एउटा वस्तुको नाममा अर्को ल्याउने वा एउटा चिज भनेर अरू सामान मिसाएर ल्याउने परिपाटी बढेको आशंकामा भन्सारमा कडाइ गर्न थालिएको छ।
भन्सारमा आउने मालवस्तुलाई हालसम्म जोखिमका आधारमा तीन वर्गमा विभाजन गरेर परीक्षण गरिँदै आइएको छ। मालवस्तुलाई यही विभाजन अनुसार तीन 'लेन' बाट अगाडि बढाइने गरिएको छ।
भन्सार महसुल बुझाएको वा नबुझाएको मात्र हेरे पुग्नेलाई हरियो च्यानलबाट अगाडि पठाइन्छ भने कागजात हेर्नपर्नेलाई पहेँलो र भौतिक परीक्षण नै गर्नुपर्नेलाई रातो च्यानलबाट अगाडि बढाइँदै आइएको छ।
अब भने निश्चित मापदण्ड बनाएर मालवस्तुको परीक्षण गरिने भन्सारका सूचना अधिकारी तथा निर्देशक पुण्यविक्रम खड्काले बताए।
'पछिल्लो समय एउटा वस्तुको नाममा अर्को वस्तु मिसाएर समेत ल्याएको पाइयो। त्यसैले मापदण्ड नै बनाएर मालवस्तुको परीक्षण गर्न लागिएको हो,' उनले भने।
खड्काका अनुसार विभागमा रहेको जोखिम व्यवस्थापन समितिले यस्तो मापदण्ड बनाएको छ। मालवस्तु ल्याउने व्यवसायीको पृष्ठभूमि, यसअघि भन्सारमा कारबाहीमा परे/नपरेको, आयात गर्ने वस्तु परिवर्तन गरे/नगरेको लगायतका आधारमा मापदण्ड बनाइएको छ। भन्सार कार्यालयहरूले पठाएको सिफारिसलाई पनि आधार लिने गरिएको छ।
'भन्सारबाट भित्रिने सबै वस्तुको यस्तो परीक्षण सम्भव हुँदैन,' खड्काले भने, 'त्यसैका लागि यो मापदण्ड आवश्यक देखिएको हो।'
केही समयअघि पर्सामा रहेको सुख्खा बन्दरगाहमा चामल भनेर चिनी मिसाएर ल्याएको भेटिएपछि पनि परीक्षण कडा पार्न थालिएको हो। कतिपय औद्योगिक कच्चा पदार्थ ल्याउने नाममा अन्य वस्तु मिसाएर ल्याउने गरेको पनि पाइएको छ। यसरी चोरीपैठारी र मिसावटबाट सामान ल्याउने प्रवृत्तिले सरकारको राजस्व लक्ष्यमा प्रभाव परेको छ।
सरकारले चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्ममा) भन्सारबाट दुई खर्ब ५७ अर्ब रूपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य लिएकोमा ६१ प्रतिशत मात्रै सफल भएको छ। यो अवधिमा एक खर्ब ५७ अर्ब मात्रै भन्सार राजस्व उठेको छ। यो गत वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले कम उठेको हो। गत आर्थिक वर्षको यही अवधिमा दुई खर्ब २८ अर्ब रूपैयाँ भन्सार राजस्व उठेको थियो।
राजस्व संकलनको तुलनामा सरकारको खर्च बढ्दै जाँदा सरकार सञ्चालनमा दबाब परेको छ। यही कारण हालै बनेको सरकारका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेले आफू मातहतका कर्मचारीलाई कडाइका साथ भन्सार परीक्षणका लागि निर्देशन दिएका छन्।
मंसिरसम्म समातियो ५० करोडका सामान
यो आर्थिक वर्ष, साउनदेखि मंसिरसम्ममा विभिन्न भन्सार कार्यालयहरूबाट ५० करोड ३० लाख ४५ हजार रूपैयाँ बराबरको सामान समातिको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा तीन हजार ६ सय ९५ संख्यामा यस्तो चोरी पैठारी पक्राउ परेको हो।
नेपाल प्रहरीले एक हजार ८०, सशस्त्र प्रहरीले दुई हजार एक सय ९८ र भन्सार कर्मचारीको गस्तीबाट चार सय ११ र बाँकी चोरी पैठारी अन्य निकायबाट समातिएको हो।
विभागको तथ्यांकअनुसार मंसिरसम्म (गत वर्षदेखि सरेर आएकोसमेत) कुल पाँच हजार दुई सय ७० वटा चोरीपैठारीका मुद्दा छन्। यसमध्ये मंसिरसम्म यसरी समातिएका दुई हजार तीन सय ४६ वटा वस्तु लिलामीमा गएका छन्। ती सबैको लिलामी मूल्य १५ करोड ३३ लाख रूपैयाँ छ।