इजरायलले 'केयरगिभर'मा नेपाली श्रमिकहरूको कोटा बढाएको विषयमा इमेलका कारण त्रुटि भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। यसअघि वैदेशिक रोजगार विभागले इजरायलले केयरगिभरमा पाँच सय कोटा बढाएको जनाएको थियो।
पहिलो चरणमा पाँच सय कामदार लैजाने गरी 'इम्प्लिमेन्टेसन प्रोटोकल'मा हस्ताक्षर भएको भए पनि कोटा बढाएर पहिलो चरणमा एक हजार नेपाली केयरगिभरमा लैजाने विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले सेतोपाटीलाई जानकारी दिएका थिए।
इजरायलबाट अर्कै देशलाई पठाएको इमेल गल्तीवस् नेपाललाई आउँदा सूचना गलत गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले बताए।
‘थप पाँच सय श्रमिकहरू केयरगिभरमा लैजाने भनेर इजरायलबाट इमेल प्राप्त भएको हो। एउटा इमेल मन्त्रालय र अर्को इमेल विभागलाई थियो। तर त्यो अर्कै देशलाई पठाएको इमेल रहेछ। त्रुटीका कारण नेपाललाई परेको रहेछ। पछि बुझ्दा थाहा भयो,’ मन्त्री चौधरीले सेतोपाटीसँग भने।
इजरायलबाट पनि गतल मेलको खण्डन गर्दै अर्को इमेल प्राप्त भएको मन्त्रालयले जनाएको छ। विभागका महानिर्देशक कुमार दाहालले पनि थप पाँच सय श्रमिक इजरायल लैजाने भन्दै विभागलाई मेल प्राप्त भएको बताए।
'मेल प्राप्त भएको हो। सोहीअनुसार हामीले सूचना दिएका हौं। तर त्यो मेल त्रुटिपूर्ण रूपमा प्राप्त भएको भन्ने जानकारी पछि मन्त्रालयबाट प्राप्त भएको छ,' महानिर्देशक दाहालले भने।