बलिउड सुपरस्टार शाहरूख खानको कलेज पढ्दाको एक 'मार्कसिट' यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उक्त मार्कसिट भाइरल भएपछि उनको शैक्षिक लगनशीलताको समेत प्रशंसा भइरहेको भारतीय संचारमाध्यम नवभारत टाइम्सले समाचार लेखेको छ।
बलिउडको 'बादशाह' बन्नुअघि शाहरूख एक सामान्य कलेज विद्यार्थी थिए। उनी पढाइ र ठूला सपनाहरूबीच सन्तुलन मिलाइरहेका हुन्थे। भाइरल भइरहेको तस्बिर दिल्लीको प्रतिष्ठित हंसराज कलेजको भएको देखिन्छ। नवभारत टाइम्सले उल्लेख गरेअनुसार उक्त कलेजबाट शाहरूखले सन् १९८५ देखि १९८८ को बीचमा अर्थशास्त्रमा स्नातक पूरा गरेका थिए।
सार्वजनिक भएको मार्कसिट अनुसार शाहरूखले अर्थशास्त्रमा ९२ अंकसहित उत्कृष्ट नतिजा हासिल देखिन्छ। यस्तै, गणित र फिजिक्समा ७८–७८ नम्बर प्राप्त गरेको देखिन्छ। अंग्रेजी विषयमा ५१ अंक आएको देखिन्छ। बक्स अफिसको बादशाहका रूपमा चिनिने शाहरूखका फ्यानहरूका लागि यो प्राज्ञिक नतिजा निकै रोचक विषय बनेको छ।
तस्बिरः नवभारत टाइम्स।
स्नातक पछि शाहरूखले जामिया मिलिया इस्लामियामा मास्टर्स तहमा भर्ना लिएका थिए। तर त्यसपछि उनी मनोरञ्जन जगततिर लागे। विश्वविद्यालयको विद्यार्थीदेखि टेलिभिजन हुँदै बलिउडको सबभन्दा ठूलो स्टार बन्ने उनको यात्रा आफैमा प्रेरणादायी मानिन्छ।
शाहरूख यतिबेला आगामी फिल्म 'किङ' को तयारीमा छन्। यस फिल्ममा उनी आफ्नी छोरी सुहाना खान र अभिषेक बच्चनका साथ पर्दामा देखिँदैछन्।