जब बिहानको ११ बज्छ, सधैंजसो युएन पार्कको गेटअगाडि एउटा बिजुली स्कुटरको ब्रेक लाग्छ। स्कुटर हुँइक्याउँदै आएका पाका उमेरका बा आफूसँगै ल्याएको पोको सम्हालेर एक छेउमा राख्छन्। सँगै ल्याएका दुइटा लामा काठका फलेक स्कुटरमाथि तेर्स्याउँछन्। अनि पोको खोतल्न थाल्छन्।
काठमा किला ठोकिएका छन्। तिनै किलाहरूमा मिलाएर उनी आलु चिप्स, सलाइका पोका, सर्जिकल मास्कका पोका, चुरोट, गुट्खा मिलाएर झुन्ड्याउँछन्। स्कुटरको पछाडितर्फ सिटमा चुली बदामसहितको काठको भाँडो राख्छन्। अगाडिपट्टि पिउने पानीका बोतलहरू।
झट्ट हेर्दा एउटा सानो पसलजस्तै देखिने यो व्यापार ७७ वर्षीय ज्ञानलाल महर्जनको हो।
पाटनका ज्ञानलालले यसरी स्कुटरमा व्यापार गर्न थालेको तीन वर्ष भइसक्यो।
पानी, चिप्स, गुट्खाजस्ता अरू सामान होलसेलबाट बिहानै जोहो गर्छन्। बदाम लिन कालीमाटी पुग्छन्। एक पटकमा दुई बोरा ल्याउँछन्।
'एउटा बोरामा २२ पाथी बदाम हुन्छ। यो बिक्री हुन १५ दिन लाग्छ,' उनले भने। अरू बदाम भने घरमा राखेर बिक्रीका लागि खटाई–खटाई ल्याउँछन्।
दिनभरि पार्कको गेटमा ग्राहकको पर्खाइमा हुन्छन् उनी। पार्क घुम्ने मानिसले उनीसँग पानी, बदाम, चिप्स किन्छन्। कोभिडको जोखिम र धूलोबाट बच्न मास्क पनि लिन्छन्। बाटो हिँड्नेहरुले सामान किन्दा व्यापार ठीकै हुन्छ। व्यापार राम्रो हुँदा ज्ञानलालको मुहार उज्यालिन्छ।
'दैनिक पाँच सयदेखि हजारसम्मको व्यापार हुन्छ। कहिलेकाहीँ चाहिँ बोहोनीमै चित्त बुझाएर फर्किन्छु,' उनले भने।
दिनभरिको व्यापार र थकानपछि उनी साँझ पाँच बजे घर फर्किन्छन्।
यसअघि ज्ञानलाल पाटन दरबार परिसरमा तीनपांग्रे ठेलागाडामा फलफूल व्यापार गर्थे। गर्मी याममा व्यापार पनि राम्रो हुन्थ्यो। तर ललितपुर महानगरपालिकाले राख्न नदिएपछि उनले स्कुटरमा व्यापार थालेका हुन्।
सुरूमा त उनलाई स्कुटरमा सामान राखेर व्यापार गर्ने आइडिया थिएन। लगनखेलमा मोटरसाइकलको स्ट्यान्डमा राखेर कपडा र फलफूल बेच्दै गरेको भने देखेका थिए। त्यसपछि घरमा भएको बिजुली स्कुटरमा व्यापार गर्ने योजना बनाए।
'महानगरले एकछिन राखेको पनि देखिनसहने। लखटेको लखेट्यै गर्थ्यो। एकदमै गाह्रो भयो, त्यसपछि मैले सामान पोको पारेर यसमै राखेर बेच्न थालेँ। अहिले त ढुक्कै छ,' ज्ञानलालले सुनाए।
घाम लाग्दा त उनलाई सजिलै हुन्छ। पानी पर्दा भने सबै सामान बोकेर उनी छेवैमा रहेको पाटीमा पुग्छन्। स्कुटर ठ्याक्कै गेटअगाडि अड्याउँदा कहिलेकाहीँ समस्या पर्छ। पार्कभित्र सवारी प्रवेश गर्ने र निस्कने क्रममा घरिघरि स्कुटर सारिरहनुपर्छ। तर उनी झिँजो मान्दैनन्। फूर्तिलो भएरै यताउता सार्छन्।
