टेकुमा कथा घेराले कौसी थिएटर सुरू गरेको तीन वर्ष भयो। यसबीच यहाँ आउने-जाने बानी परिसकेको रहेछ।
नाटक हेर्न जाँदा हुने अतिरिक्त कौसी–गफ नाटक जत्तिकै आनन्दमयी हुन्थे। महामारीपछि यहाँको कौसी त के, भुइँसमेत टेक्न पाइएको थिएन। गएको हप्ता भने दुई पटक यहाँ पुगेँ। शुक्रबारदेखि मञ्चन सुरू भएको 'हरेक बबाल कुरा' को रिहर्सल र सार्वजनिक प्रदर्शन हेर्न।
दुवैपटक कौसीको आँगनले मलाई कुनै आत्मीय प्रियजनलाई अँगालो हालेको शैलीमा स्वागत गर्यो। दुवैपटक मैले न्यायो महसुस गरेँ।
अनि सम्झेँ, महामारीअघि कौसी थिएटरमा मञ्चन भएका 'दयालु रूख', 'मिस्टर फक्स एन्ड द स्कुल ब्वाइ', 'सेम टाइम नेक्स्ट इयर', 'पाँच', 'प्राइभेट इज पोलिटिकल' लगायत नाटकका निर्देशक र चरित्रहरू।
विगत सम्झिँदै मैले नयाँ नाटक हेरेँ। हरेक बबाल कुरा ती नाटकभन्दा अलग रहेछ। ती सबै नाटकमा कलाकार र दर्शकसँग अदृश्य पर्खाल खडा गरिएको हुन्थ्यो। हरेक बबाल कुरामा 'फोर्थ वाल' भनिने त्यो पर्खाल भत्केको छ।
हरेक बबाल कुरामा नाटकका मूल पात्र दर्शकसँगै बोलिरहेका हुन्छन्। उनी दर्शकको नजिक मात्र आउँदैनन्, दर्शकलाई स्टेजमै बोलाउँछन्। दर्शक नै पात्रसरह मञ्चमा आउने र कलाकारले पनि दर्शकसँगै कुराकानी गर्ने भएपछि फोर्थवाल भत्किने नै भयो।
नाटकको सुरूमै मुख्य कलाकार सुदाम सिकेले दर्शकका हातमा साना कार्ड थमाउँछन्। त्यो कार्ड नै दर्शक र कलाकारलाई नाटकमा नजिक तान्ने मियो हो।
दर्शकले पालना गर्नुपर्ने नियम सुनाएपछि सुदाम नाटककाे अनाम पात्रमा रूपान्तरित हुन्छन्। स्मृतिका पाना पल्टाउँदै ती अनाम पात्रको सात वर्षको बेलाको सन्दर्भबाट कथा सुरू हुन्छ।
कथा सुखद छैन। सुरूमै मुख्य पात्रको कुकुर साथी कुकीको निधन र त्यसपछि उनको आमाको आत्महत्या प्रयासको कुरा।
एकछिनमै मृत्यु र बाँच्नुको औचित्यको कुराहरूले दर्शकलाई पात्रको तीतो विगतमा पुर्याउँछ।
मुख्य पात्रकी आमा असन्तुलित मानसिक अवस्थाबाट गुज्रिरहेकी हुन्छिन्। आमाले आत्महत्या प्रयास गरेपछि मुख्य पात्रले बुबालाई आमालाई अस्पतालमा राख्नुको कारण सोध्छन्।
जवाफमा उनका बुबाले भन्छन्, 'तिम्रो आमालाई किन बाँच्ने भन्ने नै थाहा छैन रे!'
