गोरखा क्याम्पसमा आइएड पढ्दै गर्दा कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखामा अस्थायी सह-लेखापाल पदबाट २०३८ सालदेखि मेरो निजामती सेवाको यात्रा सुरू भयो।
विज्ञापन गरेर अस्थायी नियुक्ति पाउनेमा मसँगै अर्को एक जना पुरूष पनि हुनुहुन्थ्यो।
दुवैले सँगै नियुक्ति पाए पनि मैले दर्ता चलानी गर्ने जिम्मा पाएँ। अर्का साथी विनियोजन शाखामा बसे। कामको क्षमता उस्तै भए पनि लिङ्गको आधारमा काम तोक्ने हाम्रो सोच नबदलिएका कारण महिलालाई क्षमता नभएको दर्जामा गणना गर्ने प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र भोलि पनि सजिलै अन्त्य हुने देखिँदैन। जतिसुकै समान हुने कानुन बनाए पनि कार्यान्वयन गर्ने ठाउँमा पुरूषवाद हावी भएका कारण महिलाको स्थान चौकीभन्दा माथि उठ्न दिइएको छैन।
पहिलो सन्तानका रूपमा छोरी जन्मिइन्। अस्थायीलाई सुत्केरी बिदा मिल्दैन भनेर अवकाश दिइयो। अस्थायी जागिर न हो यसरी १ वर्षमै टुट्यो। जे होस् सरकारी सेवाको अनुभव १ वर्ष गरियो।
बच्चा जन्मिएपछि दायित्व बढ्यो। बच्चाको स्याहारसुसार आफैंले गर्नुपरेपछि अस्थायी जागिर माया मारियो। तै पनि आर्थिक दायित्व बढेसँगै जागिरको लोभ बढिरहेको थियो।
एक वर्षपछि पुन: सोही स्थानमा काम मिल्यो। लोक सेवाको तयारी पनि चल्दै थियो। शिक्षकमा स्थायीको परीक्षा नजिकै आयो। सबैले स्थायी शिक्षकमा सजिलो भन्ने गर्थे। तर मलाई निजामतीकै रस बसेको थियो। साना बच्चा, पढाइ, घरको काम आदिका कारण लोक सेवा दिन काठमाडौं, पोखरा धाउनु पर्ने हुनाले अनुकूल मिलिरहेको थिएन। आइएड दोस्रो वर्षको पढाइ त्यहीँ सुरू भयो।
पढाइ सकेर जागिरमा पस्ने सोच बनाइयो। यति हुँदाहुँदै सानी छोरी जन्मिइन्। दुई बच्चा च्यापेर २०४३ साल फागुन महिनामा लोक सेवाको तयारीका लागि काठमाडौं आइयो। श्रीमान पनि शाखा अधिकृतको तयारीका लागि भन्दै काठमाडौं आइसक्नु भएको थियो। दुवैको लक्ष्य सरकारी सेवा नै भएकाले आआफ्नो तयारी थियो। फागुनमा जागिरको परीक्षा दिएर गोरखा मामाघर छोडेकी ठूली छोरी समेत लिएर ०४४ वैशाखदेखि काठमाडौंमा स्थायी रूपमै बसेर संघर्ष गर्ने निधो गरें।
एक जनाको मात्रै नासुको जागिरले दुई बच्चा, बुढाबुढी, एउटा सहयोगी नानी समेतको चारो पु-याउनु, डेरा भाडा तिर्नु हामीलाई फलामका चिउरा चपाए सरी थियो। धैर्य मन र उच्च आत्मबल नै संघर्षको हतियार हो भन्दै दैनिकीलाई निरन्तरता दिँदै अघि बढियो।
मैले सहलेखापाल पदका लागि दिएको लिखित परीक्षामा नाम निस्कियो। अन्तर्वार्ताको तयारी सुरू भयो। सफलता पनि प्राप्त भयो। २०४४ भदौमा सहलेखापाल पदमा स्थायी नियुक्ति लिएँ। तत्कालीन महिला संगठन पुल्चोकमा पदस्थापन भयो। पद अनुसारको कार्य विभाजन गरेर नियुक्ति गरे पनि महिला भएकै कार्यालयमा महिलामाथि नै विभेद गर्दै लेखामा कामै गर्न नसक्ने झैं गरी अध्यक्ष सुशीला थापाले फिर्ता पठाउँछु भन्न थालिन्। २/३ दिन निहुँ खोजे पनि मेरो कार्यालय त्यहीँ भयो। महिला प्रशिक्षण केन्द्रको समेत लेखा र स्टोर हेर्ने भनियो। जागिर चल्दै थियो। महिला भएकै कारण पुरूष हाकिमबाट सुविधामा हुने विभेद चुपचाप सहँदै जागिर खाइन्थ्यो।
२०४६ को जनआन्दोलन र २०४७ को राजनीतिक परिवर्तनले आफू काम गरेको संस्था खारेज भयो। फेरि घरको न घाटको भइयो। कार्यालयका सामान कुरेर बस्न बाध्य भइयो। कार्यालय विघटन भयो, जागिर के हुने हो पत्तो छैन। पञ्चायती अवशेष भनेर सबैले ठूला आँखा पल्टाउन थाले। हाम्रो निधारमा न पञ्चायत ठीक भनेर लेखिएको थियो न बहुदल। हामी केवल निरीह कर्मचारी थियौं। विज्ञापन खुल्यो, जाँच दियौं, पास भयौं, जागिर खायौं। त्यसको आयु कति छ कसलाई ख्याल थियो र!
