अफ्रिका भन्ने बित्तिकै सोमलिया रूवान्डा, नाइजर, इथियोपिया जस्ता देशहरु र ती देशको बिगतको अवस्था मानसपटलमा झट्ट आउँछ।
सन् नब्बेको दशकमा ती देशमा भएका बितन्डा र त्यसका कारण भएको गृहयुद्व , हत्या र भोकमरीका खबरहरु झल्झली सम्झिन्छु।
पत्रपत्रिकामा त्यो बेला छापिएका दर्दनाक तस्बिरहरु अजै ताजै छन्। यद्यपी अफ्रिकाका केही देशमा त्यो विगत यथावत छ। इथियोपिया,रूवान्डा, युगन्डा र लाइबेरियाले अभूतपूर्ण सफलता गर्दै गइरहेका छन्।
बिभिन्न च्यारिटी संस्थाले आजकाल पनि ती अफ्रिका देशमा भईरहेको पानीको हाहाकार, भोकमरी र दयनीय जनजीवनको भिडिओ र तस्विरहरु प्रदर्शन गर्दै रकम जम्मा गर्ने क्रम जारी छ।
यिनै कुराहरुलाई सम्झदै यो पटकको यात्रा कुनै एक अफ्रिकन देशमा गर्ने निर्णयका साथ हामीले ट्युनिसियालाई छानेका थियौं। बेलायतको जाडो छल्दै ट्युनिसियाको एक हप्ते कार्यक्रम सोही पृष्ठभूमीमा तयार भएको थियो।
बिरलै हिउँ पर्ने बेलायतको दक्षिणी क्षेत्रमा यो पटक निकै हिउँ वर्षियो, आकाशबाट कपासजस्तो सेतो हिउँ झर्दा सुरूमा त निकै रमाइलो र हेर्नलायक नै हुन्छ तर जब हिउँ जमिनमा थुप्रिएर यातायातलगायत अन्य जनजीवनका सामान्य कृयाकलापमा धावा बोलिन्छ तब दिक्क लाक्छ।
यो पटक निकै हिउँ परेको भए पनि हामीलाई त्यो समय हिउँबाट हुने कठिनायी र जाडो छल्ने मौका मिलेको थियो।
हिउँ परेको पहिलो दिन निकै रमाइलो लाग्छ। त्यो दिन हामी पनि बेलायती हिउ खेलेर बितायौं र दोस्रो दिन निकै आनन्ददायी तापक्रम रहेको ट्युनिसियाको लागि प्रस्थान गर्यौ।
यात्राको सुरूवात भने लगन नजुरेको यात्रा जस्तो भयो। सडकमा हिउँ थुप्रिएको समयमै जहाज मैदान यात्रा गर्दा मैले चलाएको कार बाटोमा थुप्रिएको हिँउमा चिप्लिदाँ अर्को कारलाई हल्का धक्का दियो। तर, भाग्यबस दुबैतर्फ कुनै क्षति भएन। अनी सम्झना आयो हामी सानो हुँदा भन्ने गरेको कथन् ‘कास्टिङ झुर छ भने फिलिम राम्रो हुन्छ’, हुन पनि त्यस्तै भयो।
[caption id="attachment_151966" align="alignnone" width="1200"]
हिडने बेलाको हिउँ[/caption]
माइनस सात/आठ डिग्रीको जाडो छल्दै धेरैमा २४/२५ डिग्री सेल्सियस र थोरैमा १४/१५ डिग्री सेल्सियस तापक्रम रहेको ट्यूनिसियामा उत्रन पाउँदा सँगै यात्रा गरेका बेलायती निकै प्रफुल्लित थिए। एउटा भनाइ नै छ- दुई जना बेलायती भेट हुने बित्तिकै सबैभन्दा पहिलो बोल्ने माध्यम नै मौसम सम्बन्धी प्रश्नबाट हुन्छ भनेर। अर्थात, उनिहरु मौसम वा तापक्रमलाई निकै महत्व दिन्छन्। तर हामीलाई त्यो भन्दा पनि नयाँ देश नौलो पारिवेश, नौलो जीवन शैली,भाषा,रहनसहन जस्ता कुराहरुले नै पहिला तान्ने रहेछ।
