‘स्यानी र ठूली
लागौं काममा
कहीँ कतै नि नभूली
फूलमाया मायामा नभूल
दिदीबहिनी बेकाममा नभूल...’
मसँग गफमा भुलेका साथीहरूलाई जिस्क्याउँदै उनले गीत गाइन्।
गाउँदै गर्दा दाङको भालुवाङकी ३७ वर्षीया हितपुरा पुनमगरका हात कपडा बुन्ने तानमा व्यस्त थिए। उनी ढाकाको साडी बुन्दै थिइन्।
घरधन्दा सकेपछिको खाली समय मोबाइल चलाएर बिताउनुभन्दा काम सिक्न उनलाई मजा भइरहेको छ रे।
‘दिदीबहिनीसँगै मिलेर काम गर्न पाउँदा खुसी लाग्छ र यहाँ आएपछि मनको पीडा र तनाव हराउँछ,’ हितपुरा भन्छिन्, ‘फाल्तुमा मोबाइल घोचेर बस्नु परेको छैन, फाल्तु दिमाग लिएर बस्नु परेको छैन।’
साडी बुन्न पनि सजिलो छैन। बुनाइमा अझै हात बसिसकेको छैन। भर्खरै उनलाई एउटा साडी बुन्न एक महिना लाग्यो।
‘नयाँ मेसिनमा हात नबसेर हो कि साडी बुन्न धेरै ढिलो भएको छ तर पनि छोड्न मन छैन। अझै मेहनत परे पनि गर्ने हो। एउटा साडी बनाएपछि आत्मविश्वास पनि जागेको छ,’ उनी भन्छिन्।
पहिलेपहिले बजारमा साडी महँगो हुँदा उनलाई दिक्क लाग्थ्यो। अहिले बल्ल बुझिन् किन लाग्दो रहेछ धेरै पैसा!
‘ढाकाको साडी बुन्न धेरै समय लाग्छ, धेरै मेहनत पर्छ। ढाकाको साडी महँगो पर्ने कारण पनि यही रहेछ,’ उनले भनिन्।
भालुबाङ बजारबाट करिब दुई किलोमिटर उत्तरतर्फ राप्ती नदीको किनारमै एउटा टहरोमा हितपुरा जस्तै धेरै महिलाहरू ढका र ऊनीका लुगा बुन्दै गरेका भेटिन्छन्।
‘राप्ती महिला श्रमिक सहकारी संस्था लिमिटेड’ ले तालिम र रोजगारी दिन तान राखेको रहेछ।
धेरै महिलाहरूले कपडा बुन्दै गरेको देखेर म त्यहाँ पसेको थिएँ। म पुग्दा कसैले साडी, कसैले पछ्यौरा, कसैले सल बुन्दै थिए। गाउँका महिलामात्र होइन क्याम्पस पढ्ने कतिपय युवतीहरू पनि तानमा कपडा बुन्न सिक्दै रहेछन्।
बिहान देउखुरी क्याम्पसमा स्नातक तहमा पढ्ने २० वर्षीया रश्मी पुनमगर तिनैमध्ये एक हुन्।
लमहीस्थित स्वर्णिम देउखुरी क्याम्पसमा स्तानक तह पढ्दै गरेकी रश्मी दिउँसो यहाँ कपडा बुन्न सिक्छिन्। उनी यहाँ आएको दुई महिना भयो। बल्ल सल बुन्न जान्ने भइन्।
‘यसरी तानमा कपडा बुन्नु मगर जातिको परम्परा हो,’ उनी भन्छिन्, ‘म अल्लोबाट कपडा बुनेको हेर्दै हुर्केकी हुँ। यति बेला यहाँ मेरी आमा र म सँगै ढाका कपडा बुन्न सिक्दै छौं।’
आफूलाई आत्मनिर्भर बन्न यही सीपले सघाउँछ जस्तो रश्मीलाई लागेको रहेछ। बुबाले आफ्नो हातमा सीप भए कसैको भर पर्नु पर्दैन भनेर सम्झाएपछि उनी आमाको साथ लागेर यहाँ आएकी हुन्।
रश्मीकी आमाले हाते तानबाट अल्लोको कपडा बुन्न जानेकी थिइन्। यति बेला आधुनिक मेसिनबाट छोरीसँगै ढाका कपडा बुन्न सिक्दैछिन्।
उनी भन्छिन्, ‘आज फुर्सदको समय खेर नफाली सीप सिके भोलि आत्मनिर्भर बन्न सजिलो होला। मलाई त रमाइलो लागिरहेको छ। भोलिपर्सि गरिखाने बाटो यही बनाउन सकिने भयो नि!’
