ग्वार्को ओभरपासको डिजाइनमा त्रुटि भएपछि मुख्य निर्माणको काम रोकिएको छ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ठेकेदारलाई ओभरहेड ब्रिज राख्न स्लोप (भिरालो) पारेर उचाई बनाउने ठाउँमा पुर्ने माटोले सम्पूर्ण भार धान्छ की धान्दैन भनेर सोधेको प्रश्नमा ठेकेदारले स्पष्ट जवाफ नदिएपछि मुख्य काम रोकिएको हो।
केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनका अनुसार ओभरहेड ब्रिज राख्नका लागि १० मिटर उचाई बनाएर स्लोप राखिन्छ। यही स्लोपबाट गाडीहरू गुडेर ब्रिजसम्म जान्छन्। गाडी गुड्दा स्लोपको ग्राउन्डले कतिसम्म भार कसरी धान्छ भन्ने स्पष्ट जवाफ केन्द्रले माग गरेको हो।
चित्तबुझ्दो जवाफ आएपछि मात्रै निर्माण सुरू गरिने सिडिई महर्जनको भनाइ छ।
त्यस्तै ठेकेदार कम्पनीले सुरूमा पेश गरेको डिजाइनमा सामान्य हेरफेर पनि गर्नुपर्ने भएका कारण मुख्य निर्माण सुरू गर्न ढिलाई भएको उनले बताए।
'ठेकेदारले डिजाइनमा हेरफेर गर्नुपर्ने महशुस गरेर यसको पुनरमूल्यांकनका लागि हामीसँग अनुरोध गरेको अवस्था हो,' उनले भने।
सुरूको सैद्धान्तिक डिजाइनअनुसार निर्माण सुरू गर्दा व्यवहारिक कठिनाई देखिएपछि ठेकेदार कम्पनीले डिजाइन परिवर्तन गर्नुपर्ने बताएको हो।
'नयाँ प्रविधि पाइल र एमएसीमा केही अप्ठ्यारो देखिएको हो,' उनले भने।
यहाँको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन(जग) जमिनमुनी ३४ मिटर गाड्नुपर्ने थियो। ३४ मिटर तल गाड्नलाई जमिनमुनी केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्छ।
यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले ठेकेदारले डिजाइन रिभ्यु गर्न आग्रह गरेको सिडिई महर्जनको भनाइ छ।
'डिजाइन गर्नुअघि आवश्यक उपकरणबारे ख्याल नपुर्याउनु ठेकेदारको पनि कमजोरी देखियो। इपिसी मोडल भएकाले हामीले पनि ठेकेदारको जिम्मामा छाडिदियौं, काम गर्ने क्रममा समस्या आयो,' उनले सेतोपाटीसँग भने।
अब गहिराइलाई आवश्यकताअनुसार घटाउने हिसाबले डिजाइन रिभ्यु गरिने उनले बताए।
यो आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको ठेक्का हो। इपिसी मोडल भनेको ठेकेदार आफैंले डिजाइन गर्ने उसैले निर्माण गर्ने हो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ।
इपिसी मोडल भएका कारण विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुने महर्जनले बताए।
उनका अनुसार अहिले पनि यो आयोजनाको काम ठप्पै भने भएको छैन। आयोजनाले स्लोपलाई दायाँबायाँ चाहिने पर्खालका लागि ढलानको प्यानलको काम गराइरहेको छ। आवश्यक अधिकांश निर्माण सामग्री पनि ल्याएर निर्माण क्षेत्रमा राखेको अवस्था छ।
'प्यानलको काम ५० प्रतिशत भएको छ। २२ सय संख्या प्यानल चाहिन्छ। ११ सय ५२ वटा प्यानलको काम गरिसक्यो।
जमिनमुनी माटो बलियो बनाउन १४ मिटर भर्टिकल ड्रेन बनाउनुपर्ने हुन्छ। त्यसका लगि आवश्यक पर्ने पाइप पनि भारतबाट मगाएर निर्माण स्थलमा झारिसकेको अवस्था छ,' उनले भने।
तर भौतिक प्रगति ठ्याक्कै यति प्रतिशत पुग्यो भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो। निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ।
तर डिजाइनमै त्रुटि भएर निर्माण रोकिँदा तोकिएको अवधिमा आयोजना सकिने अवस्था देखिँदैन।
'ठेक्का अनुसार फागुनमा सकाउनु पर्ने हुन्छ। नसकिए कारबाही प्रकृयामा जान्छ,' उनी भन्छन्, 'फाइन डिजाइन हप्ता, दश दिनमा सक्ने हो भने अबको ७ देखि ८ महिनामा त निर्माण सकिने अवस्था छ।'
यो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास सरकारको छ।
ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो।