नेपालमा हाल कुल दुई हजार ७९४ मेगावाट बिजुली उत्पादन हुन थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था 'इप्पान' ले जनाएको छ। यो भनेको नेपालको कुल विद्युत उत्पादन क्षमताको ३.८५ प्रतिशत मात्रै हो।
इप्पानका अनुसार नेपालको कुल विद्युत उत्पादन क्षमता ७२ हजार ५४४ मेगावाट छ। यसमा हाल चार हजार ४५२ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। १२०० मेगावाट विद्युत खरिद बिक्री सम्झौता (पिपिए) का लागि आवेदन छ। सर्वे लाइसेन्सका लािग पनि १२०० मेगावाटको आवेदन छ।
नेपालमा धेरैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) छन्। यहाँ जलाशययुक्त जलविद्युत आयोजनाको ठूलो सम्भावना छ। तर यस्ता आयोजना बन्न नसक्दा वर्खामा बिजुली खेर जाने र हिउँदमा अपुग हुने समस्या छँदैछ।
इप्पानका कार्यकारी सदस्य कुवेर नेपालले अहिलेसम्मको अवस्था हेर्दा हामी परम्परागत बायोमास ऊर्जामा नै धेरै निर्भर रहेको बताए। उनका अनुसार आयातीत ऊर्जामा पनि ठूलो निर्भर छ।
आर्थिक वर्ष २०७५/०७६ मा ६८.३० प्रतिशत बायोमास (घाँस, दाउरा तथा गुइँठा) जस्ता परम्परागत ऊर्जामा निर्भर थियो। उक्त वर्ष आयातीत ऊर्जा ५.०४ प्रतिशत र २७.५० प्रतिशत नवीकरणीय ऊर्जा प्रयोग भइरहेको थियो।
आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार पनि परम्परागत बायोमास ऊर्जाको प्रयोगमा त्यति धेरै कमी आउन सकेको देखिँदैन। उक्त वर्ष यस्तो ऊर्जा प्रयोग ६४.१७ देखिन्छ। आयातीत ७.४८ र नवीकरणयी ऊर्जा २८.३५ प्रतिशतले प्रयोग गरेको देखिन्छ।
एक तथ्यांकले नेपालमा खाना पकाउन, बत्ती बाल्न लगायत विभिन्न घरायसी कामका लागि ६० प्रतिशत बिजुली खर्च हुने गरेको देखिएको हो।
इप्पानको एक प्रतिवेदनअनुसार २२.१७ प्रतिशत बिजुली औद्योगिक क्षेत्रमा, १०.४९ प्रतिशत यातायात र ४.७९ प्रतिशत व्यावसायिक कामका लागि खर्च हुन्छ। निर्माण क्षेत्रमा १.०२ र अन्य क्षेत्रमा ०.९४ प्रतिशत खर्च हुन्छ।
उत्तारचढावका बाबजुद जलविद्युत क्षेत्रमा लगानी आकर्षण बढिरहेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। त्यस्तै भारतसँगै बंगलादेशमा पनि बिजुली निर्यातको विषय अघि बढेपछि यसले उत्साह थपेको उनी बताउँछन्।
'अबको दस वर्षमा भारत र बंगलादेश र चीनमा गरी कुल ३० हजार मेगावाट बिजुली निर्यात गर्न सकिन्छ कि भन्ने आकलन छ,' उनले भने, 'हामी ऊर्जा दशक घोषणा गरेर अघि बढ्नुपर्छ भनिरहेका छौं।'
अहिले नेपालले पटक पटक गरेर भारतीय बजारमा ४५२ मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ। थप बिजुली लैजान भने आनाकानी गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पछिल्लो भारत भ्रमण क्रममा भारतले नेपालबाट दस वर्षमा १० हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत व्यापार सम्बन्धी प्रारम्भिक सम्झौता भएको उद्घोष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। यो सम्झौताले अन्तिम रूप पाउन सकेको छैन।
पाँच वर्षमा थप २०० मेगावाट बिजुली भारत बिक्री गर्ने गरी मध्यकालीन विद्युत व्यापार सम्झौता पनि भइसकेको छ। तर भारतले स्वीकृति दिएको छैन। अन्य आयोजनाहरूको बिजुली बिक्री गर्न नेपालले प्रस्ताव गरे पनि भारतले स्वीकार गरेको छैन।
नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरू गरेको हो। हाल दैनिक करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको छ। नेपालले आर्थिक वर्ष २०७९/८० मा भारतलाई दस अर्ब ४५ करोड रूपैयाँको बिजुली बिक्री गरेको छ। उक्त वर्ष १९ अर्ब ४४ करोड रूपैयाँको बिजुली किनेको छ।
पछिल्लो समय नेपालले बंगलादेशमा पनि बिजुली बिक्री गर्ने तयारी गरिरहेको छ। चीनसँग पनि व्यापार अघि बढाउने कुरा उठिरहेको छ।
प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बरको अन्तिम साता चीन भ्रमणमा जाँदैछन्। त्यस क्रममा चीनसँग पनि विद्युत व्यापारको विषयमा जोड दिने गरी एजेन्डा तय गरिएको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमै पनि चीन भ्रमणमा रूपान्तरकारी जलविद्युत लगायत परियोजना अघि बढाउन चीनसँग सहकार्यका लागि आग्रह गर्ने बताउँदै आएका छन्।