तानमा सीप सिकिरहेकी लमहीकै ४९ वर्षीया सुनसरी घर्तीमगर च्यादर बुन्दै थिइन्। च्यादर मगर समुदायको पहिचान मानिन्छ।
उनले भनिन्, ‘पहिला फुसर्दको समयमा के गरौं, कसो गरौं जस्तो हुन्थ्यो। अहिले दिदीबहिनी भेला भएर काम सिक्न पाउँदा रमाइलो भएको छ।’
यसरी महिलाहरूलाई परम्परागत सीप सिक्ने र रोजगारी दिने आशा देखाइरहेको यो सहकारी महिलाहरू मिलेर बनेको एउटा समूहबाट विकास भएको हो।
सहकारीकी अध्यक्ष ३६ वर्षीया बिसपुरा घर्तीमगर सुरूमा महिला समूह खोलेको र त्यही समूह गएको जेठमा सहकारी संस्थामा परिणत भएको बताउँछिन्।
अध्यक्ष बिसपुराकै आइडियाका कारण अहिले महिलाहरूले सीप सिक्ने र रोजगार हुने बाटो बनाएका हुन्।
‘दिदीबहिनीहरू बेरोजगार भयौं भनेर गुनासो गर्ने तर कामै नगरी चुप लागेर बस्ने, यस्तो भएपछि केही हुँदो रहेनछ,’ उनी भन्छिन्।
उनका अनुसार यो सहकारीले सुरूमा महिलालाई बचत गर्न सिकायो। अहिले बचतको पैसाले सीप सिक्दै रोजगार हुन प्रेरित गर्दैछ।
११ वर्ष पहिलेदेखि पहाडी जिल्लाहरू प्यूठान, रोल्पा र कुमबाट बसाइँ सरी आएका मगर समुदायका महिलाहरू संगठित हुँदै एउटा समूह बनाएका थिए। उनीहरूले समूहमा मासिक प्रतिव्यक्ति एक सय रुपैयाँका दरले बचत गर्न सुरू गरेका थिए।
यसरी गरेको समूहकै सदस्य लगानी गर्थे। समूहभित्र अप्ठ्यारोमा परेका, रोगी वा पीडितलाई आपसी सल्लाहमा सहायता गर्थे। अहिले यो समूहमा ६० जना मगर महिला संगठित रहेको अध्यक्ष बिसपुराले बताइन्।
समयक्रममा समूहका महिलाहरू आपसमा रकम जम्मा गरेर वा त्यो रकम ब्याजमा लगाएर मात्रै महिला दिदी बहिनीहरूको क्षमता विकास हुँदैन भन्ने निष्कर्षमा पुगे। केही सिर्जनात्मक काम गर्नुपर्छ भन्ने थियो तर बाटो भेटिसकेका थिएनन्।
त्यही बेला गएको जेठमा राप्ती गाउँपालिकाले ‘युवा र महिला उद्यमशीलतामा पहिला’ भन्ने कार्यक्रम आयोजना गर्यो।
त्यो कार्यक्रममा मगर समुदायका महिलालाई पनि निम्ता थियो।
कार्यक्रममा कसले के कस्तो उद्यम गर्न चाहेको हो, इच्छा प्रकट गर्न भनिएको थियो।
अध्यक्ष बिसपुरालाई त्यो कार्यक्रममा आफ्ना आयोजना सुनाउन मन थियो। यसै पनि सहकारीका सदस्यहरू बचतको रकम केमा लगाउने भन्नेमा पिरोलिरहेकै थिए।
सोच्दा सोच्दै उनको मनमा कपडा बुन्ने उद्योग चलाउन पाए हुन्थ्यो कि भन्ने विचार आयो।
उनको जन्मथलो वा पुर्ख्यौली घर रोल्पा हो जहाँ हरेक घरपरिवारले एउटा तान राखेका हुन्थे। परिवारका लागि चाहिने लुगा अल्लोको धागो बनाएर तिनै तानले बुन्थे। तानले अल्लोका कपडा बुनेको देख्दै हुर्केकी थिइन् बिसपुरा।
