बुवा धन्यवाद छ, यस धर्तीमा टेकाउनुभयो, माया, समय, त्याग, लगाब सबै दिनुभयो। आफैंलाई बिर्सेर, आफ्ना चाहनाहरूलाई कतिपय अवस्थामा गौण स्थानमा राखेर मेरा चाहनाहरू पूरा गरिदिनुभयो।
उच्च शिक्षा पढ्ने बेलामा बैंक खातामा पैसा सकिन लाग्नेबित्तिकै नभनी थाहा पाउनुभयो र तुरून्तै पैसा जम्मा गरिदिनुभयो। भोक लागेको, बिरामी भएको सबै सबै थाहा पाउने त बुवा र आमा बाहेक संसारमा अरू को होलान्!
मेरो गुरू र मेरो बुद्ध भन्नुहुन्छ, बुवा-आमालाई जिन्दगीमा जति सेवा गरे पनि कम हुन्छ, आफ्नै बलिदान दिए पनि ऋण चुक्ने छैन।
म तपाईंको धेरै सेवा गर्न चाहन्छु र जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्नेछु। तपाईंसँग मेरो जीवनमा घटिरहेका घटनाको बिस्कुन फुकाउन चाहन्छु, तपाईंसँग सल्लाह लिन चाहन्छु।
तपाईं मेरा भोगाइ सुन्न, मेरो विचार सुन्न तयार हुनुहुन्छ? यो लेख पनि यसकारण लेख्दैछु र यो प्रश्न यसकारण गर्दैछु की तपाईंसँग म अझै खुल्न सकेको छैन मनका कुरा भन्न सकेको छैन।
किनकि तपाईंले मलाई सुन्ने चेष्टा गर्नुभएको छैन। तपाईंले हाम्रा सबै इच्छा र आवश्यकता त पूरा गरिदिनुभयो तर मेरा विचार सुन्न र बुझ्न सक्नु भएन।
मेरो बुवाले सुन्नै चाहनुहुन्न, उहाँलाई चित्त नबुझ्ने प्रश्न काँडा झैं बिझ्छ भनेर म पत्याउन सकिरहेको छैन। बाल्यकालमा तपाईं मेरो हिरो हुनुहुन्थ्यो, मलाई लाग्थ्यो बुवाले गर्न नसक्ने यो संसारमा केही छैन।
बाल मनोभावनामा हेलिकप्टर उडाउनेदेखि लिएर माओवादी द्वन्द्वकालमा हामीलाई बचाउन सक्ने बुवा नै हो। लाग्थ्यो उहाँ वरपर भएपछि हामीलाई कसैले केही गर्न सक्दैन, कालले पनि छुन सक्दैन। तर बुझ्दै गएपछि मैले थाहा पाएँ, बुवा त साधारण मान्छे नै हुनुहुँदो रहेछ, उहाँमा पनि अनेक कमीकमजोरीहरू रहेछन्।
जति संसार बुझ्दैछु र जति नयाँ कुरा सिक्दैछु, जति मानिसको संगत गर्दैछु, जति ठाउँ घुम्दैछु, त्यति म उहाँमा कमजोरी देख्दैछु।
हुन त बाल्यावस्थामै पनि मलाई सबै कुरा चित्त बुझेको चाहिँ पक्कै होइन। सधैं लतकै पछि लाग्ने, छोरा-छोरी र श्रीमतीलाई समय नदिने, घरको काममा नसघाउने ब्यवहारप्रति सधैं गुनासो रह्यो।
बुवा मसँग खेलेको, घुम्न हिँडेको यो मानसपटलमा त्यति स्मृतिमा छैन। आफ्नो भनाइ राख्नै नपाउने, राख्यो भन्यो 'बढी बोल्यो' भन्ने उपमा पाइहालिने धेरै क्षणहरू म कसरी बिर्सूं ? मेरा प्रश्नहरूलाई तपाईंले वर्षौं अन्धकारमा धकेलिदिनुभयो। नबोल, प्रश्न नगर भनेर धेरै सुन्दा र प्रश्नहरू गुम्साउँदा गुम्साउँदा त एक दिन यस्तो समय आयो कि म त बोल्नै नसक्ने पो भएछु!
