विष्णु विश्वकर्मालाई उनका बाजेले आफ्ना पुर्खाको बसाइँसराइको कथा सुनाउँथे।
कसरी पुर्खा कास्कीको ढिकुरपोखरीबाट कर्णालीको सल्यानमा आए, उनीहरूलाई किन र कसले यहाँ ल्यायो, भन्ने कहानी सुन्दा विष्णुलाई रमाइलो लाग्थ्यो।
उनका बाजेले भनेको सुनेअनुसार उतिखेरका शासकले दुई परिवार विश्वकर्मा र एक परिवार दर्जीलाई सल्यान लगेका थिए। विश्वकर्मा परिवारले खुकुरी, खुँडा, घरेलु हतियार बनाउँथ्यो। त्यति बेलाका राजाले हतियारकै लागि उनीहरूका पुर्खालाई कास्कीबाट सल्यान ल्याएका हुन्।
'त्यति बेलाका कुनै राजाले हाम्रा पुर्खालाई सल्यान ल्याएका हुन् भन्ने कुरा मैले बाजे र बुबाबाट सुनेको हुँ। अहिले पनि ढिकुरपोखरीमा हाम्रा गोत्यार खलक छन्,' ६५ वर्षीय विष्णुले भने।
विश्वकर्मा र दर्जी दुबैका सन्तान अहिले पनि आआफ्ना पुर्ख्यौली पेसामा छन्। दर्जीका सन्तान धेरैजसो दाङको तुलसीपुर पुगेका छन्।
हतियार बनाउने कला र सीप भएका तिनै पुर्खाका सातौं पुस्ता हुन् विष्णु। उनले आफ्ना छोरालाई पनि पुर्ख्यौली सीप सिकाएका छन्।
उनीहरूले खुकुरीबाट नाम पनि बनाएका छन्।
त्यो खुकुरी 'सल्यानी खुकुरी' नामले प्रख्यात छ।
विष्णुले आफ्नै हातले सल्यानी खुकुरी बनाएको ५० वर्ष भयो।
उनले सल्यानको शारदा नगरपालिका–२, खलंगामा 'सन्तोष खुकुरी उद्योग' चलाएका छन्।
'म पाँच वर्षको छँदादेखि बुबाले आरण चलाउन सिकाउनुभयो। फलाम पिट्न र औजार बनाउन सिक्दै गएँ,' विष्णुले भने।
विष्णु आफै काम गर्न सक्ने भएपछि बाबुछोरा मिलेर काम गर्न थाले।
उतिखेर बालीघरे प्रथा थियो। आरण छोराको जिम्मा छाडेर बाबु खुकुरी र अरू हतियार पुर्याउन हिँड्थे। उनका बुबा भने ३० वर्षअघि बितिसके।
विष्णुलाई बालीघरे प्रथा मनपरेको थिएन। उनले त्यो प्रथा चटक्कै त्यागे, ज्यालामा काम गर्न थाले।
'आफूसँग सीप भएपछि आँट आउँदो रहेछ। जस्तो अर्डर दिन्थे, उस्तै बनाइदिन्थेँ। पैसा पनि तोकेरै लिन्थेँ,' उनले भने।
विष्णुले पुराना बन्दुक मर्मत गर्ने र नयाँ बन्दुक बनाउने काम पनि गरे। सशस्त्र द्वन्द्वको समयमा सरकारी प्रशासन र विद्रोही माओवादीले आँखा लगाउन थालेपछि बन्दुकको काम बन्द गरे।
विष्णुले आज चलाएको उद्योग उनका बुबा भोबते विश्वकर्मा र अझ अघिका पुर्खाले नै चलाउँदै आएका हुन्। तर बालीघरे प्रथा भएकाले नगद ज्यालामा फाटफुट मात्रै काम हुन्थ्यो।
यो उद्योग कम्तीमा सय वर्ष पुरानो भएको उनी बताउँछन्।
यो उद्योग पहिले धेरै व्यवस्थित थिएन, दर्ता पनि थिएन। द्वन्द्वकालमा खुकुरी र घरेलु हतियारमा विद्रोही माओवादीहरूले आँखा लगाएसँगै सरकारी प्रशासनले केरकार गर्न थाल्यो। त्यस परिस्थितिमा विष्णुले उद्योग दर्ता गराएर काम गर्न उचित ठाने। अनि उनले २०५५ सालमा सन्तोष खुकुरी उद्योग दर्ता गराए।
विष्णुका तीन भाइ छोरा छन् – जेठा भोला, माइला अजय र कान्छा सन्तोष।
भोला सशस्त्र प्रहरी बलमा थिए। हालै सेवानिवृत्त भएर निजी क्षेत्रमा सुरक्षाकर्मी छन्। अजय पनि सशस्त्र प्रहरी बलमै छन्, केही महिनामा सेवानिवृत्त हुनेछन्।
कान्छा छोरा ३० वर्षीय सन्तोष बुबाकै खुकुरी उद्योगमा छन्। घरका अरू सदस्यले पनि उद्योगमा काम सघाउँछन्।
'दुई छोरा जागिरमा भए पनि पुर्ख्यौली काम जान्दछन्। तीनै जनालाई सिकाएको छु,' विष्णुले खुसी हुँदै सुनाए।