त्यसपछि महिलाहरूलाई आफ्नो परम्परागत सीप सिकाउने र सीप प्रयोग गरेर आत्मनिर्भर बनाउने उद्देश्यले यो सहकारी अघि बढेको उनको भनाइ छ।
‘हामी कतिपयको हातमा परम्परागत सीप थियो, संगठित छँदै थियौँ। एक अर्काका भावना बुझ्थ्यौँ। मैले कपडा बुन्ने कुरा उठाउने सरसल्लाह गरेर उक्त कार्यक्रममा गएँ,’ उनले भनिन्, ‘एकतामा बल हुन्छ। संगठित भएपछि राज्यलाई घच्घच्याउन पनि सजिलो हुन्छ। राज्यले पनि सुन्छ।’
उनले आफ्नो सहकारी संस्थाका तर्फबाट योजना प्रस्तुत गरिन्– हाते तानबाट कपडा बुन्ने पुर्ख्यौली पेसालाई आधुनिक रूप दिने, आधुनिक मेसिनबाट कपडा उत्पादन गर्ने। उनले त्यस सम्बन्धी तालिम माग गरिन्।
गाउँपालिकाले मगर समुदायका महिलाहरूको योजना छनोट गर्यो।
२१ जनाले गत जेठ ३ गतेदेखि असार २ गतेसम्म तालिम लिने अवसर पाए। तान बुन्ने दस वटा काष्ठ उपकरण र एउटा वार्पिङ मेसिन गाउँपालिकाले किनेर ल्याइदियो।
अब तालिम लिएका महिलाले काम गरेर देखाउनुपर्ने थियो। आफै गरिखानु थियो।
उनीहरूले सल्लाह गरेर बुटवलबाट धागो किनेर ल्याए। तालिममा सिकेको सीप अनुसार काम सुरू गरे।
उनीहरूले उत्पादन गर्ने सामग्रीमध्ये सबैभन्दा सस्तोमा खादा पाइन्छ जसको मूल्य २५० रुपैयाँ पर्छ। साडी सबैभन्दा महँगो पर्छ। एउटा साडीको साढे पाँच हजार रुपैयाँदेखि ११ हजार रुपैयाँसम्म पर्छ।
साडीको साइज र बुट्टाअनुसार मूल्य निर्धारण हुन्छ। तिजका अवसरमा साडीका लागि सामूहिक र व्यक्तिगत रूपमा थुप्रै माग आए पनि पुर्याउन नसकेको अध्यक्ष बिसपुराले बताइन्।
‘हामी सिक्दै छौं, अहिले साडी बनाउने तान एउटा मात्रै छ,’ उनले भनिन्, ‘साडी बुन्न धेरै ढिलो हुँदो रहेछ, त्यही भएर हामीले तिजमा दिदीबहिनीको मागअनुसार साडी तयार पार्न सकेनौं।’
धागो बेर्ने सानो उपकरण बबिन नपाउँदा पनि काममा ढिलाइ हुने गरेको उनले बताइन्। बिजुली बत्तीबाट चल्ने आधुनिक मेसिन भए सजिलो हुने थियो भन्ने उनको भनाइ छ।
‘हामीले गाउँपालिकासँग त्यही माग गरेका छौं,’ उनले भनिन्, ‘हामी गरिखाने वर्गका महिलाहरू हौं र हामीसँग लगानी गर्न सक्ने आर्थिक सामर्थ्य पनि छैन। हामीलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुहोस्, कमाएर तिर्छौं भनेका छौं।’
प्रदेश राजधानी आफ्नै गाउँपालिकामा रहेको हुँदा लुम्बिनी सरकारले आधुनिक मेसिन खरिदमा थप सघाउँछ कि भन्ने आशा राखेर बसेको उनले बताइन्।