पृष्ठभुमि
विश्वभरि फैलिरहेको कोरोना महामारीको त्रासले गर्दा नेपाल सरकारले कक्षा ९ सम्मका सम्पूर्ण परीक्षाको कार्यक्रम फागुन मसान्तसम्म कुनै पनि हालतमा सक्न निर्देशन जारी गर्यो। कोरोना संक्रमणकै डर र त्रासले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा २०७६ फागुन १७ गते गठन भएको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत्र ६ गतेदेखि सुरु हुने कक्षा १० को परीक्षा सम्पूर्ण तयारी पूरा भैइसकेको अवस्थामा परीक्षाो एक दिन अघि स्थगित गर्ने निर्णय गर्यो।
परीक्षा केन्द्रमा पुगेका विद्यार्थी परीक्षा नदिइ घर फर्के। सोही समितिले अन्य विश्वविद्यालय एवम् प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) का भैरहेका परीक्षा तत्कालका लागि स्थगन गर्यो र सम्पूर्ण तहको पठन पाठन चैत्र मसान्तसम्म स्थगन गर्यो। नेपालमै कोरोना संक्रमण पुष्टि भएपछि नेपाल सरकारले चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गर्यो।
वैशाख पहिलो हप्ता कक्षा १२ को परीक्षा हुने समय तोकिएको थियो र देशमा जारी भएको लकडाउन र बढ्दै गएको संक्रमित संख्याको कारण देखाउँदै कक्षा ११ र १२ को परीक्षा पनि अर्को निर्णय नभएसम्मको लागि स्थगन भयो। प्रायः वैशाख पहिलो सातादेखि सुरु हुने विद्यालय तह शैक्षिक सत्र पनि अर्को निर्णय नभएसम्मको लागि सुरु गरिएन।
कक्षा १० अनि ११ र १२ को स्थगन गरिएको परीक्षा बारे अन्योल कायमै भैरह्यो र अन्तमा कक्षा १० को परीक्षा नलिने र विद्यालयले लिएको आन्तरिक मूल्यांकनकै आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने भनी निर्णय गरियो। सोही अनुसार गर्न गराउनु निर्देशिका पारित गर्दै सम्बन्धित सबैलाई परिपत्र गरियो। अन्यको हकमा शिक्षा मन्त्रीले स्थिति सामान्य भएपछि परीक्षा हुन्छ भन्ने बकम्फुसे जवाफ दिईराखे।
यसै बीच विद्यालय शिक्षाको शैक्षिक सत्र असार १ गतेदेखि अनलाइन माध्यमबाट सुरु गर्ने भनियो र टेलिभिजन रेडियो र इन्टरनेटको माध्यमबाट पठन पाठन सुरु भयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिने निर्णय गरियो र कक्षा १२ को परीक्षा स्थिति सामान्य भएपछि लिने भनियो।
यसै बीच साउन पहिलो साता सरकारले विगत ४ महिनादेखि जारी गरेको लकडाउन अन्त्य गर्ने निर्णय गर्यो। लकडाउन अन्त्य भएसँगै विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, प्राबिधिक शिक्षा तथा व्यसायिक तालिम परिषद, प्रतिष्ठानहरुले परीक्षाको तयारी गर्न थाले।
लकडाउन अत्य भएसँगै एक्कासी बढेको कोरोना संक्रमित संख्या र देशको विभिन्न ठाउँमा आएको बाढी पहिरो र संक्रमित संख्या बढेर निषेधाज्ञा जारी भएको कारणले सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान, राष्ट्रिय परीक्षा बोर्ड, प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले सम्पूर्ण परीक्षा तत्काललाई पर सार्न बाध्य भए।