बुबाको जवाफ सुनेपछि मुख्य पात्रले बाँच्न प्रेरित गर्ने बबाल कुराहरूको सूची बनाउन थाल्छन्। उनलाई लाग्छ, ती बबाल कुराहरूको सूचीले आफ्नी आमालाई जीवनप्रति आशावादी बनाउने छ र उनले आत्महत्याको प्रयास गर्ने छैनन्।
बबाल कुराहरूको सूचीले सुरूमा मुख्य पात्रको मन बहलाउने बहाना बन्छ। तिनै सूचीले बिस्तारै उनको जीवनदृष्टि पनि बदलिदिन्छ। मुख्य पात्रको उमेरसँगै यो सूची तन्किँदै जान्छ। एक, दस, सय, हजार हुँदै लाखमा पुग्छ। ती सूचीले मुख्य पात्रको जीवनमा राख्ने अर्थ नै नाटकको कथा हो।
सुदामले नाटकको सुरूदेखि अन्तसम्म सूचीमा लेखिएका दर्जनौं बुँदा कठाग्र पारेर सुनाउँछन्। नाटक हेर्न पुग्नुभयो तपाईं अघिल्लो पंक्तिमा राखिएको कुर्सीमा बस्नुहोला। सुदामले बबाल कुराहरूको प्लेकार्ड तपाईंकै हातमा थमाउने बलियो सम्भावना छ।
एक नम्बरमा 'आइसक्रिम', चार नम्बरमा 'पहेँलो रङ', २६ नम्बरमा 'स्वीमिङ पुलमा कसैले थाहा नपाउने गरी सू गर्नु', १२३२१ नम्बरमा 'डाँडाको टुप्पोबाट पूरै सहर देखिनु र केही समयका लागि भए पनि आफ्नो सबै पीडा र तनाव बिर्सिनु।'
यीमध्ये केही बुँदा मुख्य पात्रले दर्शकलाई नै सोध्छन्। अनि दर्शकले पढेर सुनाउँछन्। यस क्रममा दर्शक मूल पात्रको संवेदना र कथासँग भावनात्मक रूपले जोडिन्छन्।
नाटक हेर्दै गर्दा तपाईंलाई पनि सुदामले ती कार्डमा लेखेका पढ्न लगाउन सक्छन्। तर नआत्तिनुस्, यसका लागि तपाईंले विशेष तयारी गरिराख्नु पर्दैन।
सुदामका लागि भने नाटकको गाह्रोमध्येको एउटा कुरा यिनै सूची याद गर्नु थियो। सूचीअनुसार कथाको सिलसिला अघि बढाउन उनले एक महिना लामो तयारी गरेका थिए।
रिहर्सलपछि उनीसँग भएको कुराकानी क्रममा भनेका थिए, 'एकदमै धेरै नम्बर याद गर्नुपर्नेछ। सिलसिला बिग्रने डरले अलि बढी दबाब महसुस भइरहेको छ।'
झन्डै दुई वर्षअघि कौसी थिएटरकी संस्थापक तथा निर्देशक आकांक्षा कार्कीकै निर्देशनमा मञ्चन भएको 'प्राइभेट इज पोलिटिकल' सुदामले अभिनय गरेको पछिल्लो नाटक हो।
'यति लामो समयपछि स्टेजमा आउँदा लाग्ने भय त छँदैछ। यो नाटक फरक खालको भएकाले पनि डर लाग्ने रहेछ,' उनले भने।
सुदामले यसअघि स्टेजबाट टाढा बसेका दर्शकका अस्पष्ट अनुहार मात्र देख्थे। मनोवाद शैली भए पनि यसपटक एक घन्टा दस मिनेटसम्म उनले दर्शकसँग आँखामा आँखा जुधाएर कुराकानी गर्दै नाटक अघि बढाउनु पर्छ।
यस क्रममा दर्शकले नाटक हेर्दैनन्, अन्तक्रियात्मक शैलीमा पात्रको कथा महसुस गर्छन्। तर अन्तक्रिया अप्रत्याशित हुन सक्ने कुराका लागि सुदाम चनाखो भई बस्नु पर्छ।
दर्शकलाई जोड्ने यो अभ्यास रमाइलो भए पनि सुदामका लागि चुनौतीपूर्ण थियो। अझ, स्टेज एक्लै धान्नु कुनै पनि कलाकारका लागि चानचुने कुरा होइन। यसअघि चे शंकरको निर्देशनमा 'क्र्याप्स लास्ट टेप' र 'अ म्याड मेन्स डायरी' मा पनि एक्लै स्टेज धानेका थिए।
'तर यो नाटकको संरचना र पात्र पहिलाका भन्दा बेग्लै छ। यसको पात्रलाई अझै चिन्न सकिरहेको छुइनँ जस्तो लागिरहेछ,' नाटक मञ्चन हुनु दुई-तीन दिनअघिसम्म सुदामको अवस्था यस्तो थियो।
सुदामको डर कुनै भुस्कोल विद्यार्थीलाई परीक्षाअघि लाग्नेजस्तो पक्कै थिएन। त्यो डर पुरानो टपरलाई फेरि पहिलाजस्तै परिणाम ल्याउन सक्छु कि सक्दिनँ भन्ने खालको थियो।
अहिले सुदामको प्रस्तुति हेर्दा त्यो डर कतै झल्किँदैन। उनी चिरपरिचित वजनदार आवाजसहित मस्त भावभंगीमा प्रस्तुत भएका छन्।