आफूभित्र के भैराखेको छ ब्यक्त गर्न नसक्ने, आफ्नो कुरा खुलेर भन्न नसक्ने, जहिले संकोच रहिरहने, कसैले मलाई केही भन्छ कि, मेरो घरमाझैं यहाँ पनि मलाई चुप लगाइन्छ कि भनेर पिरोलिरहने। जब घरबाट बाहिर निस्कें तब त बोल्नु पर्ने भयो, आफूलाई प्रस्तुत गर्नुपर्ने भयो, त्यतिबेला त म हराएझैं भएँ।
मैले त आफूलाई चिन्नै सकिनँ। मलाई मानिसहरूसँग सम्बन्ध जोड्न, खुलेर प्रभावकारी रूपमा आफ्ना विचार पोख्न धेरै गाह्रो हुन्थ्यो,अहिले पछाडि फर्केर हेर्दा यही चुप लगाइएको बालापनले होला जस्तो लाग्छ।
हुन त त्यतिबेलाको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश जस्तो थियो मेरो भोगाइमा पनि त्यसले असर पुर्यायो र यसमा बुवालाई मात्र म दोषी ठहर्याउन चाहन्नँ। उहाँको आफ्नो बाल्यकाल, उहाँका आफ्ना भोगाइ, उहाँको शिक्षा र चेतना, उहाँको वरपरको समाजले उहाँको आनीबानीमा पक्कै प्रभावित पार्यो र यो गुनासो पनि शायद हरेक पुस्तामा रहन्छ।
मैले जति ठीकसँग हुर्काइएरहेको छु भनेर दावा गरे पनि मेरो छोरालाई सबै कुरा बेश लाग्ने छैन। ऊ अहिले पनि मसँग आफ्नो चित्त नबुझेको कुरा पोख्छ र भविष्यमा पनि पोखेमा म त्यही बेला नै संवाद गर्नेछु, गल्ती भए माफी माग्नेछु र समस्या भए सुल्झाउने प्रयास गर्नेछु।
गण्डकीमा त धेरै पानी बगिसक्यो तर अझै तपाईंले मलाई सुन्न सक्नुभएको छैन, अझै तपाईंले मलाई बुझ्ने प्रयास गर्नु भएको छैन। समयक्रमसँगै तपाईंका धेरै अरू व्यवहार परिवर्तन नभएका होइनन्। तीन बच्चा हुर्किने क्रममा पनि किचनमा जान नसकेको तपाईंको मन अहिले ममीलाई हर दिन तरकारी काटेर सघाउँछ। घरभित्रका सबै काममा हरदम हस्याङ्ग-फ़स्याङ्ग रहने श्रीमतीको मनोभाव बुझ्न नसकेको या पितृसत्ताको मातले बुझेर बुझ पचाएको तपाईंको अहम अहिले घरमा भ्याकुम लगाएर, गमलामा पानी हालेर सुस्ताएको छ। श्रीमती घर नहुँदा घर चलाउने काइदा पनि बुझी सक्नुभएको छ।
मलाई एउटै गुनासो छ तपाईंले अहम कहिले हटाउने? तपाईं श्रीमान हुँदैमा कसरी बडेमानको हुनुभो? बुवा हुँदैमा कसरी घरको विश्वविद्यालयमा सर्वज्ञानी र सर्वसही ठहरिनुभयो? हजुरबुवा हुँदैमा अनुशासन पालक र संस्कार रक्षकको तक्मा कसले पहिराइदियो? तपाईंको अर्ति उपदेशबाट हैन, तपाईंको व्यवहारबाट हामीले सिक्ने हो।
मेरो पुस्ताले प्रश्न गर्न सिक्दैछ र अहिले हुर्किरहेको पुस्ता त झन् धेरै प्रश्न गर्ने पुस्ता हो। तपाईंहरूले नबोल, चुप लाग, ठूलोसँग नबोल, बोले पनि बिस्तारै बोल, अरूलाई चित्त बुझ्ने गरी बोल भनेर सिकाएको त सही होइन रहेछ, जुन अहिले प्रमाणित भैसक्यो।
देशको अहिलेको अवस्था हुनुमा प्रश्न सोध्न नदिने कुसंस्कारले पनि जिम्मेवारी लिनुपर्छ। प्रश्न त निरन्तर गरिरहनु पर्ने रहेछ, नेतालाई, शिक्षकलाई, कर्मचारीलाई, ठेकेदारलाई, प्रशासकलाई।