यसैबीच राष्ट्रीय परीक्षा बोर्ड ले कक्षा १० को नतिजा सार्बजनिक गर्यो र परीक्षाको नतिजामा सम्बन्धित विद्यालयले गरेको मनोमानीले आन्तरिक मूल्यांकनमाथि प्रश्न चिन्ह खडा गर्यो। विश्वविद्यालय अनुदान आयोगले आफू मातहतका निकायलाई विभिन्न विकल्प सहित परीक्षा लिन भनी सुझाव दियो। उक्त सुझाव कार्यनयन गर्न कुनै पनि विश्वविद्यालय, बोर्ड, परिषद र प्रतिष्ठानले अग्रसरता देखाएनन्।
हालको अवस्था
संक्रमितको संख्या दिन दिनै बढदै गएको छ, शैक्षिक गतिविधि प्राय ठप्प छन्। निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरे पनि सरकारी विद्यालयले प्रभावकारी तरिकाले अनलाइन पठन पाठन सुरु गर्न सकेका छैन। अनलाइन कक्षामा सम्पूर्ण विद्यार्थीको सहभागीता पनि नभएको पाइएको छ।
मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले त अनलाइन कक्षामा विद्यार्थीको न्यून उपस्थिति देखेर विद्यार्थीलाई सहभागी गराउन जनप्रतिनिधिसँग गुहार मागेको छ। प्रायः परीक्षा कार्यक्रम सम्पूर्ण तहका ठप्प छन्, परीक्षा लिने कसरी लिने, कुन आधारमा लिने, अझै पनि सम्बन्धित निकायले उचित निर्णय लिन सकेको अवस्था छैन।
यसै बीच काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयले केही संकायको अनलाइन परीक्षा सरु गरेका छन् भने अरु विश्वविद्यालय अझै पनि अन्योलका बीच नै गुज्रिएका छन्। पोखरा विश्वविद्यालय लामो समयदेखि पदाधिकारी बिहीन हुँदा परीक्षा बारे मौन छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान यो बेला अब के गर्ने, कसरी शैक्षिक गतिविधि अगाडि बढाउने सोच्न छोडेर, विद्यार्थीलाई शुल्क तिर्न र समयमै नतिरे दिनको रु २५० को हिसाबले जरिवाना लाग्ने गरी विद्यार्थीलाई ताकेता गर्दै छ।
बाँकी रहेका विश्वविद्यालयले पनि विद्यार्थीलाई माथिल्लो तहमा चढाएर अनलाइन कक्षा लिईरहेका भए पनि परीक्षा बारे मौन छन्। यसरी सम्बन्धित निकाय मौन बसिरहँदा अन्तिम वर्षको विद्यार्थीहरु भने घर न घाटका जस्तै भएका छ्न।
चिकित्सा तर्फको स्नातकोत्तर तह तर्फ सत्र वैशाख/जेठ मै सुरु हुने भए पनि अझैसम्म प्रवेश परीक्षासम्म हुन सकेको छैन। प्रवेश परीक्षाको विधि/तरिका र कहिले कसरी गर्ने भन्ने बारे चिकित्सा शिक्षा आयोग पनि मौन छ। अवस्था हेर्दा यो महामारीको अवस्था तत्काल नै समाधान हुने स्थितिमा छैन।
लकडाउन र शैक्षिक गतिविधि प्रायः ठप्प भएको ५ महिना भैइसक्दा पनि जिम्मेवार व्यक्ति मौन बस्दा उहाँहरुको निर्णय गर्न क्षमता माथि प्रश्न उठेको छ। अझै पनि शिक्षा मन्त्रीको शैक्षिक सत्र खेर जान्न र जानु हुन्न, म तयारी गर्दै छु, सोच्दै छु भन्ने बेलाबेलाको तर्कले उहाँ गलत कुर्सीमा हुन हुन्छ कि भन्ने भान हुन्छ। कोभिड-१९ को महामारी कम होला अनि शैक्षिक गतिविधि सुरु गरमला भनी बस्यौँ भने हामी शैक्षिक सत्र पूरै गुमाउनु पुग्छौँ।
अब के गर्ने त?
अबको समयमा विकल्पको बारे सोच्ने र तत्काल पहल कदम चाल्ने समय हो। अपनाउन सकिने कुनै पनि विकल्प अपनाएर शैक्षिक गतिविधि अगाडि बढाउनु पर्छ।
विकल्पहरु के त?
