भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्ससँग नेपालको सम्बन्ध धेरै पुरानो हो।
नेपालमा सन् १९५० दशकको आखिरीदेखि नै टाटाका बस, ट्रक गुड्न थालेका थिए। पूर्वदेखि पश्चिमसम्म महेन्द्र राजमार्ग निर्माण सुरू भएसँगै भारतीय कम्पनी टाटाका गाडीले यहाँ प्रवेश पाए।
महेन्द्र राजमार्गको लम्बाइ जति तन्किँदै गयो, टाटाका ट्रक–बसको संख्या उति बढ्दै गयो।
त्यो समय गाडी भनेकै टाटा भन्ने बुझिन्थ्यो। तर बिक्रीको आधिकारिक माध्यम थिएन। यातायात व्यवसायीहरू भारतबाट स्वतन्त्र ढंगमा गाडी झिकाउँथे।
सन् १९८२ मा सिप्रदी ट्रेडिङ कम्पनीले टाटा मोटर्ससँग सम्झौता गरेर नेपालका लागि आधिकारिक बिक्री अधिकार लियो। त्यसयता टाटाले उत्पादन गर्ने साना–ठूला सबै किसिमका सवारी सिप्रदीले नै नेपाली बजारमा आयात र बिक्री गर्दै आएको छ।
आजभन्दा ८० वर्षअघि सन् १९४५ मा स्थापना भएको टाटाले ठूला सवारी साधनमा जति मजबुत पकड जमाएको छ, साना सवारीमा पनि उत्तिकै प्रतिस्पर्धी छ। यसले पछिल्लो समय पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने विभिन्न मोडलका कार बजारमा ल्याइरहेको छ।
तीमध्ये केही मोडल काठमाडौंको भृकुटीमण्डपमा जारी 'नाडा अटो शो' मा प्रदर्शन भइरहेका छन्। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले आयोजना गरेको यो प्रदर्शनी भदौ ८ सम्म चल्नेछ।
यो स्टोरीमा हामी सिप्रदी ट्रेडिङले प्रदर्शनीमा राखेको एउटा यस्तो मोडलको कुरा गर्दैछौं, जसले आफ्नो 'स्टाइलिस' आवरण, राम्रो क्षमता र धेरै यात्रु अट्ने कारणले उपभोक्ताको मन जितेको छ।
त्यो हो — टाटा न्यू सफारी।

डिजेलबाट चल्ने यो गाडीमा स्टाइल र प्रविधिको गज्जब संयोजन देख्न पाइन्छ।
यो सातवटा सिट भएको गाडी हो। तीन लहरमा बाँडिएका सात सिटमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ पर्याप्त छ। अगाडिको लहरमा खुट्टा राख्ने ठाउँ ३.४४ फिट छ भने बीचको लहरमा ३.३४ र पछाडि २.६७ फिट छ।
सिट संख्याका आधारमा यसलाई 'पारिवारिक' कार भन्न सकिन्छ। एउटा सामान्य परिवार वा साथीसंगीको सानो समूह सँगसँगै लामो यात्रामा जान यो कार उपयुक्त हुन्छ।
गाडीको डिक्की, जसलाई 'बुट स्पेस' भनिन्छ, त्यसको क्षमताले पनि पारिवारिक यात्रा सहज बनाउँछ। यसको डिक्कीमा २०० देखि २५० किलो सामान अट्छन्। पछाडिका दुवै सिट फोल्ड गर्ने हो भने त झन्डै ६०० किलो अट्छ। यो भनेको ६ देखि ८ वटा मध्यम खालका सुटकेस अट्ने क्षमता हो।
सिप्रदीले न्यू सफारीका तीनवटा संस्करण बजारमा ल्याएको छ। तीमध्ये 'म्यानुअल' को १ करोड २१ लाख, अटोमेटिकको १ करोड २९ लाख र स्पेसल डार्क एडिसनको १ करोड ३१ लाख पर्ने सिप्रदीका प्रोडक्ट इन्चार्ज अर्जुनप्रसाद उप्रेतीले जानकारी दिए।
उनका अनुसार नाडा एक्स्पोमै बुकिङ गर्नेहरूले ५ लाख रूपैयाँसम्म नगद छुट पाउँछन्। त्यसबाहेक एक वर्षको सडक कर, तीन वर्षसम्म नि:शुल्क सर्भिसिङ लगायतका सहुलियत पनि पाइन्छ।
अब हामी यी तीनै संस्करणका गाडीको इन्जिन क्षमताको कुरा गरौं।
यसको इन्जिन क्षमता २ लिटरको छ। यो भनेको १९५६ सिसी हो। यसले लगभग १६८ हर्सपावरको शक्ति दिन्छ। सामान्य बोलीचालीको भाषामा भन्दा यो कारले १६८ वटा घोडा बराबरको शक्ति दिन्छ भन्ने बुझिन्छ।
यसले अधिकतम १७० देखि १८० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने क्षमता राख्छ। सँगसँगै, कम समयमै धेरै रफ्तार लिन सक्छ। करिब १० देखि ११ सेकेन्डकै बीचमा १०० किलोमिटर प्रतिघन्टाको रफ्तार समातेको पाइएको छ।