विभिन्न तहका करिब १५० जना कर्मचारी कता शरण लिने ठेगान थिएन। बहुदलका नेता नामै सुन्न नचाहने, कार्यकर्ता त झन् हामीले ३० वर्षे पञ्चायत धानेर देश सिध्याए जत्तिकै गर्न थाले। तीन चार महिना तलब जागिरको बेथान्को हुँदै हिँडियो। सरकारी अड्डाको सामान स्थानीय विकास मन्त्रालयले बुझ्ने र कर्मचारीलाई अवकाश दिने उर्दी २०४८ को निर्वाचित सरकार प्रमुखबाट आयो।
२०४८ को प्रतिनिधि सभा तथा ०४९ को स्थानीय निर्वाचन सम्पन्न गरेपश्चात हामीलाई २०४९ साउनबाट अवकाश गरियो।अब फेरि अर्को विपत्ति आइलाग्यो। दुनियाँ खुसी भएर देशमा दल माथिको निषेध तोडिँदा हामी निराश भयौं। श्रीमानले २०४५ मा शाखा अधिकृत पदमा नाम निकालेर नियुक्ति लिइसकेकाले केही राहत प्राप्त भएको थियो।
त्यति बेला म ताहाचल क्याम्पसमा बिएड पढ्न थालेको थिएँ। रिजल्ट भयो, बिएड उत्तीर्ण गरेँ। २०४९ चैतमा तेस्रो सन्तानका रूपमा छोराको जन्म भयो। फेरि एक जनाको कमाइमा पाँच जनाको जीवन धान्ने अवस्था आयो। यस्तो कठिन अवस्थामा देवताझैं होलिल्याण्ड स्कुलका प्रिन्सिपल गोपी थापा देखिए। उनले मलाई असाध्यै अप्ठ्यारोमा होलील्याण्डमा पढाउन दिएर मेरो पारिवारिक अभिभावकको भूमिका निर्वाह गरेका छन्। आज उनी कहाँ छन् थाहा छैन। म दिनकै उनलाई सम्झन्छु। मेरा छोरीहरू उनकै छत्रछायामा त्यही विद्यालयमा पढे। सधैं स्कुलको अब्बल छात्रामा गनिएर विद्यालय शिक्षा पूरा गरे।
पञ्चायतको पहेंलो धब्बा लगाउँदै पञ्चायतकै सिद्धान्त रटेर आएका ढोंगी कर्मचारीको आडमा गिरिजाले लखेटे पनि हामी मुद्दा जितेर २०५२ मा पुनर्वहाली भयौं। करिब ३ वर्ष होलिल्याण्ड स्कुलमा अध्यापन गराउँदा मेरो शिक्षण कलाबाट प्रभावित प्रिन्सिपल गोपी थापाले स्कुल नछोड्न आग्रह गरेका थिए। छोरीहरू पनि त्यही पढिरहेकाले छोरालाई पनि त्यही भर्ना गरेर आफैं सँगै लाने गरेको थिएँ। तर पनि स्थायी निजामती सेवाको मोहका कारण अदालतको फैसलालाई मान्दै पुन: सरकारी जागिरमा जोडिएँ। अब भने जागिर पक्का त भयो तर स्थानीय विकास मन्त्रालयले अवकाश दिएकाले त्यही पठाइयो। अझै हामीलाई हाजिर गराउने लक्षण देखिएन। ३० वर्षे पञ्चायतका हिमायती हामी नै भन्ने भाव त्यहाँ रहिरह्यो। काम नदिने हाजिर गरेर बस्ने भएकाले त्रिचन्द्र कलेजमा एमए नेपाली भर्ना भएँ।