हरेक बबाल कुराहरूसँग जोडिएका स्मृति सुन्दै जाँदा मुख्य पात्र बालकबाट परिपक्व भई सक्छन्। सँगै, उनको जीवनदृष्टि पनि नकारात्मकबाट क्रमशः सकारात्मक बनिरहेको हुन्छ। सुदामबाट हरेक बबाल कुराको पात्रमा रूपान्तरण हुँदा त्यो पात्रले फरक उमेर र अलग परिस्थितिमा सँगालेका उतारचढाव अभिव्यक्त गर्नुपर्ने थियो।
पटकपटक आत्महत्या प्रयास गरेकी आमाको सन्तान हुनुको पीडा आँखा र बोलीमा ल्याउनु थियो। निराशाबीच आशावादी बनिरहने संयम कला चाहिएको थियो। प्रेममा परेको चञ्चल युवा पनि बन्नु थियो जुन सायद उनलाई सजिलै भयो। किनकी उनले नाटककी निर्देशक आकांक्षासँग प्रेम विवाह गरेका हुन्।
जे होस्, लामो सुस्केरा तान्ने दृश्यदेखि ठूलो स्वरमा 'छेक्यो छेक्यो देउराली डाँडा' गाउँदा होस् वा 'मटरगस्ती' गीतमा नाच्दा सुदाम सहज देखिएका छन्।
सुदाम आफ्नै नजरमा खास किसिमको गम्भीर भूमिकामा मात्र सुहाउने कलाकार हुन्।
'मलाई आफ्नो कम्फर्ट जोनबाट निस्केर काम गर्न गाह्रो हुन्छ,' उनले भनेका थिए।
रिहर्सलका बेला सुदामले बबाल कुराको क्रम संख्या बिगार्दा, संवादहरू भुलेर आकांक्षा र कौसी थिएटरका साथीहरूले सम्झाइरहेको देख्दा उनी डराउनु स्वाभाविक लागेको थियो। तर रिहर्सलदेखि सार्वजनिक मञ्चनसम्म आइपुग्दा सुदाम र आकांक्षा दुवैका आँखामा डर होइन, महामारीअघिको चमक फर्किएको देख्न सकिन्छ।
निर्देशक आकांक्षासँग सुदामको यो तेस्रो नाटक भए पनि पहिलो एकल प्रस्तुति भएको नाटक हो। साथी र जीवनसाथीसँग काम गर्दाको अनुभव उस्तै हुँदैन। जीवनसाथी हुँदैमा सबै कुरा मिल्ने होइन।
सुदाम आफैं भन्छन्, 'म एकदमै मुडी छु। अरूको मुडमा चल्न गाह्रो हुन्छ।'
आकांक्षा भने समूहमा काम गर्दा रोइरहेकी छन् भने पनि आँसु लुकाएर मुसुक्क हाँसिदिन सक्छिन्।
दुई विपरीत स्वभावका उनीहरूको कला, जीवन र रंगमञ्चलाई हेर्ने दृष्टिकोणको भिन्नताले काममा पनि बेलाबेला द्वन्द्व सिर्जना गर्ने दुबै बताउँछन्।
कामलाई सानो ठूलो भनेर नछुट्याउने आकांक्षा र सुदाम यो नाटकमा निर्देशक र कलाकारको भूमिकामा छन्। रंगमञ्चको नियमअनुसार निर्देशकको कुरालाई कलाकारले मञ्चमा उतार्न सक्नुपर्छ।
'सुदाम संवेदनशील र मुडी भएकाले उसले चित्त दुखाउने हो कि भनेर सचेत हुनुपर्छ,' आकांक्षा गुनासो पोख्छिन्, 'काम नगर्दा हामी साथी हुन्छौं। काम गर्ने बेला एकले अर्काको कुरा मान्नुपर्ने हुन्छ। त्यस्तो बेलामा हाम्रो मत मिल्दैन।'
सुदाम स्वीकार्छन्, 'अरूसँग भएको भए म आफ्नो मुड लुकाउन बाध्य हुन्थेँ। तर आकांक्षासँग म जस्तो हुँ त्यस्तै भइदिन्छु। कहिलेकाहीँ त्यसले तनाव पनि हुन्छ।'
आ–आफ्नै विशेषता बोकेका आकांक्षा र सुदाम दुवै नेपाली रंगमञ्चका प्रतिभाशाली कलाकार हुन्। सँगै काम गर्दा दुवैले एकअर्काबाट सिक्न पाएका छन्। दुवैको भनाइमा यो सहकार्यमा उनीहरूलाई आफूले चाहेको जस्तै काम निकाल्न सहज भइरहेको छ।
कलाको एउटा मुख्य विशेषता मानिसको हृदयमा संवेदना जगाउनु हो। हरेक बबाल कुरामा दर्शकको संवेदनालाई छुने कुरा धेरै छन्। सुदाम र आकांक्षाको सहकार्य यस मानेमा सफल छ।
नाटक सकिँदा लाग्छ, टेड टक शैलीमा भनिएको कुनै मन छुने कथा सकियो। तपाईं कसैको हाँसो र आँसुको साथी बन्नुभयो।
मानसिक स्वास्थ्यबारे खुलेर बहस गर्न आग्रह गर्ने यो नाटक सेप्टेम्बर १० मा पर्ने वर्ल्ड सुसाइड प्रिभेन्सन डेका दिनदेखि मञ्चन गरिएको हो। नाटक आगामी शुक्रबारसम्म चल्नेछ।
सहरी जीवनलाई जीवन्त बनाउन महामारीपछिको समयमा मञ्चन भएको यो नाटक आफैंमा महत्वपूर्ण छ नै। महामारीपछि समग्र समाजले झेलिरहेको बढ्दो मानसिक तनावको माहोलमा पनि सान्दर्भिक छ।