दाङको घोराही उपमहानगरपालिका-१५, काठेकोहलमा 'नेवारी काष्ठकला' नामको एउटा उद्योग छ। यो उद्योग चलेको दस वर्ष भयो। उद्योगले कलात्मक बुट्टा कुँदेर झ्याल, ढोका, टुँडाल र सजावटका सामान बनाउँछ।
उद्योगका सञ्चालक हुन् ३८ वर्षीय प्रमोद श्रेष्ठ।
हामी उनको उद्योगमा पुग्दा काठमा बुट्टा कुँद्न तल्लीन थिए।
आगन्तुक देखेपछि उनले मुस्कानका साथ सोधे, 'कताबाट आउनुभयो, केही अर्डर थियो कि!'
हामीले परिचय दिएपछि उनले अचम्म मानेझैं गरे। भने, 'ओहो पत्रकार! मजदुरको यो झुपडीमा के पाउनुहुन्छ र?'
उनी प्यूठान जिल्लाको एउटा मन्दिरको मुख्य ढोका र सातवटा आँखीझ्याल बनाउन बुट्टा कुँद्दै थिए। ढोकामा चन्द्र, सूर्य, ॐ, स्वस्तिक चिह्न र पूर्ण कलश बनाउन लागेको उनले बताए।
'बुटवलबाट पश्चिमतिर काष्ठकलाको काम गर्ने म एक्लो हुँ,' उनले खुसी भावमा सुनाए।
झ्याल, ढोका, टुँडाल र आँखीझ्याल जे भए पनि त्यसको मूल्य आकार र डिजाइनमा भर पर्छ। प्यूठानको मन्दिरको काम एक लाख १२ हजार रूपैयाँको हो। हालसम्म उनले एउटा ढोका अधिकतम तीन लाख रूपैयाँमा बनाएका छन्।
उनले बुटवलबाट पश्चिमतर्फ धेरै ठाउँका काम गरेका छन्। यसमा निजी घर, कार्यालय, मठमन्दिर, रेस्टुरेन्ट, संग्रहालय, पार्कहरूको अर्डर बढी हुन्छ। तुलसीपुरको कालिका भगवती मन्दिर, घोराहीको धारापानी मन्दिर, जिल्ला अदालत दाङ र जिल्ला अदालत रोल्पाका मुख्य प्रवेशद्वारका कलात्मक ढोका उनैले बनाएका हुन्।
दाङ जिल्ला अदालतको ढोका दुई लाख ४७ हजार रूपैयाँको र रोल्पा जिल्ला अदालतको ढोका एक लाख ९० हजार रूपैयाँको हो। यो काम उनले पाँच वर्षअघि गरेका हुन्।
घोराही-१०, नारायणपुरको मन्दिरका लागि २४ वटा टुँडालको काम पनि गर्दैछन्। उनको उद्योगमा अर्डरको ओइरो नै छ।
भन्छन्, 'काम भ्याइनभ्याइ छ।'
प्रमोदले गणित मुख्य विषय लिएर स्नातक तहको पढाइ पूरा गरेका छन्। काष्ठकलामा आउनुअघि उनी शिक्षक थिए।
'उतिखेर शिक्षक र एनजिओ (गैरसरकारी संस्था) को बेग्लै शान थियो। मैले पनि पाँच वर्ष केही निजी स्कुलमा पढाएँ,' उनले भने।
शिक्षक हुनुको प्रतिष्ठा ठिकै भए पनि आम्दानीमा उनी सन्तुष्ट हुन सकेनन्। घर चलाउन सधैं धौधौ भयो। निजी स्कुल छाडेर प्यूठानको एउटा सरकारी स्कुलमा पढाउन थाले। प्यूठानमै मनीषा केसीसँग माया बस्यो। बिहे गरे अनि प्यूठान छाडेर दाङ झरे।
घरमा आमा पनि थिइन्। बिहे भएपछि पारिवारिक जिम्मेवारी बढ्यो। शिक्षण पेसा छुटिसकेको थियो। त्यसै बेला घोराहीमा मोबाइल फोनसेवा प्रदायक कम्पनी एनसेलको शाखा कार्यालय खुल्ने तयारी हुँदै थियो। एनसेलले कर्मचारी भर्ना गर्न आवेदन माग्यो। प्रमोदले आवेदन गरे, छनोट भए। त्यहाँ एक वर्ष काम गरे।
तलब राम्रै थियो। घर चलेको थियो। तर उनी रमाउन सकेनन्।
