’को सम्बन्ध बन्छ, जुन फिल्मको प्राण हो।
हजुरआमाको भूमिका निर्वाह गर्ने युन यो जंग कोरियन सिनेमा उद्योगकी सशक्त कलाकार हुन्। मिनारीको चर्चाले उनलाई संसारकै उत्कृष्ट अभिनेत्रीको पहिचान दिलाएको छ।
मिनारीबाट उनले उत्कृष्ट सहअभिनेत्रीको भूमिकामा झन्डै दुई दर्जन अवार्ड जितिसकेकी छन्। अर्कोतिर डेविडको भूमिकाका लागि क्रिटिक्स च्वाइस अवार्ड समेत जितेका एलन किम पनि मिनारीबाट चर्चामा आएका छन्।
यी दुई कलाकारको पर्दामा हुने भेटले दर्शकलाई कतै हसाउँछ, कतै भावुक बनाइदिन्छ।
फिल्मका चार मुख्य पात्रलाई नयाँ परिवेश र परिस्थितिले अन्यौलमा पारेको छ। हरेक सदस्यका आ–आफ्नै समस्या छन्। मोनिका र ज्याकबबीच पारिवारिक द्वन्द्व छ। मुटुको समस्या भएको डेविड हजुरआमासँग रमाउन सकेको छैन। १०–११ वर्षकी डेविडकी अन्तर्मुखी दिदी घरभित्रका अन्य सदस्यको समस्याका कारण सानै उमेरमा परिपक्व बन्नुपरेको छ।
यो परिवारले नयाँ ठाउँमा जसोतसो एउटा बास बनाए पनि त्यसलाई टिकाइराख्न संघर्ष गरिरहनुपर्छ। कहिले वर्षा त कहिले आगलागीको कहाली भोग्नुपर्छ।
निर्देशक चङको लेखनमा बनेको यो पारिवारिक कथा जति मर्मस्पर्शी छ, कथा बुन्ने शैली उति सुन्दर छ। निर्देशकले फिल्ममा कथा र पात्रजस्तै परिवेश चित्रणमा पनि कुशलता देखाएका छन्। पात्रकै अनुहार वरिपरि क्यामरा घुमेको दृश्यले पात्रको अन्तर्मन खोतल्दै गर्दा लङ सटमार्फत पात्रहरूको सामाजिक पक्ष स्थापित गरिएको छ।
फिल्ममा बिरूवा मिनारीलाई आशाको प्रतीकका रूपमा चित्रण गरिएको छ। दर्शकलाई फिल्ममा यो आशाको कथा पात्रसँगै खुला सडक, खुला आकाश र उदाइरहेको सूर्यले पनि सुनाउँछ।
पात्रहरूको उमेर र स्वभावअनुसारकै मनोविज्ञान उतारिएको फिल्मको एउटा दृश्यमा डेविडलाई जेकबले सजाय दिन लठ्ठी लिएर आउन भन्छन्। डेविड ठूलो सानो लठ्ठीहरू समाउँदै उठाउँदै अन्त्यमा सानो लट्ठी लिएर आउँछन्। योजस्तै डेविडले ओछ्यानमा पिसाब फेरेपछि ओछ्यानमुनि कट्टु लुकाउने अर्को दृश्यले बालमनोविज्ञान पनि चित्रण गरेको छ।
बुवाआमाको भनाभन भइरहँदा कागजको हवाइजहाज बनाएर डेविड र उनकी दिदीले तपाईंहरू झगडा नगर्नुस्!’ भन्ने दृश्यले कसलाई नछोला?
हजुरआमा कोरियाको स्वादसहित आशा बोकेर आउनु र सुरूमा हजुरआमासँग लुक्ने डेविडले दौडिँदै हजुरआमाको हात समातेको दृश्यले पुस्तागत दुरी र निकटता देखाएको छ। तीन पुस्ताको हाँसो-आँसु एकै ठाउँमा पोखिने मिनारीमा कोरिया र अमेरिकामा भएका अलग पुस्तालाई भावनात्मक रूपमा जोड्ने यस्ता धेरै कुरा छन्।
फिल्ममा पात्रहरूले प्रयोग गर्ने भाषामा पनि विशेष ध्यान दिइएको छ। यहाँ पुरानो पुस्ता अंग्रेजी जान्दैनन्, नयाँ पुस्तालाई कोरियन आउँदैन। भाषाको यो प्रयोगले मिनारी कोरियन कि अमेरिकी फिल्म भन्ने बहस पनि सतहमा आयो।
मिनारी अमेरिकन आप्रवासी नागरिकहरूको डायस्परिक अनुभवमाथि बनेको हो। तर यसलाई विदेशी भाषाको फिल्म विधामा राखिएपछि यसको आलोचना भएको थियो।
विश्व सिनेमामा गत वर्ष कोरियन फिल्म 'प्यारासाइट'ले सनसनी मच्चाएको थियो। यो वर्ष मिनारीले अर्को तरंग ल्याएको छ।
कथालाई पात्र र घटनामा सीमित नराखी सांस्कृतिक विम्बमा उनिएको मिनारी 'एसियाली शान' बनेको छ। मिनारीले पनि अस्कर जितेर प्यारासाइटकै इतिहास दोहोर्याउला त?
सिनेमा जगतका धेरैका लागि यो एउटा रमाइलो जिज्ञासा बनेको छ। आगामी अप्रिल २५ मा हुने अस्कर अवार्ड घोषणाले यो प्रश्नको जवाफ दिनेछ।