यो उमेरमा आफैं कमाउन यत्तिको दुःख उनी केही मान्दैनन्, त्यसैले खुसी छन्।
'स्कुटरमा व्यापार थालेपछि गाडाजसरी ठेल्दै भाग्नुपर्ने स्थिति आइलागेको छैन,' उनी भन्छन्।
ज्ञानलालले यो स्कुटर व्यापार गर्ने सोच बनाएर किनेका होइनन्। श्रीमती र आफूलाई हिँडडुल गर्न सहज होला भनेर मजदुरीबाट जोहो गरेको पैसाले किनेका थिए। क्रिस्चियन धर्म मान्छन् उनी। दैनिक चर्च जाँदा श्रीमतीलाई स्कुटरपछाडि राखेर लैजाने ठूलो रहर थियो।
उनकी श्रीमती केही समय अगाडिदेखि बिरामी थिइन्। पाठेघरमा समस्या देखिएपछि थापाथली प्रसूति गृहमा जाँच गराए। शल्यक्रिया भयो। तीन महिना अस्पतालमै राखे। निको होला भन्ने आश थियो। तर उनलाई स्कुटरपछाडि राखेर सहरका गल्ली चहार्ने ज्ञानलालको सपना अधुरै रह्यो।
'पहिले मजदुरी गरेर जोगाएको एक लाख ३० हजार तिरेर स्कुटर किनेँ। जहानलाई राखेर घुमाउँला भन्ने थियो। तर त्यसको १५ दिनपछि उनले संसारै छाडिन्,' ज्ञानलालले सम्झिए।
ज्ञानलाल अहिले तीन छोरा र बुहारीसँग पाटनमा रहेको आफ्नै घरमा बस्छन्। छोराहरू र उनका लागि घरका कोठा भाग लगाएका छन्। ज्ञानलालको भागमा तीनवटा कोठा छन्। बाँकी तीन छोरा, बुहारी र नातिनातिनाका लागि उनले दुई–दुई वटा कोठा दिएका छन्।
छुट्टाछुट्टै बसे पनि उनलाई छोराहरूले खाना कोठामै ल्याइदिन्छन्।
'एक महिना जेठोले खुवाउँछ, अर्को महिना माइलोले,' उनी भन्छन्, 'चामल चाहिँ आफैं किनेर दिन्छु।'
उनले तीन महिनामा १२ बोरा चामल किन्छन्। यसका लागि पैसा जोहो स्कुटरमाथि राखिएका सामानको व्यापारबाटै गर्छन्।
ज्ञानलालका अनुसार जेठा छोरा घरमै बस्छन्, रोजगार-व्यापार छैन। माइला छोरा भने ललितपुरकै एक निजी स्कुलको बस चलाउँछन्। कान्छा छोरा ट्याक्सी चलाउने भए पनि व्यवहार अलग भएकाले आफूसँग हिसाबकिताब नहुने उनी बताउँछन्।
काठमाडौं उपत्यकामा घर हुनेको आर्थिक अवस्था राम्रो होला भन्ने सोच सबैजसोको हुन्छ। तर पाटनमा घर भएका ज्ञानलालको जीवन ऐश-आराममा कहिल्यै बितेन। सानैदेखि परिश्रम गरे। १६ वर्षको उमेरदेखि आफूले ज्यामी काम गरेर गुजारा गरेको उनी बताउँछन्।
'घरले खान दिँदैन। परिवार पाल्नै पर्यो। कहिले ज्यामी काम गरेँ, कहिले ठेक्कापट्टाको काम। मैले काम थाल्दा दैनिक ज्याला एक रूपैयाँ ५० पैसा थियो। त्यतिले त्यो बेला राम्रोसँग खान पुग्थ्यो। तर आम्दानी जति बढ्यो महँगी त्यति बढ्ने रहेछ। त्यसैले अहिले मुश्किल पर्छ,' उनले भने, 'तर सानैदेखि आत्मनिर्भर भएर होला सकुन्जेल आफ्ना लागि आफैं गरौं भन्ने लाग्छ।'
सबै तस्बिरः निर्मला घिमिरे/सेतोपाटी