छँदाखाँदाको जागिर छाडिदिए।
यसरी बेरोजगार भएको आमा र श्रीमतीलाई मन परेन। छरछिमेकी र साथीहरूले पनि उचित मानेनन्।
प्रमोदका केही आफन्तहरू ललितपुरमा काष्ठकलाको काममा थिए। उनले तिनै आफन्तसँग सल्लाह मागे। तर कुरा सकारात्मक भएन।
'काष्ठकलाको काम ठूला सहरबजारमा मात्रै चल्छ, दाङमा काम छैन भने। पढेलेखेका मान्छे, राम्रो जागिर गर भन्ने सुझाब पाएँ,' उनले भने, 'मैले त कि जोगी बन्छु, कि राजा भनेर जागिर छाडेको थिएँ। केही नयाँ सिक्न चाहन्थेँ। पछि हट्ने कुरै थिएन।'
अन्ततः प्रमोदले आफन्तलाई मनाए।
'लौ आइज न त' भनेपछि घोराहीबाट ललितपुरको बुङमती पुगे। उनका लागि काष्ठकला बिल्कुलै नयाँ काम थियो। शून्यबाट सुरूआत गर्नु थियो।
काष्ठकला उद्योग उनकी सानीमाको परिवारको थियो। बस्नखान सानीमाकै सहारा भयो। उद्योगमा सहयोगी भएर करिब १८ महिना काम सिके। उनकी अर्की सानीमाको घर गोंगबुमा थियो। त्यहाँ करिब एक वर्ष बसे। अर्को छ महिना सोह्रखुट्टेमा अर्का आफन्तकहाँ पुगे। यसरी उनले करिब तीन वर्ष काम सिके।
'आज म जे गर्दै छु, त्यसको जग सानीमाको घरमा बनेको हो। उहाँहरूको पुर्ख्यौली पेसा नै काष्ठकला हो। मैले उहाँहरूसँगै सिकेको हुँ,' उनले भने।
यति गरेपछि काष्ठकलाको एउटा सानो उद्योग आफै चलाउन सक्छु भन्ने विश्वास पलायो। उनी दाङ फर्किए। परिवारमा आर्थिक संकट बढेको थियो। छोरी ११ वर्ष उमेरकी भइसकेकी थिइन्। खर्च बढ्दो थियो।
दाङमा पलङ, दराज, सोफा, कुर्सी, टेबल, स्कुलका फर्निचर, सोफा, टिभी र्याक जस्ता सामग्री बनाउने उद्योग मात्रै थिए। पैतृक सम्पत्तिका नाममा काठेकोहलमा हजुरबाले बनाएको एउटा पुरानो कच्ची घर थियो जसको भर थिएन। त्यही घरपरिसरमा बाँसको टेका हाले, पुराना जस्तापाताको छानो लगाएर एउटा टहरो बनाए।
केही काठ जम्मा गरेर बुट्टा कुँद्न थाले। आफूले सुरू गरेको कामबारे बताउँदै र अर्डर माग्दै हिँडे। तर कसैले पत्याएन।
काम सुरू गरेको ६ महिना बितेको थियो। एक दिन बेलुकीपख घडीको कलात्मक फ्रेम बनाउँदै थिए। बाटामा हिँड्दै गरेका एक जना रोकिएर सोधखोज गरे। ती व्यक्तिले त्यो फ्रेम किन्न मागे तर तयार भएको थिएन। मूल्य पाँच हजार रूपैयाँ तय भयो। क्रेता साढे दुई हजार रूपैयाँ दिएर गए। तयार भएपछि बाँकी पैसा दिएर लगे।
प्रमोदको पहिलो व्यापार त्यही थियो। केही पैसा आमा र श्रीमतीलाई दिए। छोरीलाई मिठाइ खुवाए। बाँकी पैसाले तार र चिम किनेर टहरामा बिजुलीबत्तीको प्रबन्ध गरे।
त्यसै साता घोराहीकै 'टीका फर्निचर उद्योग' बाट घरको झ्याल र ढोका बनाउने आयो। प्रमोदले निकै मेहनत गरेर ग्राहकको मन जित्ने प्रयास गरे। उनको काममा बटुवाहरूको नजर पर्न थाल्यो। कामको अर्डर आउन थाल्यो र बढ्दै गयो।