जागिरमा भए पनि उनका माइला छोरा अजयले दाङमा पुर्ख्यौली उद्योग चलाएका छन्। उनी हाल तुलसीपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा छन्। एक वर्षअघि मात्र उनले तुलसीपुरमा सल्यानी खुकुरी एन्ड कृषि औजार हस्तकला उद्योग सुरू गरेका हुन्।
प्रहरी सेवाका सिलसिलामा काठमाडौंमा बस्दा पनि अजयले घरेलु हतियार बनाउने परम्परागत उद्योगमा काम गरेका थिए। अहिले उनी फुर्सदको समय आफ्नो उद्योगमा बिताउँछन्। उद्योगमा उनीबाहेक तीन जना काम गर्छन्।
'अब ६ महिनापछि म रिटायर हुन्छु। यो उद्योग त्यसपछिको तयारी हो,' अजयले भने, 'आफूले जानेको पुर्ख्यौली सीप सदुपयोग गर्ने र स्वावलम्बी भएर जीवन बिताउने सोचेको छु।'
विष्णु आफ्नो उद्योगमा खकुरी र अन्य औजार बनाउने कामको नेतृत्व गर्छन्। उनी आफू 'पाटीवाल' खुकुरी बनाउँछन्। यो खुकुरी निकै चर्चित छ, क्रेताहरूको रोजाइमा पर्छ।
'पाटीवाल खुकुरीमा तीनवटा पाटा हुन्छन्। माथिल्लो पाटो हिमालको प्रतीक हो। त्यसमुनिको केही उँचो भागले पहाडको र त्यसमुनिको भागले तराईको प्रतिनिधित्व गर्छन्। धारको भाग नदीनालाको प्रतीक हो,' उनले भने।
त्यस्तै बिँडनजिक वीरको पाइला हुन्छ। धार नजिकको सानो गोलो भाग चन्द्रमा हो। काँजोले ढाकाटोपी जनाउँछ। काँजोपछि पटुका र छाप्री (जुत्ता) को प्रतीक हुन्छ।
उनको उद्योगमा सानादेखि मार हान्ने निकै ठूला खुकुरी र खुँडा बन्छन्। आकारअनुसार पेस्तोल खुकुरी, डाँफे खुकुरी, माछी खुकुरी पनि बन्छन्।
चार वर्षअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक प्रदर्शनीमा विष्णुले बनाएका खुकुरीका लागि दोस्रो पुरस्कार प्राप्त भएको थियो। धराने खुकुरीलाई प्रथम पुरस्कार मिलेको थियो।
विष्णु मेला र महोत्सवहरूमा खुकुरी लिएर सहभागी हुन्छन्। चार वर्षअघि तुलसीपुरमा भएको महोत्सवमा उनले प्रदर्शनीमा राखेका सबै खुकुरी बिक्री भएका थिए। केही वर्षअघि उनले बनाएका तीनवटा खड्ग सल्यानको खैराबाङ भगवती मन्दिरमा राखिएका छन्। यो मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीय स्थल हो।
विष्णुका अनुसार उनका बाबुबाजेले बनाएका सल्यानी खुकुरी नेपालको राजदरबारमा पनि पुगेका थिए।
'मेरा बुबाका पालासम्म राजदरबारमा सालिन्दा सल्यानी खुकुरी पुग्थ्यो। व्यवस्था परिवर्तन भएपछि बन्द भयो,' उनले भने।
उनको उद्योगमा बन्ने खुकुरीको नाप लिने तरिका पनि परम्परागत छ। उनीहरू अंगुल (औंला) का आधारमा नाप लिन्छन्। खुकुरी सामान्यतया सानोमा ८ अंगुलदेखि ठूलोमा ४२ अंगुलसम्मको बनाउँछन्।
खुकुरीको प्रकार हेरेर मूल्य पनि अंगुलकै आधारमा निर्धारण हुन्छ। विष्णुका बुबा एक रूपैयाँ अंगुलमा बेच्थे। बुबापछि विष्णुले पाँच रूपैयाँ अंगुलमा बेचे। हाल १६० रूपैयाँ अंगुलका दरले बेच्छन्।
अजय तुलसीपुरमा तीन सय रूपैयाँ अंगुलका दरले बेच्छन्।
३० अंगुलसम्मको खुकुरी अंगुलका आधारमा बेचिए पनि त्यसमाथिको मूल्य सोझै तोकिएको हुन्छ।
'३० अंगुलभन्दा माथिका खुकुरी र खुँडा कुत्वामा बेच्छौं। हेरेर १० हजारदेखि १५ हजार रूपैयाँसम्ममा बिक्री हुन्छ,' विष्णुले भने।
'कुत्वा' भनेको नापेर नभई सोझै तोकिने मूल्य हो।
