नेपालको बैंकिङ प्रणालीमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा पुगेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ वैशाख मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर २५ खर्ब १२ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ।
यो रकम १४.६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ। गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो।
अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ।
यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ।
गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९.६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिति ५६.८ प्रतिशतले बढेको छ।
यो सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.२ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१.१ प्रतिशत, कुल आयातको १२१.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३.८ प्रतिशत छ।
गत वर्ष यी अनुपात क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए।
यो वृद्धिसँगै नेपालको विदेशी मुद्रा सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ।