दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमार्फत ऋणपत्रको कारोबार हुन थालेको छ। सेयर र म्युचुअल फण्डको कारोबार हुँदै आएकोमा बुधबार सानिमा बैंकको ५० हजार कित्ता ऋणपत्र खरिदबिक्री भएको छ।
अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहने ऋणपत्र बजारमा भने ९६३ रुपैयाँमा किनबेच भएको हो। बुधबार कुल ४ करोड १८ लाख ५० हजार रुपैयाँको ऋणपत्र कारोबार भएको छ।
अक्सन मार्केटमा किन्ने र बेच्नेले निर्धारण गरेको मूल्यमा सानिमाको ऋणपत्र कारोबार भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
उनका अनुसार बजारबाट कारोबार भएको यो दोस्रो पटक हो। यसअघि पनि सानिमाको सोही ऋणपत्रको कारोबार भएको थियो। किन्ने र बेच्नेबीच उपयुक्त मूल्य निर्धारण भई प्रक्रिया पुर्याएमा नेप्सेमार्फत ऋणपत्रको कारोबार हुनेछ।
‘नयाँ अनलाइन प्रणाली लागू भएसँगै ऋणपत्रको पनि कारोबार गर्न हुनेगरी प्रणाली विकास भएको छ’ पराजुलीले भने ‘निश्चित मूल्य तय भई किन्ने र बेच्नेले प्रक्रिया पुर्याएमा अब नेप्सेको सिस्टमबाट कारोबार हुन्छ।’
राष्ट्र बैंकले यस आर्थिक वर्षको अन्त्यसम्म सबै बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्न निर्देशन दिएको छ। करिब एक दर्जन वाणिज्य बैंकहरुले अहिलेसम्म ऋणपत्र जारी गरेका छैनन्।
ऋणपत्रको बजारमा कारोबार नहुँदा बिक्री प्रवन्धकलाई बेच्नै मुस्किल पर्ने गरेको छ। पछिल्लो समय १० देखि साढे १० प्रतिशतसम्म व्याज पाइने गरेको यस्तो ऋणपत्रमा सर्वसाधारणको आकर्षण भने बढ्न सकेको छैन।
के हो ऋणपत्र ?
कम्पनीले लगानीका लागि लिने ऋणको साना इकाईलाई वर्गीकरण गरेर दिने प्रत्याभुतिपत्र नै ऋणपत्र हो।
सामान्यतः यस्तो ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुने गर्दछ। कम्पनीले कुनै सम्पत्ति धितो वा बन्धक नराखी ऋण जुटाउन सक्छ। ऋणपत्र किन्नेलाई कम्पनीले निश्चित अवधिसम्म तोकिएको व्याजदर प्रदान गर्दछ।
यस्तो ऋणपत्र दोस्रो बजार (नेप्से)मा सूचीकृत भइ कारोबार पनि हुने गर्दछ। यदी बीचमै केही अवधिका लागि पैसा आवश्यक परेको खण्डमा यो ऋणपत्र बैंकमा धितो राखी रकम समेत लिन पाइनेछ। तर ऋणपत्र जारी गरेको बैंकले नै आफ्नै ऋणपत्र धितो राख्न पाउँदैनन्।
तोकिएको अवधि पुरा भइसकेपछि लगानीकर्ताले साँवा रकम फिर्ता पाउने छन्। साधारणसभामा भाग लिने, व्यवस्थापनमा असन्तुष्ट जनाउने लगायतका सेयरधनीलाई प्राप्त अधिकांश अधिकार ऋणपत्रका लगानीकर्तालाई हुँदैन। सेयरमाभन्दा ऋणपत्रको जोखिम कम हुन्छ।