पढाइ सुरू मात्र भएको थियो। माओवादी आन्दोलनको निशानामा दाइको निधन भयो। माइतीमा परेको विपत समाधानका लागि गोरखा गएर घाइते भाउजू तथा पाँच वटा कलिला भाइहरूलाई काठमाडौं बोकेर ल्याइयो। यस्तो अवस्थामा यिनको पढाइ, लालनपालन आदिको व्यवस्था मिलाउन धेरै हम्मे पर्यो। भाउजूलाई घरमा बस्न सक्ने अवस्था रहेन। हामीले यो व्यवस्था मिलाउन धेरै हारगुहार गर्यौं। तत्कालीन सांसद दिदी कमला पन्तले हामीलाई धेरै गुन लगाउनु भएको छ। भाइहरूलाई पढ्ने वातावरण मिलाउन उहाँको ठूलो भूमिका रह्यो। भाउजू सदरमुकामको स्कुलमा सर्नुभयो। परिवारमा परेको ठूलो चोटले धेरै समयसम्म मानसिक चोट रहिरह्यो। यस्तै घरायसी कार्यले गर्दा परीक्षामा सामेल भइयो तर पास हुन सकिनँ।
महिलालाई सामाजिक दायित्व पनि धेरै नै हुने हुँदा सबैतिर ध्यान पुर्याउनु पर्ने हुँदो रहेछ। २०५४ सालमा एउटा सानो घर बनाएर छोराछोरीलाई छानामुनि राख्न सकियो र डेराको टन्टा टुट्यो।
हामीलाई फेरि लोक सेवाको कसी लगाउन भनियो।
२०५६ मा पुन: लोक सेवा दिएर रक्षा लेखा नियन्त्रक कार्यालयमा पदस्थापन गरियो। पटक पटक अग्नी परीक्षा दिँदा १ नम्बरी नै भइयो। योग्यता बढाइयो पद बढाउन सकिएन। माविनि शाखा अधिकृतमा लगातार परीक्षामा सामेल भइयो। तर पढाइ पुग्दैनथ्यो। थाकेर दिनै छाडियो। यति बेला सम्ममा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध भएर केन्द्रीय नेतृत्वमा पुगिसकेको थिएँ।
संगठनमा आबद्ध हुँदाहुँदै नेकपा एमालेको नजिक रहने अवसर पनि जुट्यो। पार्टीका काममा सरिक हुँदै यसको उज्वल भविष्य देख्न थालियो। जिल्ला कमिटीमा बसेर नेताका नजिक रहेर पनि काम गरियो। संगठनमा बसेका अवसर देशदर्शनका साथै ७७ वटै जिल्लाका कर्मचारी साथीसँग चिनजान भयो। यो मेरो जागिरे जीवनको महत्वपूर्ण सम्पत्ति बन्यो। अहिले सम्झँदा रमाइलो अनुभूत हुन्छ।
करिब ८ वर्ष रक्षा लेखा नियन्त्रक कार्यालय सुन्धारा बसेर २०६६ मा परराष्ट्र मन्त्रालयमा सरूवा भयो। करिब ४ वर्षको बसाइपछि छोटो अवधिको विदेश काजपछि बिना पोष्टिङ रित्तो हात सडक विभागमा उपल्लो पदमा पदस्थापन भयो। जुन उद्देश्य लिएर परराष्ट्र हाजिर भएको थिएँ सो बीचैमा तुहियो। महिला नै शाखा प्रमुख भएको परराष्ट्रमा पनि आफ्नो शाखाका अन्य महिला कर्मचारीलाई हेर्ने दृष्टिकोणमा फरक देखिएन। जुनसुकै कार्यालयमा पुगे पनि महिलालाई काममा स्थापित हुन सारै हम्मे परेको अनुभव सडक विभागमा पनि संगालेको छु। त्यहाँ पनि सुरूमा काम दिन हिच्किचाहट नै देखियो। सडक विभागमा करिब २ वर्ष बसेर भूमि सुधार विभाग सरूवा भयो।
जहाँ गयो काम दिने ठाउँमा महिलालाई हेर्ने आँखा फरक हुन्थ्यो। सकेसम्म महिला नपठाउनू है भनेर तालुक निकायमा गुहार गरिरहन्थे। सबै साथीको समायोजन भएर फाजिल परेपछि बल्ल मलाई लेखाको काम जिम्मा लगाइयो। करिब २ वर्षपछि भूमिसुधार विभागबाट काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरमा सरूवा भयो। जागिरको उत्तरार्धमा लेखाको एक खारिएको दक्ष कर्मचारी दर्ज हुने अवसर पाएँ। २ वर्षे कार्यकाल सहजैसँग बिताएँ।
