मिरगंज पुल क्षतीग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवसाय ठप्प हुने अवस्थामा पुगेको छ।
उक्त जीर्ण पुलको मर्मत कार्य पुरा हुन झन्डै महिना दिन लाग्ने भएपछि त्यस आसपासका उद्योग व्यवसाय ठप्प हुने अवस्थामा पुगेको हो।
भारतीय पक्षले क्षतीग्रस्त पुल निर्माण सम्पन्न हुन तीनदेखि चार हप्ता लाग्ने बताएको छ।
नेपालको दोश्रो ठूलो नाका र मोरङ–सुनसरी कोरिडरको एक मात्र प्रवेशद्वारमा पुलका कारण धेरैपटक समस्या आएको मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
दुई वर्षअघि पनि आठ महिनासम्म उक्त पुल अवरुद्ध हुँदा व्यवसायीहरुले सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी उद्योग व्यवसाय चलाएका थिए।
पटक–पटक सम्बन्धित निकायहरुमा पहल गर्दा समेत कुनै ठोस कदम नचालेको उद्योगीहरुको आरोप छ।
सन् २००८ मा शुरु भएको मिरगंज पुलको हालसम्म चारवटा पिलर आधा मात्र बनेको छ।
यस पुलमार्फत मालवाहक सवारी साधनहरुको आवतजावत हाल पूर्ण रुपले ठप्प हुँदा भारततर्फ करिब ५ हजार सावरी साधनहरु अपलपत्र पर्ने स्थितिमा पुगेको छ।
अहिले २ हजारभन्दा बढी मालवाहक सवारी साधनहरु लामबद्ध भइसकेका छन्।
‘जसको ‘डिटेन्सन’ र ‘डेमुरेज चार्ज’ मात्रै प्रति दिन १ करोड रुपैयाँ हुन्छ। साथै उद्योगको उत्पादकत्व क्षमता घट्न गई अर्बौं नोक्सानी व्यहोर्नु परेको छ’, जारी विज्ञप्तिमा उल्लेख छ।
यसको दीर्घकालिन सामाधानका लागि आइसिपी जोगबनी जोड्ने आरसिसी पुलको निर्माण कार्यलाई तिव्रता दिइनुपर्ने व्यवसायीको माग छ।