‘प्रसिद्ध छन् यहाँ ताल शुक्ला—गङ्गा र सुन्तला।
कविता कल्पनाको छ यहीँ माधुर्यको कला।।
खेत—बारी नदी—नाला यहाँका जति दृश्य छन्।
हेर्दछन् हाँस्तछन् बोल्छन् सबैलाई भुलाउँछन्।।’
यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पोखरा शीर्षकको कवितामा उल्लेख छ। तलातलैया, सेती नदी, यहाँका पाखामा फल्ने सुन्तलालगायतका हरेक दृश्यले पोखरा आउने जो कोहीलाई लोभ्याउने गर्छ। प्रकृतिको वरदान पोखरालाई गण्डकी प्रदेश सरकारले नेपालको पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारसँग माग गरिसकेको छ।
प्राकृतिक सुन्दरतासँगै पर्यटन लक्षित पूर्वाधारमा यहाँ अर्बौंको लगानी गरिए पनि समय समयमा आउने गरेका प्राकृतिक विपत्तिले समस्या पार्ने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन्।
पोखराको पर्यटनले उचाइ लिँदै गरेका अवस्थामा दुई वर्षअघि एकाएक महामारीका रुपमा भित्रिएको कोरोना भाइरसले यहाँको पर्यटन प्रभावित बनेको छ। कोरोना महामारीका बीच आगामी दिनमा यसको प्रभाव अन्त्य भई पर्यटन पूर्ववत् फर्कने आशामा यहाँका पर्यटन व्यवसायी छन्।
कोरोना महामारीका कारण प्रभावित पर्यटनलाई फर्काउने वातावरणका लागि सरकारका घोषित राहत तथा पुनःस्थापनाका कार्यक्रम तत्काल कार्यान्वयनमा आउनुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए।
व्यवसायीलाई सहुलियतपूर्ण ऋणको कार्यान्वयनका साथै समयसीमा थप गरिदिने विषयलाई सरकारले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीले लिएको ऋणको कम्तीमा दुई वर्षसम्म किस्ता र ब्याज तिर्ने गरी व्यवस्था गरिदिनुपर्ने बताए। ‘पर्यटन व्यवसायलाई बचाउनका लागि बैंक तथा वित्तीय संस्थाबाट कम्तीमा पाँच प्रतिशत ब्याजदरमा ऋण लिने व्यवस्था मिलाउन आवश्यक छ’, उनले भने, ‘सरकारले प्रदान गर्ने राहत तथा प्याकेजका कार्यक्रम ठूला, साना तथा मझौला सबै व्यवसायीले पाउने गरी व्यवस्था गर्न जरुरी छ’, उनले भने।
पोखराको लेकासाइडमा मात्र ७०० को हाराहारीमा होटेल रहेको र आसपासका स्थानसहित एक हजारको सङ्ख्यामा होटेल रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। ‘पोखराका होटेलमा मात्रै पौने चार खर्बको लगानी भइसकेको छ’, उनले भने, ‘यहाँको होटल व्यवसायका कारण झण्डै १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।’
पोखराका साना तथा ठूला होटेलमा गरी ३० हजार शय्या सङ्ख्याको क्षमता रहेको उनले जानकारी दिए।
कोरोनाका कारण यहाँका होटेल व्यवसायी मारमा परेको बताउँदै उनले यस अवस्थालाई दृष्टिगत गरी नेपाल सरकारको मौद्रिक नीतिअन्तर्गत घोषित पुनरकर्जाको विषय साना तथा मझौला सबै व्यवसायीले पाउने गरी व्यावहारिक कार्यान्वयनमा आउन नसकेको उनले जानकारी दिए। अघिल्लो वर्ष यहाँका २१ वटा होटेलले मात्र पुनर्कर्जाको सुविधा पाएको उनले बताए।
सुवेदीका अनुसार व्यवसायीको मारलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारले जीवन रक्षाकोषको व्यवस्था गरे पनि गत वर्ष २५ प्रतिशतले मात्र उक्त सुविधा प्राप्त गरेका थिए। ‘सरकारका घोषित राहत प्याकेजका कार्यक्रमअन्तर्गत सेवा सुविधा लिनका लागि पनि राखिएका विभिन्न प्रावधानले समस्या पार्ने गरेको छ’, उनले भने, ‘जीवन रक्षाकोषअन्तर्गत व्यवसायीलाई प्रदान गर्ने भनिएको रु एक लाखदेखि १५ लाखसम्मले पनि यहाँका साना तथा मझौला व्यवसायी विशेषरूपमा लाभान्वित बन्ने छन्।’
सन् १९६० देखि हिप्पी पर्यटकको आगमनबाट सुरु भएको पोखराको पर्यटनमा पछिल्ला वर्षमा पूर्वाधार थपिने क्रम बढरहेको यहाँका व्यवसायी बताउँछन्। पूर्वाधार विकासकै क्रममा पछिल्ला समयमा पुम्दीकोटमा बनेको विशाल महादेव मूर्तिसहितका संरचना आदिले गन्तव्यस्थल समेत बढ्दै गएको छ। हालै सञ्चालनमा आउन लागेको पोखराको सेदी–राङकोट केबुलकारसहित विभिन्न पूर्वाधारमा ठूलै लगानी भइरहेको छ।
हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यको पोखरा बाससँगै यो क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको हो। इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेको र हिप्पी पर्यटककको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो।
पोखराको पर्यटनमा यसअघि भूकम्प, नाकाबन्दी, हुदहुद (एक खालको हिमआँधी), अन्नपूर्ण क्षेत्रका हिमपहिरोजस्ता विभिन्न चुनौतीको सामना गर्नुपरेका अवस्थामा पछिल्लो समयमा कोरोना भाइरसले नराम्रोसँग प्रभाव पारेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले बताए। व्यवसायलाई जोगाउनका लागि सरकारका घोषित कार्यक्रम पनि प्रभावकारी कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय बनेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनका लागि राखिएका प्रावधान व्यवसायमैत्री बन्न नसकेको धारणा राखे।
कोरोना प्रभावित पर्यटनको पुनरुत्थानका लागि सरकारले घोषित राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई तत्काल व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले बताए। गण्डकी प्रदेश प्रकृति र संस्कृतिमा सम्पन्न रहेको बताउँदै उनले पर्यटकीय सम्भावना बोकेका गाउँको कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए। सम्भाव्य ठाउँमा पूर्वाधार विकाससँगै लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सुवेदीले यसका लागि सरकारको व्यवसायीमैत्री नीति हुनुपर्नेमा जोड दिए।
पोखराको प्राकृतिक सुन्दरतालाई पर्यटनसँग जोड्न सकेमात्रै पनि यसबाट समृद्धि हासिल गर्न सकिने पर्यटन व्यवसायी बताउँछन्। माछापुच्छ्रे हिमालको काखमा रहेको पोखराको वर्णन गर्दै कवि मकुन्दशरण उपाध्याय भन्छन्,
‘जस्तो सगरमाथा छ विश्वमै उच्च पर्वत।
त्यस्तै यो पोखराभित्र माछापुच्छ्रे हिमाल छ।।’