हामीलाई अवसर दिन हिच्किचाउने, सूचना सकेसम्म जानकारी नगराउने, आएका अवसर आफैं लिने र सकेसम्म अवसरबाट बन्चित गराउने आदत अझै जताततै भेटियो। सेवामा रहँदा कतिपय कार्यालयका कार्यालय प्रमुखको व्यवहार, सोच र साना कर्मचारीलाई हेर्ने नजर पनि अनुभव गरियो। कति महिला साथीहरूलाई कार्यस्थलमै ह्यारेसमेन्ट गराउने प्रवृत्ति पनि थाहा पाइयो। कार्यालयको कामले टेलिफोन गर्दा महिलाका स्वर सुन्नेबित्तिकै अनावश्यक कुरा गर्ने कार्यालय प्रमुख पनि भेटिन्थे। सरूवामा विभेद, पैसाको चलखेल त सामान्य नै लाग्थे।
निजामती प्रशासनमा सिंहदरबार होस् या दूरदराजमा बस्ने महिला कर्मचारीलाई सेवासुविधा र जिम्मेवारी दिने मनस्थिति राजनीतिक र प्रशासनिक नेतृत्वमा अझै नदेखिएको खल्लो अनुभव संगाल्दै २०७८ असार १ मा करिब ३५ वर्षको निजामती सेवाबाट उमेर हदका कारण अवकाश भइयो।
पछिल्लो समय सबै छाडेर अब सन्ततिका खुसीमा रमाउन थालेको छु। ठूली छोरीले कृषि इन्जिनियरिङमा स्नातक गरी अमेरिकाबाट स्नातकोत्तर तथा पिएचडी उपाधि हासिल गरी अहिले अमेरिकाको नर्थ क्यारोलिनास्थित युनिभर्सिटीमा कार्यरत छन्। कान्छी छोरी अहिले नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीमा सहरी विकास मन्त्रालयमा छिन्। छोरा एमबिए गरेर अनलाइन पेमेण्टको काम गर्ने एक संस्थामा संलग्न छन्। तीन नातिनातिनीको धनी भइयो। अब सन्ततिले नै केही गर्छन् भन्दै रमाउन सिकियो।
जे होस् सरकारी सेवा गर्ने तीव्र सपना थियो। त्यो पूरा गरियो त्यसैमा आनन्द लागेको छ। आफ्ना अनुभव लेख्न लाग्दा रमाइलो लाग्दो रहेछ। निजामती सेवामा महिलालाई हेर्ने नजर अहिले पनि नफेरिएको अनुभव बेलाबेलामा सुन्न पाइएकै छ। निजामती सेवाको उच्च पदमा पुग्दा पनि महिला कर्मचारीप्रति भ्रष्ट र कलुषित भावना राखेर मनोबल गिराउने कार्य राजनीतिक नेतृत्व तहमा पुगेका महिलाबाट पनि भए गरेको सुन्दा दुःख लाग्छ।
जुन सेवा समूहमा बसे पनि महिला कर्मचारीलाई काममा अब्बल बन्न अवसर नदिने दुस्प्रयास जारी रहँदा महिला कर्मचारीको मनोबल कसरी बढ्छ अनि कसरी हुन्छ समावेशीकरण? समयमै सबैको ध्यान पुगोस्। निकृष्ट कार्य गर्ने प्रशासक वा राजनीतिक नेतृत्व जो कोहीलाई कारबाही होस्। सेवामा समान दृष्टि होस्। अबका महिला कर्मचारीले हामीले जस्तो अपमान देख्न खप्न नपरोस्। योग्यता क्षमता अनुसार निर्धक्क भएर देशको सेवा गर्न र देशमाथि उठाउन उनीहरूको बल पुगोस्।