इन्फिँदा एयरपोर्टदेखि असी किलोमिटरको दूरीमा रहेको हम्मामेट यात्राको क्रममा देखिएका उजाड अर्धमरूभूमी भन्न मिल्ने फाँटहरूमा भेडाका ठूला बथानहरू जतासुकै देखिन्थे। ती भेडाका बथानहरुलाई स्याहार्ने गोठालाहरु देख्दा ‘खबुज’ उपन्यासको झलझली याद आइरह्यो। अनी सम्झिएँ- बिभिन्न बाध्यताले बिदेशिन बाध्य हाम्रा नेपाली दाजुभाइहरुलाई।
[caption id="attachment_151967" align="alignnone" width="1200"]
भेडा बथान[/caption]
स-साना बुट्यानहरू, चारैतिर समथर भूभाग हेर्दा निकै उराठलाग्दो तर पर्यटकहरू हुलका हुल बाँधेर त्यतै ओइरिरहेका छन्। भर्खर भर्खर विकासले गति लिँदै गरेको जतासुकै निर्माणाधिन दूर्तमार्गहरू, फ्लाईओभर, राउण्डअबाउट देख्न सकिन्छ। काम भने सबै तिर लथालिङ। त्यो देख्दा हाम्रो रिङरोड र दूर्तमार्गको सम्झना आयो।
हम्मामेटा एउटा पर्यटकीय शहर। सुन्दर सामुन्द्रिक तटहरु र तिनीहरुका छेउमा ऐतिहासिक बस्तीहरु निकै सुन्दर तरिकाले ब्यबस्थित गरिएको रहेछ। पर्यटकलाई निकै स्वागत र सम्मान गर्ने उनीहरुको परम्परा हाम्रो ‘अथिती देवो भव:’ सम्झाउने किसिमको रहेछ।
उनीहरूको यही पर्यटकलाई सम्मान गर्ने पारीपाटीले गर्दा नै धेरै बेलायतीहरु सोही ठाउँमा पटक पटक बिदा मनाउन गएका रहेछन्।
[caption id="attachment_151968" align="alignnone" width="1200"]
नयाँ हाम्मामेटको एक होटेल[/caption]
हाम्मामेट शहर नयाँ र पुरानो गरी दुई बस्तीमा बाडिएको छ, नयाँ हाम्मामेटलाई यास्मिन र पुरानोलाई मदिना भन्ने गर्छन्। यास्मिन हाम्मामेटमा आधुनिक होटेलहरु सपिङ सेन्टर, नयाँ पार्कहरु, सामुन्द्रिक किनारालाई निकै ब्यवस्थित पारिएको, सडकहरु निकै सफा र सुन्दर छन् भने पुरानो हाम्मामेटमा ऐतिहासिक रोमन किल्ला छ।
सो किल्लाको चौघेरा भित्र निकै पुरानो बस्ती साँघुरा गल्लीहरु, ती गल्लीहरुमा पर्यटकहरुलाई लक्षित गरेर राखिएका पसलहरु छन्। विशेषगरी छालाका जुत्ता, चप्पल र वस्त्रहरु निकै सस्तोमा र ट्युनिसियन परम्परागत तरिकाले बनाइएका समानहरु बेच्न राखिएका ती पसलहरु निकै आकर्षक तरिकाले सजाइएका छन्।
नयाँ हाम्मामेट अर्थात यास्मिनमा भने बिदेशी सामान र निकै आधुनिक कुराहरुको बोलबाला देखिन्छ।
क्षेत्रफलको आधारमा नेपालभन्दा सानो देश, आधाजस्तो भूभाग मरूभूमी र बाँकी आधा उत्तरी भूभाग निकै राम्रो कृषियोग्य जमिन रहेको ट्यूनिसियाको पर्यटन ब्यवसाय एउटा मुख्य आम्दानीको श्रोत हो।
देशको कुल आयको आठ प्रतिशत आम्दानी पर्यटन उद्योगबाट प्राप्त हुने ट्यूनिसियामा वर्षमा ८० लाख सम्म बिदेशी पर्यटक पुग्ने गरेका छन्।
