अमेरिकी अनुसन्धान संस्था नासाले अष्ट्रेलियामा लागेको डढेलोको धुवाँले पृथ्वीलाई एक चक्कर लगाउने बताएको छ।
अष्ट्रेलियाको पूर्वीतटीय क्षेत्रबाट फैलिएको अनियन्त्रित डढेलोको धुँवा प्रशान्त महासागर हुँदै फैलिएको छ।
नासाले अष्ट्रेलियाको धुवाँ नयाँवर्षका दिनसम्म दक्षिण अमेरिका पुगेर जनवरी ८ सम्म आधा पृथ्वी घुमिसकेको जनाएको छ।
‘अष्ट्रेलियाको धुँवाले कम्तीमा पनि पृथ्वीको एक चक्कर लगाउनेछ,’ नासाले भन्यो।
डढेलोका कारण अहिलेसम्म कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् भने दुई हजार भन्दा बढी घर जलेका छन्।
साथै ५० करोड पशुपंछीले ज्यान गुमाएको प्रारम्भिक विवरण आएका छन्।
डढेलोले ठूलो रूप लिनुको कारण जलवायु परिवर्तन रहेको विज्ञहरूलाई उदृत गर्दै बिबिसीले जनाएको छ।
डढेलो ठूलो भएकाले आगोका कारण आउने आँधीबेरी आएको नासाले बताएको छ।
सो डढेलोबाट फैलिएको धुँवा जमिनको सतहदेखि १७.७ किलोमिटर माथिसम्म पुगेको छ।
‘एक पटक स्ट्रटोस्फियरमा पुगेपछि धुँवाले वातावरणलाई असर गर्दै हजारौं माइलसम्म जान सक्छ,’ नासाले भनेको छ।
नासाले यो धुँवाले पार्ने असरबारे अनुसन्धान गरिरहेको छ।
धुँवाले दक्षिण अमेरिकाको आकाशको रङ परिवर्तन भएको र न्युजिल्यान्ड वायुको गुणस्तरमा समेत असर गरेको छ।
अष्ट्रेलियाका पूर्वी क्षेत्रमा करिब १०० स्थानमा आगो बलेका छन्।
केही दिनयता पानी परेको र अग्निनियन्त्रकका कारण त्यहाँका स्थानीयलाई अलि राहत मिलेको बिबिसीले जनाएको छ।