उनीहरूले बनाएको खुकुरीमा विभिन्न नेपाली शब्द कुँदिएको हुन्छ। उनका बुबा स्कुल गएर नपढे पनि अक्षर कुँद्न जान्दथे। भोबते खुकुरीमा 'सल्यान', 'सल्यानी खुकुरी' र 'नेपाल' शब्द कुँदेर चिटिक्क बनाउँथे। लालीगुँरासको चित्र पनि बनाउँथे।
विष्णु पनि स्कुल गएनन्। उनले खुकुरीमा अक्षर कुँद्न बुबाबाटै सिके।
'जति जान्यो उति सिक्न मन लाग्दो रहेछ। खुकुरीमा अक्षर कुँद्ने क्रममा मैले आफ्नै प्रयासले कखरा पनि सिकेँ,' उनले भने।
उनी आफ्नो नाम विष्णु विक लेख्छन् र त्यही नाम लेखेर सही पनि गर्छन्।
बाबुबाजेहरू आरणमा फलाम तताएर हातकै भरमा हतियार बनाउँथे। विष्णुले पनि धेरै वर्ष त्यसै गरे। आजकाल आधुनिक मेसिन भएकाले काम सजिलो र छिटो भएको उनको भनाइ छ।
त्यस्तै आरण चलाउन कोइला चाहिन्छ। परम्परागत रूपमा जंगलमा रूखबाट कोइला बनाइने भए पनि आजकाल त्यसो गर्न पाइँदैन। त्यसैले फलाम गाल्न कोइलाको साटो एलपी ग्यास प्रयोग गर्नुपरेको छ। ग्यास प्रयोग गर्दा औजार महँगो पर्न जान्छ।
उनको हतियारकला सल्यान र आसपासका जिल्लामा ख्यातिप्राप्त छ। सधैं कामको धमाधम हुन्छ। अर्डर धेरै भएकाले सामान दिन उनलाई मुस्किल पर्छ।
मासिक सरदर एक लाख रूपैयाँको व्यापार हुने गरेको उनले बताए। यसमा बचत पनि निकै राम्रो हुन्छ।
'परिवारको सबै खर्च खुकुरी उद्योगले नै धानेको छ। आजसम्म मैले अर्को पेसा गर्नुपरेको छैन,' उनले भने।
उनीहरू उद्योगलाई चाहिने फलाम दाङको तुलसीपुरबाट लैजान्छन्। फलाम किन्न विष्णु नै तुलसीपुरका कबाडीखाना पुग्छन्। बसको पट्टाको खुकुरी साह्रै राम्रो हुने उनले बताए। कबाडीबाट नपुगेको मात्र पसलमा किन्छन्।
विष्णु खुकुरी बनाउन तालिम पनि दिन्छन्। गत महिना घरेलु उद्योग, दाङले तुलसीपुरमा आयोजना गरेको एक महिने तालिममा उनी मुख्य प्रशिक्षक थिए। तालिममा सहभागी बीस जनामध्ये एक जना क्षेत्री, चार जना चौधरी र केही मगर समुदायका युवा भएको उनले बताए।
'काम र पेसा कुनै एउटा जातको हुँदैन। काम भनेको सीप हो, जसले सिक्दा पनि हुन्छ,' विष्णु भन्छन्, 'अहिले धेरै जातका मानिसहरू यो सीप सिक्न अघि सरेका छन्। मलाई खुसी लाग्छ।'
उनी तालिम दिन गोर्खा, रोल्पा, रूकुम, जाजरकोट र अछाम पनि पुगेका छन्। कुनै जिल्लामा त चारपटक पनि गएका छन्।
आफूले बनाएका खुकुरी नेपालभर धेरै ठाउँमा पुगेको उनको भनाइ छ। विशेषगरी सजाएर राख्न र उपहार दिन धेरैले सल्यानी खुकुरी खोज्छन्।
'आजसम्म कसैका सामु हात थाप्नुपरेको छैन। घरमा केही पनि अभाव भएन,' उनी भन्छन्, 'ठूला अफिसरहरूले पनि विष्णु दाइ भनेर सम्मान गर्छन्। तपाईंको एउटा चिनो घरमा सजाउनु छ भन्छन्। मलाई साह्रै खुसी लाग्छ।'
परम्परागत रूपमा खुकुरी र अन्य घरेलु हतियार बनाउने समुदायका युवाहरू आफ्नो पुर्ख्यौली पेसाबाट पलायन हुन थालेकोमा विष्णुलाई निको लागेको छैन।
घरेलु औजार बनाउनु मौलिक कला भएको र यसलाई मर्न नदिन सरकारले युवाहरूलाई तालिम दिनुपर्ने उनको भनाइ छ।
'यसो गर्न सके कला मर्दैन। यो पेसा सधैं काम लाग्छ, कहिल्यै पनि निकम्मा हुँदैन,' उनले भने, 'तर आजका युवा दुःख गर्न चाहँदैनन्। कतिपयले हेलाहोचो खेप्नुपर्छ भन्ने मानसिकता पालेका छन्। तैपनि आजकाल अरू समुदायका युवा पनि आउन थालेका छन्, यसमा म खुसी छु।'