अरूले उत्पादन गरेको वस्तुमा सुपर मार्केटहरूले लेबल लगाउन नपाइने भएको छ।
आइतबार एक सूचना जारी गर्दै विभागले यस्तो निर्देशन दिएको हो।
'कम्पनीले उत्पादन गरेका वस्तुहरूमा मात्र कम्पनीबाट लेबल लगाउने तर अन्य आयातकर्ताबाट आयात भई आएका वस्तुहरूमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको छ,' विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ मा गरिएको व्यवस्थालाई कार्यान्वयन गराउन उक्त निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता जगदिश अर्यालले जानकारी दिए।
मार्टहरूले आफैँ लेबल लगाएर बेच्ने गरेको उपभोक्ताबाट गुनासो आयो,' उनले भने, 'त्यसपछि हामीले मार्टका प्रतिनिधिसँग भेटेर निर्देशन दिएका हौं।'
विभागले गत शुक्रबार भाटभटेनी सुपरमार्केट र विगमार्टका प्रनिधिसँग छलफल गरेको थियो। त्यस्तै, आइतबार के.के मार्टको प्रतिनिधिसँग पनि छलफल गरेर निर्देशन दिएको उनले जानकारी दिए।
'उनीहरूले आफूले उत्पादन गरेको सामानमा मात्रै लेबल गराउने र लेबल नलगाएको सामान आयात नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,' उनले भने।
यो निर्देशनले उपभोक्तालाई कुनै हानी नगर्ने उनको भनाइ छ।
'हामीले नयाँ व्यवस्था केही गरेका होइनौं, ऐनमै भएको व्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन दिएका हौं,' उनले भने, 'मार्टले चाहे उपभोक्तालाई एमआरपीमा ९९ प्रतिशत छुट दिएर पनि बेच्न पाउँछ।'
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था छ।