अब उनलाई अलिक फराकिलो ठाउँ चाहियो। सिमानामा रहेको ठूलाबुबाको जग्गा मागे। ठूलाबुबाले आफूलाई नचाहिँदासम्म सित्तैमा चलाउन दिए। प्रमोदले त्यहीँ उद्योगको सानो संरचना तयार गरे। तयारी सामान देखाउने ठाउँ पनि बनाए।
त्यसपछि अर्डरको ओइरो लाग्न थाल्यो। एकपछि अर्को गर्दै निकै टाढा टाढाबाट पनि कलात्मक झ्याल र ढोकाको अर्डर आउन थल्यो। यसैगरी दस वर्ष बित्यो।
अहिले प्रमोद व्यस्त उद्यमी भएका छन्। राम्रो आम्दानी गरेका छन्। उनको काष्ठकला बुटवलबाट पश्चिम क्षेत्रमा प्रसिद्ध भएको छ। यस अवधिमा उद्योगको लगानी पनि बढाएका छन्।
यही अवधिमा उनले कम्तीमा एक करोड रूपैयाँ खर्चेर घर बनाए। लमहीमा घडेरी जोडे। एउटा सुजुकी कार किनेका छन्। एउटा स्कुटी पनि छ।
काममा उनलाई श्रीमती मनीषाले मद्दत गर्छिन्। उनले ब्युटिसियन तालिम लिएकी छन्। अब आफ्नै घरमा ब्युटी पार्लर खोल्ने तयारी गरेकी छन्।
'धेरैको असन्तोष खेपेर धैर्य साथ सुरू गरेको काष्ठकलाको काम आम्दानीको बलियो स्रोत भएको छ। परम्परागत सांस्कृतिक कलासँग जोडिएको हुनाले प्रसिद्धी पनि फैलिएको छ,' उनले भने।
हाल उनको उद्योगमा नौ जना श्रमिक कार्यरत छन्। ती सबैलाई उनैले काम सिकाएका हुन्। उनका अनुसार हाल ती श्रमिकको तलबभत्तामा मासिक दुई लाख ८० हजार रूपैयाँ खर्च हुने गरेको छ।
आफ्नो सफलतामा काठमाडौंमा काम सिक्न अवसर दिने आफन्तहरू, ठूलाबुबा र परिवारजन सबैको सहयोग रहेको प्रमोदले बताए।
'मैले काठमाडौंमा बस्ने र सीप सिक्ने अवसर नपाएको भए के हुन्थ्यो होला! मेहनत मेरो आफ्नै हो तर आफन्तहरूले अवसर दिनुभयो,' उनले भने।
जागिर गर्नुको साटो 'आफ्नै काम' गर्ने अठोट र हुटहुटीले पनि आफूलाई काष्ठकला उद्यमी बनाएको उनको भनाइ छ।
प्रमोदको 'नेवारी काष्ठकला' उद्योगमा बझाङको पाथीभराका ३५ वर्षीय सुरज दर्जी पनि काम गर्छन्। उनी सुरूदेखिकै श्रमिक हुन्। उनी श्रीमती र दुई छोराका साथ घोराहीमा भडामा बस्छन्। एक छोरा ९ कक्षामा र अर्का ७ कक्षामा निजी स्कुलमा पढ्छन्।
सुरज भन्छन्, 'हातमा सीप भए जीवन निर्वाह गर्न सजिलो हुँदो रहेछ। मसँग काठको सीप नभएको भए सहरमा परिवारको पालनपोषण गर्न सक्ने थिइनँ।'
घोराहीकै २३ वर्षीय सुशील घर्तीले पनि प्रमोदको उद्योगमा काम गरेको पाँच वर्ष भयो। उनी मासिक ३० हजार रूपैयाँ पाउँछन्। उनी पनि आफूले सिकेको सीपबाट सन्तुष्ट छन्।
प्रमोद अब युवापुस्तालाई काष्ठकलामा ल्याउन चाहन्छन्। उनले युवाका लागि तालिम पनि सुरू गरेका छन्।
दाङ जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा युवाका लागि तीनपटक तालिम चलाइसकेका छन्।
भन्छन्, 'म आफ्नो उद्योगलाई युवापुस्ताले काष्ठकला सिक्ने थलो बनाउन चाहन्छु। उनीहरूलाई काष्ठकलाको महत्त्व बुझाउन चाहन्छु।'