दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डिएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ।
नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो ग्रुप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो।
यसको प्रमुख उद्देश्य भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्स क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो।
१५ महिने घुम्ती कार्यक्रमका रूपमा चल्ने यो प्रोग्राम सन् २०२५ को जुलाईदेखि सुरू हुने जानकारी दिइएको छ।
कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन्।
वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उनीहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।
डिएफएलपी २०२५ हालै १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ।
उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ।
आवेदन वैशाख ८ गतेदेखि १४ दिनसम्म खुला रहनेछ।
इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन्।
विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरूबाट योग्य युवाहरूको छनोट गर्नेछ।
उनीहरूलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सिप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ।
डिएफएलपले दराजको दक्षिण एसियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ।
यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवर्द्धन र डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बनाउने लक्ष्य लिएको छ।