आफ्ना बचतकर्तालाई तीन हजार रूपैयाँ पनि फिर्ता गर्न नसक्ने स्थिति आएपछि काठमाडौंको एक सहकारी सञ्चालकहरू 'फरार' भएका छन्।
नयाँबानेश्वर मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीले पुस २१ गतेबाट बचतकर्तालाई एकपटकमा तीन हजार रूपैयाँसम्म मात्र दिन सकिने भनेको थियो। यसो गर्दा पनि दैनिक १५ जनाभन्दा बढी बचतकर्ता आउन थालेपछि व्यवस्थापन गर्न समस्या भएको संस्थाले बताउँदै आएको थियो।
यसैबीच आइतबार संस्थाको मुख्य कार्यालय बन्द गरिएको छ। बचत फिर्ता माग्न गएका पीडितहरू सञ्चालक फरार भएको भन्दै सहकारी विभागमा उजुरी गर्न पुगेका छन्।
‘अहिले सञ्चालक मनबहादुर राईले फोन उठाइरहेका छैनन्। फेकबुक पेजसमेत निष्क्रिय राखेका छन्,’ संस्थाकी एक बचत संकलकले सेतोपाटीसँग भनिन्, ‘उनले आफ्नो घरसमेत बिक्री गरेको बुझिएको छ।’
राईले केही दिनअघिसम्म संस्थाको कुल बचत ५ करोड र कर्जा लगानी ४ करोड ५० लाख रूपैयाँ रहेकाले बचत फिर्ता गर्न सकिने बताएका थिए। तर उनको दाबीविपरीत संस्था अहिले आफैंले तोकेको रकमसमेत दिन असमर्थ भएको छ।
संस्थाका बचतकर्ता बौद्ध नयाँबस्ती निवासी रणकिशोर डाँगीले बचत फिर्ता लिन जाँदा रित्तो हात फर्किनुपरेको बताए। ‘मेरो जम्मा ३२ सय रूपैयाँ बचत थियो, त्यही लिन जाँदा पनि पाइनँ,’ उनले भने।
हामीले केही दिनअघि संस्थाका सञ्चालक राईसँग कुरा गर्दा उनले आफू चन्द्रागिरिमा ११ लाख रूपैयाँ ऋण उठाउन आएको र तत्कालै बचतकर्ताहरूको रकम फिर्ता गर्ने बताएका थिए। उनी बचतकर्ताहरूको सम्पर्कमा भने थिएनन्।
‘उहाँहरू सम्पर्कमा नआउने तर ब्याक डेटको चेक काटेर पठाउने गरिरहनुभएको थियो,’ बचतकर्ता गृष्मा गिरीले भनिन, ‘उहाँहरू बजारबाट बचत संकलनसमेत गरिरहनुभएको थियो, तर हामीले कुर्दा पनि उहाँहरू सम्पर्कमै आउनुभएन।’
उनले आफ्नो ९६ हजार बचत रहेको र पुस ८ गते बचतको अवधि परिपक्व भएको बताइन्।
टेकुका राजेश कुमारको त १४ लाख रूपैयाँ बचत छ। असोजदेखि रकम माग्न आउँदा पनि एक रूपैयाँ फिर्ता पाउन सकेका छैनन्।
‘मेरो छोरा अस्पतालमा रहेकाले म दुई महिनादेखि पैसा लिन मुख्य कार्यालय धाइरहेको थिएँ,’ उनले भने, ‘जति सक्छ उति रकम देऊभन्दा पनि दिएनन्।’
मुख्य लगानीकर्ता राईका अनुसार संस्थाको पूर्वअध्यक्षमा पद्मा लिम्बू रहे पनि हाल प्रदीप बराल अध्यक्ष छन्।