वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।
आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शत प्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए।
‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो।’
गत आवको ६ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो।
कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेबापत १७ करोड ६६ लाख ६३ हजार राजस्व संमलन गरेको थियो।
गत आवको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन्।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो।
त्यसैगरी, गत आर्थिक वर्षको ६ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लाख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि ६.४५ प्रतिशतले बढेको छ।