महिला उद्यमीका कथा
दाङको घोराही बसपार्कमा सधैं मान्छेको चहलपहल हुन्छ। बसपार्कको पश्चिमतर्फ नजिकै सेवार खोला छ। वर्षातमा उर्लिने सेवार खोला अहिलको सुख्खामा सुक्ने तरखरमा छ। खोलाको एक छेउमा कुलोजस्तो भएर पानी बग्दै छ।
खोलामा २५ जना जति महिला आफ्नो काममा व्यस्त देखिन्छन्। उनीहरूलाई बसपार्कको चहलपहलको वास्ता हुँदैन।
उनीहरू 'विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग' का रोजगार महिलाहरू हुन्। घोराही उपमहानगरपालिका–१३ मा पर्ने सेवार खोलाको डिलमै छ उक्त उद्योग।
'हामी हिमाली जिल्लाहरूबाट कच्चा अल्लो किनेर ल्याउँछौं। अल्लोको धागो बनाउन प्रशोधनका क्रममा पानीमा धुनुपर्छ,' उद्योग सञ्चालक ४० वर्षीया तिलकुमारी पुनले भनिन्।
उद्योगबाट अल्लोको कोट, झोला, टोपी, पछ्यौरी, जुत्ता, लुंगी लगायत उत्पादन हुन्छ। दौरासुरूवाल, कोट इत्यादि बनाउने प्रयोजनमा कपडा पनि बिक्री हुन्छ। यी सामान काठमाडौं, पोखरा, हेटौंडा लगायतका बजारमा बिक्री हुन्छ। विदेशीले बढी मनपराउने भएकाले काठमाडौंमा बढी खपत हुन्छ।
तिलकुमारीले यो काम थालेको २० वर्ष हुनै लागेको छ।
उनको पुर्ख्यौली घर पूर्वीरूकुम हो। नेकपा माओवादीको सशस्त्र द्वन्द्वको जोखिमका कारण २०५६ सालमा तिलकुमारीको परिवारै दाङ आएको थियो।
उनका आमाबुबा घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा बस्छन्। तिलकुमारी वडा नम्बर १३ को बडहरामा बस्छिन्।
'थातथलो छाडेर हिँडेपछि नयाँ ठाउँमा जीविकाको उपाय केही थिएन,' तिलकुमारीले भनिन्।
उनी किशोर उमेरकी थिइन्। परिवारमा आइलागेको कष्ट बोध भयो। केही काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो।
चार वर्षसम्म अगाडि जे आइलाग्छ, उनले त्यही काम गरिन्।
त्यसपछि उनलाई यसरी त भएन, केही दिगो र आफ्नो काम गर्नुपर्छ भन्ने लाग्यो। उनी कहिल्यै स्कुल गइनन्। आमासँग मेलापात जान्थिन्। आमाबाटै अल्लोको भुवा र धागो बनाउन जानेकी थिइन्।
दाजु पुनराजसँग सल्लाह गरिन्। पुनराजले लमजुङबाट अल्लो ल्याउने भए। तिलकुमारीले प्रशोधन गरेर धागो बनाउने भइन्।
२०६१ सालदेखि उनले आफूले जानेको सीपअनुसार अल्लोको धागो बनाएर बेच्न थालिन्। अपेक्षाअनुसार नै लाभ भयो। झन्डै १२ वर्ष यसरी नै बिते। अनि भने उनलाई अल्लोको काममा भविष्य उज्यालो छ भन्ने टुंगो भयो।
२०७३ सालमा उनले घरेलु उद्योग, कर कार्यालय र घोराही उद्योग वाणिज्य संघमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग दर्ता गराइन्।
तिलकुमारीले प्रशोधन र कपडा उत्पादनको दुईमहिने तालिम लिइन्। लुगा सिउन पनि सिकिन्। तानमा कपडा बुन्न बहिनी धनाले साथ दिइन्। दाजु पुनराज भने जापान गइसके। हालै उनले मन मिल्ने फुपू ६५ वर्षीया रामदैया पुन मगरलाई साझेदार बनाएकी छन्।
तिलकुमारीलाई एउटा गैरसरकारी संस्थाले आठ वटा मेसिन निःशुल्क दियो। धागो कात्ने कामका लागि अर्को एक संस्थाले उपकरण दियो। हाल उनको उद्योगमा आठ वटा मेसिन नियमित चल्छन्।