- विद्यालयले सुरु गरिराखेको अनलाइन कक्षामा विद्यार्थीहरुको कत्तिको पहुँच छ र कतिको सहाभागी भैइरहेका छन्, खोजी-नीति गरी सोही अनुसार कदम चाल्नु पर्छ। अनलाइन कक्षामा न्यून संख्याका सहभागीताको कारण खोजी गरी समाधान बारे सोच्नु पर्छ।
- कोरोना संक्रमित नभएका गाउँपालिका या नगर पालिका भित्र साबधानी अपनाउँदै विद्यालय खोल्नु पर्छ, भौतिक दूरी कायम गर्न बरु दुई सिफ्टमा विद्यालय चलाउने, त्यो सम्भव नभए आधा विद्यार्थीलाई एक दिन, आधा विद्यार्थीलाई अर्को दिन गरी भए पनि पठन पाठन सुचारु गर्ने।
- रेडियो या टेलिभिजनबाट प्रसारण भैइरहेका कक्षाको लागि रेडियो टेलिभिजन नि पहुँचमा नभएकाहरुको लागि सम्बन्धित गाउँपालिका या नगरपालिकाले तथ्यांक संकलन गरी रेडियो या टेलिभिजनको सामूहिक व्यवस्था गर्ने।
- विद्यालय तहका शिक्षकहरु कुनै एउटा गाउँमा गएर त्यो गाउँको कुनै निश्चित कक्षाको विद्यार्थीलाई भेला गराएर भौतिक दूरी अपनाउँदै पठन पाठन गराउने।
- इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीको लागि सम्बन्धित विद्यालयले अनलाइन कक्षाको सब्यदृश्य र अन्य सामाग्री विद्यार्थी अथवा निजको अभिभावकलाई पेनड्राइभमा उपलब्ध गराउने।
- 'राष्ट्रिय परीक्षा बोर्ड तथा प्राबिधिक शिक्षा तथा तालिम परिषदले परीक्षा केन्द्रमै गएर परीक्षा दिनु पर्ने परीक्षाको विकल्प खोज्ने, महामारीको स्थिति अन्त होला र परीक्षा लिने भनी हात बाँधेर बस्यौँ भने ५ महिना बिना उपलब्धि बितायौँ। यसैगरी पूरै वर्ष बित्नेछ।
अनलाइन परीक्षालाई अबको उत्तम विकल्पको रुपमा लिन उचित हुन्छ। अनलाइन परीक्षा पहुँचमा नहुने विद्यार्थीले सफ्टकपि नै इमेल अथवा फ्याक्स गरेर सम्बन्धित निकायमा पठाउने। र त्यो पनि सम्भव नहुनेहरुको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको शिक्षा शाखामा बुझाउने र शिक्षा शाखाले इमेल अथवा फ्याक्स गर्दिने।
- विश्वविद्यालय तहका सेमेस्टर क्रायक्रमहरुको लागि विद्यार्थीको कक्षामा उपस्थिति, आन्तरिक मूल्यांकन, पछिल्लो सेमिस्टरमा उस्को नतिजाको आधारमा मितब्यइ भै मूल्यांकन गर्ने।
- विद्यार्थीहरुलाई सम्बन्धित विषयको कुनै शिषकमा असाइन्मेन्ट अथवा सोधपत्र लेख्न लगाएर त्यसैको आधारमा मूल्यांकन गर्ने
- कोरोना संक्रमित कम भएका र समुदाय स्तरमा संक्रमण नफैलिएको ठाउँमा साबधानी अपनाएर परीक्षा लिने र अन्य ठाउँको क्रमशः लिँदै जाने।
हामीले ५ महिना सोच्दैमा बिताईसकेका छौँ, धेरै ढिलो भैइसकेको छ। अब नि विकल्पको बारेमा गहिरिएर सोचेनौँ भने शैक्षिक सत्र खेर जाने प्रायः निश्चित छ। त्यसैले अब जिम्मेवारीमा बसेकाहरुले हात बाधेर र कानमा तेल हालेर नबसी जुर्मुराउन जरुरी छ, अपनाउन सकिने हर केही विकल्प अपनाउन जरुरी छ।