इन्धन क्षमताको कुरा गर्दा यसले एक लिटरमा १४ देखि १६ किलोमिटर यात्रा गर्न सक्छ। भन्नुको मतलब, ५० लिटर क्षमताको डिजेल ट्यांक पूरा भर्दा ७०० देखि ८०० किलोमिटर कुदाउन सकिन्छ। इन्धन खपतका हिसाबले यो गाडी लामो दुरीका लागि किफायती छ।
अब कुरा गरौं, बाहिरी बनावटको।
टाटा न्यू सफारीको उचाइ ५.८९ फिट छ भने चौडाइ ६.३१ र लम्बाइ १५.३१ फिट छ। त्यसैले बाहिरबाट हेर्दा जति ठूलो देखिन्छ, भित्र पनि उत्तिकै फराकिलो र आरामदायी छ।
गाडीको अगाडि र पछाडिका पांग्राबीचको दुरी ८.९९ फिट छ। यसलाई प्राविधिक भाषामा 'ह्विलबेस' भनिन्छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले हाँक्न सकिन्छ।
हाँक्न सजिलो होस् र यात्रा सुरक्षित रहोस् भनेर तीन छुट्टाछुट्टै तरिकाले चलाउने सुविधा पनि दिइएको छ।
प्रोडक्ट इन्चार्ज उप्रेतीका अनुसार सहरी बाटो, कच्ची बाटो र चिप्लो बाटोमा चलाउन अलग अलग प्रणाली तोकिएका छन्। यसले जुनसुकै ठाउँको यात्रा सहज र सुरक्षित बनाउने उनी बताउँछन्।

यो गाडीमा दुर्घटना जोखिम कम गर्न केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्।
जस्तै — यसमा 'एन्टि–लक ब्रेकिङ सिस्टम' छ। यो सुविधाका कारण अचानक ब्रेक लगाउँदा पनि गाडी नियन्त्रणमै रहन्छ। 'इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन' ले अगाडि र पछाडिको ब्रेकलाई सन्तुलित राख्छ।
यसबाहेक चिप्लो र हिलाम्मे बाटोमा सन्तुलन कायम राख्ने, उकालो बाटोमा रोक्नुपर्दा गाडी पछाडि नसर्ने, ओरालो बाटोमा गति नियन्त्रण गर्ने लगायतका सुविधा पनि छन्।
'अटोमेटिक स्पिड कन्ट्रोल' सुविधा यसको अर्को विशेषता हो। अगाडि अरू कुनै सवारी छ भने यसले क्यामराको मद्दतले आफ्नो गति आफै समायोजन गर्छ। अर्थात्, अगाडिको गाडीको गति कम हुँदा यसको गति पनि स्वत: कम हुन्छ। ताकि, गाडी ठोक्किनबाट बचोस्।
टाटा सफारीमा 'अटोमेटिक इमर्जेन्सी ब्रेकिङ' सुविधा पनि छ। गाडीको अगाडि वा दायाँबायाँ कुनै अर्को गाडी, पैदलयात्रु वा कुनै चिज आयो भने सेन्सरले पत्ता लगाउँछ र ठोक्किनबाट बचाउन स्वत: ब्रेक लगाउँछ। यस्तो सुविधाले दुर्घटना जोखिम निकै कम गर्छ।
यो गाडीमा 'ड्राइभर ड्राउजिनेस डिटेक्सन' प्रविधि पनि प्रयोग गरिएको छ। गाडी चलाउँदा चलाउँदै चालकको ध्यान बाटोबाट हटेको अवस्थामा यो सिस्टमले सतर्क गराउँछ। यस निम्ति गाडीमा जडान गरिएका क्यामराले चालकको अनुहार निरन्तर अनुगमन गरिरहेको हुन्छ। चालक निदायो वा अन्यत्र ध्यान दियो भने यो सिस्टमले आवाज वा भाइब्रेसन निकाल्छ।
सुरक्षित यात्राका लागि यसमा चारवटा क्यामरा जडान गरिएका छन्, जसले गाडी वरिपरिको दृश्य ३६० डिग्रीमा हेर्न मिल्छ। एउटा क्यामरा गाडीको अगाडि भागमा ग्रिलको ठ्याक्कै माथि छ भने दोस्रो क्यामरा गाडीको पछाडि भागमा छ। दायाँ र बायाँ लुकिङ ग्लासमुनि एक–एकवटा क्यामरा छन्।
दुर्घटना पर्दा यात्रुहरूको सुरक्षा निम्ति गाडीमा सातवटा एयरब्याग राखिएका छन्। गाडी कतै ठोक्किँदा वा दुर्घटना पर्दा यी एयरब्याग आफै खुल्छन्। यसले यात्रुको शरीर गाडीको भित्तामा ठोक्किनबाट बचाउँछ। दुर्घटना पर्दा यात्रुहरूलाई धेरै चोटपटक लाग्ने भित्तामा ठोक्किएर हो। एयरब्याग राम्रो र बलियो छ भने यस्तो जोखिम कम हुन्छ।
'सहरी क्षेत्रदेखि पहाडको कच्ची बाटो र राजमार्गको यात्राका लागि यो गाडी एकदमै उपयुक्त छ,' उप्रेतीले भने, 'तपाईं सपरिवार लामो यात्रामा जान उपयुक्त गाडीको खोजीमा हुनुहुन्छ भने यो राम्रो विकल्प हुन सक्छ।'
***
यी पनि पढ्नुहोस्: