भारतीय फिल्म 'तेरे इश्क में' ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाए पनि धनुष र कृति सेनन अभिनीत यो फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएको छ।
प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो व्यापार गरेको फिल्मले पहिलो सप्ताहन्तमा आफ्नो रफ्तार कायमै राखेको छ।
भारतीय ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले प्रदर्शनको तेस्रो दिन अर्थात् आइतबार फिल्मले भारतमा १८.७५ करोड भारतीय रूपैयाँ कमाइ गरेको छ। यसअघि शनिबार १७ करोड र पहिलो दिन शुक्रबार १६ करोड कमाइ गरेको थियो। यससँगै फिल्मको तीन दिनको कुल कमाइ ५१.७५ करोड भारू पुगेको छ।
'तेरे इश्क में' ले प्रदर्शनको तीन दिनमै काजोलको फिल्म 'माँ' र तृप्ति डिमरी-सिद्धान्त चतुर्वेदीको 'धडक २' को लाइफटाइम कमाइलाई पछि पारेको छ।
'माँ' को कुल कमाइ ३६.०८ करोड थियो भने 'धडक २' ले २२.४५ करोड भारू मात्र कमाएको थियो।
आनन्द एल रायद्वारा निर्देशित 'तेरे इश्क में' प्रेम कथामा आधारित फिल्म हो। फिल्ममा दर्शकले कृति र धनुषको 'केमेस्ट्री' लाई खुबै रूचाएका छन्।
आनन्द एल राय, हिमांशु शर्मा र भूषण कुमारद्वारा निर्मित यो फिल्म कलर यल्लो प्रोडक्सन र टी–सिरिजको ब्यानरमा बनेको हो। 'तेरे इश्क में' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।