भारतका दुई चर्चित अभिनेता सन्नी देओल र सलमान खानका लागि सन् २०२६ निकै विशेष रहने देखिएको छ। सन्नी देओलको आगामी फिल्म 'गबरू' मा सलमान खानको विशेष भूमिका (क्यामियो) रहने खबर बाहिरिएसँगै फ्यानहरू थप उत्साहित छन्।
मार्च २०२६ मा रिलिज हुने तयारीमा रहेको फिल्ममा सलमानको कुल तीनवटा दृश्यहरू समावेश हुने जनाइएको छ। उनको प्रवेशले फिल्मको कथामा ठूलो मोड (ट्विस्ट) ल्याउने बताइएको छ। निर्माण पक्षले भने सलमानको यो भूमिकालाई अहिलेसम्म गोप्य राखेको छ।
नवभारत टाइम्सले लेखेअनुसार, सलमानले आफूलाई सुहाउँदो यो भूमिका मन पराएर करिब डेढ वर्षअघि नै चुपचाप यसको सुटिङ गरेका थिए।
सन् २०२३ मा 'गदर २' को ऐतिहासिक सफलता र सन् २०२५ मा फिल्म 'जाट' मा पाएको दर्शकको मायापछि सन्नी देओल आफ्नो बक्स अफिसको दबदबा सन् २०२६ मा पनि कायम राख्ने दाउमा छन्।
दर्शकहरू एकातिर सन्नीको 'बोर्डर २' को प्रतीक्षामा छन् भने अर्कोतिर 'गबरू' मा सलमानसँगको उनको सहकार्यले बक्स अफिसमा तहल्का मच्चाउने अपेक्षा गरिएको छ। सन्नी र सलमान सन् १९९६ को फिल्म 'जीत' पछि पहिलो पटक पर्दामा एकसाथ देखिन लागेका हुन्।
यता सलमान खान पनि सन् २०२६ मा 'ब्याटल अफ गलवान' र 'राजा शिवाजी' मार्फत दर्शकमाझ आउँदैछन्।
हाल उनी 'ब्याटल अफ गलवान' को छायांकनमा व्यस्त छन्। सन् २०२० मा भारत र चीनबीच गलवानमा भएको हिंसात्मक झडपमा आधारित यो फिल्म जुन २०२६ मा रिलिज हुनेछ।