अमेरिकाको डिजिटल बैंक चिमेको सेयर कारोबारले त्यहाँ इतिहास रचेको छ।
चिमे फाइनान्सियल इंकको सेयर मूल्य कारोबारमा आएको पहिलो दिननै ३७ डलर पुगेर यस कम्पनीको कुल मूल्य १६ अर्ब डलर भएको छ।
प्रति सेयर २७ डलरमा आइपिओ निष्कासन गरेको कम्पनीको कारोबारको पहिलो दिन ४४.९४ डलरसम्म पुगेको थियो।
मूल्यमा एकैदिन ६६.४४ प्रतिशतसम्म वृद्धि भएको थियो। अमेरिकी सेयर बजार नास ड्यागमा कारोबार भएको कम्पनीको सेयर बजार बन्द हुँदा भने ३७.११ डलर मूल्य कायम भएको थियो।
पछिल्लो समय अमेरिकी बजारमा आइटी क्षेत्रका कम्पनीहरूको समूहमा पनि यस्ता कम्पनीहरूको मूल्य बढ्दा लगानीकर्ताहरूले राहत महशुस गर्न थालेका छन्।
गत साता क्रिप्टो स्टेबल क्वाइन कम्पनी 'सर्कल' र मे महिनामा सेयर कारोबार गराउने एप इटोरोको सेयर मूल्य क्रमशः १६९ र २९ प्रतिशतले बढेको थियो।
पाँच वर्षदेखि आइटी क्षेत्रबाट निराश बनिरहेका फिनटेक क्षेत्रमा लगानी गर्नेहरू यो नयाँ क्षेत्र आएसँगै राहत पाएका छन्, फोर्ब्सले उल्लेख गरेको छ।
ग्राहकहरूलाई नि:शुल्क डेबिट कार्ड दिने र नि:शुल्क एकाउन्ट चेक गर्ने सुविधा दिएसँगै १३ वर्ष अघि स्थापना गरिएको चिमेले व्यापकता पाउन थालेको थियो।
कोभिड तगत्तै सन् २०२० का चिमेको आम्दानी तीन गुणले बढ्यो भने मूल्यांकन पनि २५ अर्ब डलर पुगेको थियो। तर, बढ्दो ब्याजदरसँगै त्यसको दुई वर्षसम्म समग्र फिनटेक क्षेत्रका कम्पनीहरूको मूल्यांकन नै घट्न पुग्यो।
अहिले कम्पनीको बजार मूल्यांकन १६ अर्ब डलर छ। फोर्ब्सले एकवर्ष अघि कम्पनीको मूल्यांकन ८ अर्ब भएको प्रक्षेपण गरेको थियो।
केही वर्षअघि मात्रै २५ अर्ब डलरसम्म पुगेको कम्पनीको मूल्यांकन पछिल्लो समय कम्पनीको आम्दानीमा सुधार भएसँगै सुधार भएको हो।