चार लाख जनताले पर्यटकीय क्षेत्रमै प्रतक्ष्य रोजगार पाएका छन्। हामी पनि पर्यटक नै बनेर घुम्न गएको हुनाले मुख्यतया पर्यटकीय क्षेत्रमै केन्द्रीत रह्यौ। सन् २०१५ मा घटेका दुई आतंककारी घटनाले ट्यूनिसियाको पर्यटकीय ब्यवसाय नराम्रोसँग प्रभावित बनेको रहेछ। तर, बिस्तारै पुरानै लयमा फर्किने क्रम देखियो।
जती पर्यटकहरु कमी हुँदै जान्छन् यो ब्यवसायमा त्यतीनै बिकृतीहरु भित्रिन्छन् भन्ने नमूना ट्यूनिसियामा देख्न र भोग्न पाईन्छ। सन् २०१५ सम्ममा पर्यटकीय बजारहरूमा समान बिक्री गर्न पर्यटकलाई कुनै दवाव वा प्रभाव पार्ने चलन थिएन रे। तर, अहिले त्यो उल्टो दिशामा हिँडिरहेको भेट्न सकिन्छ।
जब पर्यटक आगमन कमी हुन थाल्यो ब्यापारुले जबरजस्ती आफ्ना समान भिडाउन प्रयास गर्ने, निकै मंहगो मूल्य तोक्ने, पर्यटकको पछि पछि लागेर किन्नको लागि बाध्य पार्ने जस्ता बिकृतीहरू भित्रिएको रहेछ।
जब पर्यटकलाई ‘फोर्स सेलिङ’ गरिन्छ भने अर्को पटक उक्त पर्यटक त्यो ठाँउमा दोहोर्यायर जाने सम्भावना निकै कम हुन्छ र समग्र पर्यटकीय ब्यवसायमा नै असर पार्छ। हामी नेपालको पर्यटकीय क्षेत्रमा काम गर्ने सबैले यो कुरा मनन गर्नु निकै आबश्यक छ।
[caption id="attachment_151971" align="alignnone" width="1200"]
सामुन्द्रिक तट[/caption]
रोमन ईतिहासको जिउँदो शहर कार्थेज, परम्परागत किल्लाहरू, अतिथि सम्मानको संस्कार, परम्परागत खाना र कपडाका पसलहरु, क्वाड बाइक राइड , घोडचडी, उट सवारी, मरूभूमीको यात्रा र रात्री बसाइ जस्ता सामान्य पर्यटकीय सुबिधाहरु उपलब्ध हुँदा पनि वर्ष भरिमा साठी/सत्तरी लाख पर्यटक बिदा मनाउन त्यहाँ पुग्ने मुख्य कारण युरोपबाट केही घण्टाको उडान मार्फत पुग्न सकिने र तुलनात्मक रुपमा सस्तो गन्तब्य नै हो।
हाम्रो देशको दुई पट्टी विश्व जनसंख्याको तीस प्रतिशत भन्दा धेरै जनसंख्या छ तर, हामीले ती देशहरुबाट पर्यटक सोचे जस्तो संख्यामा भित्र्याउन सकिरहेका छैनौं अब कारण खोजुपर्ने बेला भएको छ।
[caption id="attachment_151972" align="alignnone" width="1200"]
क्वाड बाइक राइड[/caption]
राजधानी ट्यूनिसको पूर्वपट्टी रहेको कार्थेज शहर जिउस र क्रिस्चियन धर्म मान्नेको लागि निकै ऐतिहासिक शहर रहेछ।
ट्युनिसियामा पुग्ने प्रायः सबै पर्यटकहरुलाई आकर्षण गर्न सफल यो शहरको एक छेउमा रहेको ऐतिहासिक गाँउ सिडी बाउ सैदाको सुन्दरता देखेर मन नलोभ्भिने मान्छे को होला र? सबै घरहरु सेतो रङ्गमा सजिएका, झ्याल र ढोकाहरु सबै निलो रङ्गका, एकनासे घरहरु। ढुङ्गा ओछ्याएको सफा सडक र सडकका दुबै छेउमा लटरम्म फूलेका सुन्तलाका बोटहरू। निकै सुन्दर छ त्यो सिडी बाउ सैदा बस्ती।
हामीहरु नेपालबाट घुम्न आएको भन्दा धेरैले अचम्म मान्दै सोधे ओहो कता छ नेपाल? कसैले त दक्षिणी अमेरिकामा पर्छ होइन नेपाल भनेर सोध्न समेत पछि परेनन्। निराश लाग्दो कुरा अधिकांशलाई नेपाल भन्ने देशको बारेमा थाहा नै थिएन। बुद्ध र सगरमाथाको देश भनेर चिनाउन प्रयास गरियो तर त्यो पनि उनीहरूलाई थाहा छैन। अनी बाध्य भएर चीन र भारतको बिचमा रहेको देश भनेर चिनाउन पर्ने बाध्यता रह्यो।
बंगलादेश र पाकिस्तान भने उनीहरुलाई राम्रै थाहा रहेछ। धर्मले पनि जोडेको होला ती देशहरुलाई।
[caption id="attachment_151974" align="alignnone" width="1200"]
सिडी बाउ सैदाको सडक पेटीमा रहेका सुन्तला[/caption]
देशको आधाजसो भू-भग मरूभूमीले ओगटेको ट्युनिसियामा उनीहरुसँग जे छ त्यसैलाई अधिकतम प्रयोग गर्दै पर्यटकहरु भित्र्याउँदै छन्।
मरूभूमीको यात्रा र बालुवामा रात बिताउने प्याकेजहरू पर्यटकलाई बेचिरहेका छन्। मुस्लिम देश भएर पनि निकै आधुनिकता अंगालेका ट्युनिसियनहरु कुनै युरोपियनभन्दा कम स्वोच्छन्दवादी रहेनछन्।
हिन्दी गीत र नाँचको प्रभाव उत्तिकै भेटन सकिन्छ। अचम्म त के भयो भने एक सानो टाउनमा हामी पैदल हिँडिरहेको बेलामा अंग्रेजी बोल्न नजान्ने तर हिन्दी बोल्ने स्थानीय युवती भेट भईन्। उनलाई हिन्दी फिलिमको प्रभाव रहेछ।
सलमान खान र साहरुख खानकि फ्यान ती युवती हिन्दी गीत मज्जाले गाउने त्यो देख्दा भारतीयहरुको प्रभाव कती रहेछ बुझ्न सकिन्छ। अर्थात चलचित्र र कलाबाट पनि देश चिनाउन सकिन्छ भन्ने कुरा हाम्रो पर्यटकीय क्षेत्रमा सम्लग्न सबैले बुझ्न जरूरी छ।
[caption id="attachment_151975" align="alignnone" width="1200"]
रोमन ईतिहासको स्टेडियम[/caption]
हाम्रो आठ दिनको बसाइ समुद्रिक तटमा रहेको लेस ओरेन्जे रिसोर्टमा थियो। रिसोर्टका कृयाकलापमा नेपाली गीतहरु र नेपाली नाच पस्किने अवसर मिलेको थियो। रिसोर्टका अनुसार त्यो रोसोर्टमा पुग्ने पहिलो नेपाली पर्यटक हामी नै रहेछौं। ट्युनिसिया, अल्जेरिया र धेरै युरोपियनलाई नेपाल शान्तिका दूत बुद्ध र संसारको शिखर सगरमाथाको देश भनेर चिनाउने सानो प्रयास जारी नै रह्यो। तर, अधिकांश मनिसहरुलाई नेपाल देशको बारेमा कत्ती पनि थाहा नभएको देख्दा मन भित्र भित्रै निकै खिन्न भएको थियो।
[caption id="attachment_151976" align="alignnone" width="1200"]
रोमन समयको दरवारको भग्नाअवसेश[/caption]
अब नेपाल सरकारले देशमा पर्यटक भित्र्याउने हो भने संसार भर ब्यापक अभियान नै चलाउन आवश्यक छ।