उनी दार्चुला, अछाम, डोटी र बाजुराबाट कच्चा अल्लो किनेर ल्याउँछिन्। रोल्पा, रूकुम र प्यूठानका घरेलु व्यवसायीहरूबाट धागो पनि किन्छिन्। संकलकहरूले अल्लोको बोट काटेर बोक्रा निकाल्छन् र सुकाउँछन्। तिलकुमारीले ल्याउने कच्चा पदार्थ त्यही बोक्रा हो।
'परम्परागत तरिकाले प्रशोधन गरेर धागो उत्पादन गर्दा धेरै मेहनत पर्छ,' तिलकुमारीले भनिन्।
सबभन्दा पहिला बोक्रा अल्लो करिब तीन घन्टा पानीमा उमाल्नु पर्छ। तिलकुमारी र उनका केही सहयोगीहरू राति अल्लो पकाउने काम गर्छन्। पाकेपछि सेवार खोलाको बगरमा लगेर थुपार्छन्।
बगरमा बोक्राको थुप्रोमाथि ट्र्याक्टर घुमाउँछन्। ट्र्याक्टरले पेलेर बोक्राको फोहोर निकाल्छ र रेसा मात्र बाँकी रहन्छ। त्यो रेसा कालोमैलो सबै पखालिने गरी धुनु पर्छ।
यसपछि कमेरो (सेतो माटो) को घोलमा चोब्दै, निकाल्दै घाममा सुकाउनु पर्छ।
'कमेरोले रेसा नरम र सफा बनाउँछ। कमेरो माटो हामी रोल्पाबाट ल्याउँछौं,' उनले भनिन्।
रेसा राम्ररी सुकेपछि टकटक्याएर कमेरो झार्नु पर्छ। यति गरेपछि अल्लोको रेसा भुवादार बन्छ र कात्न तयार हुन्छ।
तिलकुमारीको उद्योगका जनशक्तिमा सबै महिला छन्। नियमित काम गर्ने २५ जना छन्। सिजनमा दैनिक सरदर दुई सय जनाले धागो कात्ने काम गर्छन्। घरायसी काममा व्यस्त रहनेहरू भुवा घरमै लगेर धागो कातेर ल्याउँछन्।
उनीहरूले आठ घन्टा कामका लागि निर्धारित पारिश्रमिक र अतिरिक्त कामको थप रकम पाउँछन्।
यति बेला उद्योगमा काम धमाधम छ। घोराहीकै भूमिका रोकामगर १६ दिन मात्र भयो यहाँ काम गर्न आएकी।
उनी भन्छिन्, 'अहिले सिजन छ। आठ घन्टा काम गर्दै छु। बढी काम गर्दा पैसा पनि बढी हुन्छ। काम खोज्ने दिदीबहिनीलाई यहाँ प्रशस्तै काम छ। मोबाइल चलाएर दिन कटाउनुभन्दा काम गरेर पैसा कमाउनु राम्रो।'
अल्लो धागो र कपडाको व्यवसायमा तिलकुमारी सन्तुष्ट छिन्। आफ्नो इच्छाको सामान जोडेकी छन्। केही नगद पनि जम्मा गरेकी छन्।
'चाँडै घडेरी किनेर एउटा सानो घर बनाउने सोचेकी छु,' उनले भनिन्, 'सानै उमेरमा व्यापार सुरू गरेँ। वार्षिक २०–२२ लाख रूपैयाँको व्यापार गर्छु। ऋण लागेको छैन।'
तिलकुमारी कहिलेकाहीँ अल्लोको धागो र कपडा उत्पादन सम्बन्धी तालिममा प्रशिक्षक भएर यताउति पनि जान्छिन्। मेला-महोत्सवमा पनि सहभागी हुन्छिन्।
तिलकुमारीले बिहे नगरेकोमा उनका आमाबुबा चिन्ता गर्छन्। उनी भने काममै रमाएको बताउँछिन्।
'बिहे गरौं भन्नेहरू अझै आइरहन्छन्। आमा मेरो पिर गर्छिन् तर मलाई एक्लो जीवन नै मनपरेको छ। काममै खुसी छु,' उनले भनिन्।
उनलाई पछुतो भने पढ्न नसकेकोमा छ। स्कुल जाने उमेरमा उनलाई पढ्नुपर्छ भन्ने लागेको थिएन। उद्योग सुरू गरेपछि भने नाम लेख्न, सही गर्न, चिठीपत्र पढ्न र आफ्नो हिसाब राख्न नजान्दा समस्या भयो।
उनले थोरैथोरै फुर्सद निकाल्दै नेपाली र अंग्रेजी अक्षर सिकिन्। नाम लेख्न, सही गर्न, मोबाइलमा मेसेज पढ्न र लेख्न, सानोतिनो हरहिसाब गर्न जान्ने भइसकिन्। अहिले पनि उनी सिकिरहेकै छिन्।
'पढ्न नसकेकोमा पछुतो त छ तर जीवनमा सन्तुष्ट छु। नपढेकी भए पनि यत्रो काम गरेकी छ, उद्योग चलाएकी छ, धेरैलाई रोजगारी दिएकी छ भनेर सबै खुसी छन् नि,' तिलकुमारीले भनिन्।