अभिनेता नाजिर हुसेनको निर्देशनमा नाटक 'हरि हजुरबा' मञ्चन हुने भएको छ। थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि यो नाटक मञ्चन हुन लागेको हो।
नाटकको लेखन तथा परिकल्पना पनि नाजिरकै हो। यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन्। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ।
अभिनेताहरू दयाहाङ राई र बुद्धि तामाङ नाटकको निर्माता हुन्। चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथामा नाटक मञ्चन हुन लागेको हो।
द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई नाटकले उजागर गर्नेछ।
नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ।
नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिन मञ्चन हुनेछ।
शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुइटा शो हुनेछन्।