नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देश विकासका लागि नवीन सोचको सम्मान गर्नुपर्ने र त्यसअनुसार अनुकूल वातावरण तयार गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसले आयोजना गरेको एसएमई समिटमा बोल्दै उनले विश्व अहिले नवप्रवर्तनमुखी सोचतर्फ अघि बढिरहेको भन्दै नेपालको आर्थिक उन्नतिका लागि उद्यमशीलता प्रवर्द्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रवर्तनमुखी कार्यक्रम केन्द्रित हुनुपर्ने बताए।
नेपालमा सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै उनले 'यहाँ सम्भावना छैन' भन्ने धारणा परिवर्तन गर्नुपर्ने बताए। सरकार नीतिगत सुधारका लागि अग्रसर भए निजी क्षेत्र लगानी गर्न तयार रहेको भन्दै उनले अहिले अनुकूल वातावरण निर्माण हुँदै गएको पनि बताए।
नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूका लागि उद्यमशीलता विकास गर्न सरकार र निजी क्षेत्र मिलेर वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
उद्योग वाणिज्य महासंघले व्यवसाय प्रवर्द्धनका लागि स्टार्टअप एन्ड इनोभेसन समिति÷फोरमहरू गठन गरिसकेको र तिनै मार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।
'पहिले काम गर्छु भन्दा लगानीको समस्या थियो। अहिले बैंक, वित्तीय संस्था, भेन्चर कम्पनी तथा व्यक्तिगत रूपमा पनि लगानी गर्ने संस्थाहरू छन्। काम गर्न चाहनेका लागि पुँजीको अभाव हुँदैन। अहिले उद्यमशीलता र नवप्रवर्तनका लागि राम्रो अवसर छ। यसको सही उपयोग गर्नुपर्छ,' उनले भने।
उनले देश विकासका लागि विदेशी लगानी आवश्यक भए पनि आन्तरिक पुँजी परिचालनबाटै पनि धेरै काम गर्न सकिने बताए।
'हामीले धेरै गर्नुपर्ने छ। देश विकासका लागि विदेशी पुँजी पनि चाहिन्छ। तर, आन्तरिक पुँजी परिचालनबाट पनि पूर्वाधार विकास तथा अन्य काम गर्न सक्छौं,' उनले भने।
महासंघले यही सोचका आधारमा १० अर्ब पुँजीको सार्वजनिक लिमिटेड कम्पनी स्थापना गरेको र त्यसबाट विकास निर्माणका कामहरू सुरू गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
उद्यमशीलता विकासका लागि उच्च मनोवल आवश्यक रहेको भन्दै उनले नीतिगत सुधारको खाँचो औंल्याए।
'महासंघले नीतिगत सुधारका लागि सरकारसँग निरन्तर पैरवी गरिरहेको छ। त्यसकै परिणामस्वरूप कतिपय कानुन संशोधन तथा परिमार्जन भएका छन्। यो सकारात्मक पक्ष हो, हामीले स्वागत गरेका छौं। तर, यो पर्याप्त छैन। ती कानुन कार्यान्वयनका लागि सोहीअनुसार नियमावली र कार्यविधि आउनुपर्छ,' उनले भने।