शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका नेपाली फिल्महरूको सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्। फिल्मको शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाइएको हो।
शुक्रबारदेखि उपेन्द्र सुब्बा निर्देशित 'जारी २' र टंक बुढाथोकी निर्देशित 'मन बिनाको धन' प्रदर्शनमा आउँदै छन्।
हलहरूले दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'जारी २' लाई उच्च शो दिएका छन्। फिल्मको हाइप र दर्शकीय अपेक्षाअनुसार यसले राम्रो शो पाएको हो।
बुधबार दिउँसो हेर्दा देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकाभित्र मात्रै 'जारी २' लाई ३७ शो दिएको छ। क्युएफएक्सले उपत्यकाबाहिरका हलहरूमा पनि यस फिल्मलाई प्राथमिकता दिएको छ। सोही चेनअन्तर्गत काठमाडौंभित्र 'मन बिनाको धन' ले भने जम्मा ३ शो मात्रै पाएको छ।
त्यसैगरी, बिग मुभिजले 'जारी २' लाई ७ शो छुट्याउँदा 'मन बिनाको धन' लाई १ मात्र शो दिएको छ। वान सिनेमाजमा 'जारी २' लाई १२ शो दिइएको छ भने 'मन बिनाको धन' ले ३ शो मात्र पाएको छ।
'जारी २' २०८० सालको बैशाखमा रिलिज सुपरहिट फिल्म 'जारी' को सिक्वेल हो। यसमा दयाहाङ र मिरूनासहित विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ।
अर्कोतर्फ, 'मन बिनाको धन' बालगायक अशोक दर्जीले शीर्ष भूमिका निर्वाह गरेको फिल्म हो। यसमा अशोकसहित सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङलगायतको अभिनय छ।