पटक/पटक किचलो विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अन्तत: आगामी मार्च २१ र २२ तारिखमा हुने भएको छ।
यसअघि पनि चार पटक निर्वाचनको मिति तोक्दै/सार्दै आइरहेता पनि यस पटक विवाद मिलाउने जिम्मेवारी दिइएका प्रमुख संरक्षक शेष घलेले समय सीमाभित्र समाधानको कुनै निकास नदिएपछि एनआरएनए निर्वाचन समितिले सम्पूर्ण निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुपरेको जनाएको छ।
विवादका विषयमा विज्ञ प्राविधिकहरूको टोलीले समेत प्रतिवेदन दिइसकेको अवस्थामा उच्चस्तरीय समितिले निकास दिनुको सट्टा समय लम्बाएर विवाद बढाउने काम गर्न थालेपछि र यस समितिलाई दिइएको समयसीमा समेत गुज्रिसकेको अवस्थामा निर्वाचनको विकल्प नरहेको अध्यक्ष कुमार पन्तले बताए।
विवाद समाधान गर्न भनि गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्य रहेको उच्चस्तरीय समिति बनेको थियो।
तर पटक-पटक समय थप्दा पनि समितिले विवाद समाधान गर्न नसकेको र तोकिएको समयमा समितिको बैठक नै बस्न नसकेपछि एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै पहिलेको महाधिवेशन प्रतिनिधिको नामावली नै निर्वाचन समितिलाई दिएर निर्वाचनको मिति घोषण गरी तालिका समेत प्रकाशित गरेका हुन्।
निर्वाचन समितिले मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकेको छ।
कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ। फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।
मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरूद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ।
यसैगरी मार्च ११ मा उम्मेदवारले मनोनय फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९:५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख रुपैयाँ तोकिएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ।
एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ।
अन्तर्राष्ट्रिय समन्वय परिषदमा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ।
यस पटक पूर्ण अनलाइन सिस्टममा हुने मतदानमा मतदाताले घरमा नै बसेर आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
उक्त निर्वाचनमा मतदान गर्न मतदाताको अनुहार पुष्टि (फेस भेरिफिकेसन) गर्नुपर्ने हुन्छ। जसको लागि निर्वाचन कमिटीले सबै मतदातालाई आफ्नो अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) पठाउन आग्रह गरेको छ।
मतदाताहरूलाई संघको एमआइएस सिस्टममा लग इन गरेर आफ्नो सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ। जस अनुसार मतदाताले मतदानका बेला आफ्नो आफ्नो मोबाइल वा कम्प्युटरबाट सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै मतदान गर्न सक्नेछ।
अध्यक्षका प्रत्यासी कुल आचार्यले उच्चस्तरीय समितिको निर्णय कुर्नुपर्नेमा जोड दिए। उनी प्रमुख संरक्षक घलेनिकट उम्मेदवार मानिन्छन्।
अध्यक्ष कुमार पन्तले एकपक्षीय निर्णयका साथ निर्वाचन समितिलाई उपलब्ध गराइएको प्रतिनिधिको नामावली अनुसार हुने निर्वाचन एकपक्षीय भएको आरोप समेत आचार्यले लगाए। तर अध्यक्षका अर्का प्रत्यासी रविना थापा र बद्री केसी भने निर्वाचनमा जान तयार देखिन्छिन्।