मैले हुर्काएको मेरो छोराले तपाईंलाई निरन्तर प्रश्न गर्छ किनकि मेरो छोरालाई म उसको जीवनभरी नै असभ्य देशको नागरिक ठहर्याउन चाहन्नँ। र म जसरी चुप भएँ, मपछिको पुस्तालाई पनि चुप लगाउन खोजिँदैछ भने त्यो कदापी मान्य हुने छैन। किनकि ऊ चुप लाग्यो भने ऊ मान्छे हैन झोले बन्छ, उसले आफ्नो विचार बनाउने छैन, नयाँ सोचको निर्माण गर्ने छैन, नयाँ ढङ्गले कार्य सम्पादन गर्ने छैन र अझै महत्वपूर्ण त उसले आफूले चाहेजस्तो जिन्दगी जिउने छैन, ऊ नाच्ने, गाउने, रमाउने छैन, उसले यो जगतको रसस्वादन गर्ने छैन र ऊ केवल जिउँदो लास बन्नेछ।
उसलाई पूरा अभिव्यक्ति स्वतन्त्रता छ, जबसम्म उसको प्रश्न सही र जायज छ। उसले मेरो, तपाईंको लगायत यो जगतको हरेक अवयवमा, आनीबानीमा प्रश्न गर्छ, पाखण्डपनको तुरून्तै खबरदारी गर्छ किनकि ऊ हमेशा होसमा रहन्छ।
विगत र भविष्यका माया, घृणा, विश्वास, रिसको उसलाई लेनादेना छैन, उसले जे देख्यो त्यो समयमा, जे भोग्यो त्यो कालमा त्यो नै सबथोक हो, त्यसै अनुसार प्रतिक्रिया दिन्छ। त्यसैले तपाईं र म त हर समय सचेत अवस्थामा रहने हो। उसलाई सिकाउने त हाम्रो हैसियत नै छैन, बरू उसले हामीलाई धेरै सिकाउने खुबी राख्छ। बिडम्बना तपाईंको अहमले तपाईं छोरा-छोरीसँग त कहिल्यै सिक्नुभएन, अर्को मूल्यवान पाटो पनि जीवनमा गुमाइरहनु भएको छ र त्यो हो नातिसँगको सिकाइ।
मेरो साढे नौ वर्षको छोरासँग म दिनदिनै सिक्छु, हरेक पल सिक्छु, उसलाई मेरो गुरू मान्छु, सल्लाह लिन्छु। यसमा कुनै हानी छैन, बरू फाइदाहरू मात्र छन्। यो लेखबाटै मलाई र म पछिका पुस्तालाई बुझिदिनुस् भन्ने मेरो बुवालाई र धेरै बुवाहरूलाई आग्रह हो।
तपाईंको अगाडि शायद अझै म त्यही बच्चा हुँ जसलाई जीवन भोगाइमा कुनै चोट नपरोस् भन्ने तपाईंलाई लाग्छ र मबाट अझै सिकोस् भन्ने छ, तर म त अहिले आधा जीवन व्यतित गरिसकेको वयस्क हुँ। मेरा भोगाइ, मैले आर्जन गएको शिक्षा, चेतना, मैले देखेको, बुझेको देश-विदेशको संसारले पनि मलाई धेरै कुरा सिकाइसकेको छ।
सही, गलत, पछ्य़ौटेपन, सभ्यता, मूल्य मान्यता, विश्वास, माया, दया, प्रेम, इमानदारिता, जिम्मेवारीको मैले मेरै आफ्नै भाष्य निर्माण गरेको छु। कति तपाईंले सिकाएका अझै मान्दैछु, कति नसिकाएका सिकें र कति सिकेका छोडिसकें।
आफ्ना कुरा नम्रतापूर्वक राख्नुमा कुनै हानी हुँदैन भन्नेमा म कटिबद्ध छु। त्यसैले मलाई चुप लगाउनु असम्भव छ। कहिलेकाहीँ त मलाई लाग्छ तपाईं छोरीलाई मात्र चुप लगाउनुहुन्छ कि छोरा र ज्वाइँलाई पनि यस्तै व्यवहार गर्नुहुन्छ?
म त नचाहँदा, नचाहँदै नारीवादी दृष्टिले हेर्न अभिशप्त पो भएँ। वर्षौंपछि प्रश्न गर्न सिकेको छु, र त प्रश्न गर्न सक्ने अर्को पुस्ता तयार गर्दैछु। उसलाई प्रश्न गर्न प्रोत्साहन गर्नु मै तपाईंको, मेरो र यो जगतको भलो छ।
मेरो प्रश्न गर्न पाउने अधिकार सुनिश्चित गर्न र मेरो छोराले खुलेर प्रश्न गर्न पाउने वातावरण सृजना गर्न म जुनसुकै मूल्य चुकाउन तयार छु। तपाईंले जसरी म छु है भनेर हामीलाई हमेसा महसुस गराउनुभो, त्यसैगरी मेरो छोरालाई त्यही अनुभूति दिने जिम्मेवारी मेरो हो।