नेपाल आयल निगमले करिब १२ अर्ब रूपैयाँ खर्च गरेर तीन ठाउँमा नयाँ डिपो बनाउने तयारी गरेको छ।
काठमाडौंको सिनामंगल, भैरहवा र धनगढी डिपो सार्नुपर्ने भएकाले नयाँ बनाउन लागिएको हो। सिनामंगल र भैरहवा डिपो सार्न जग्गा व्यवस्था भइसकेको छ। धनगढीमा भने जग्गा प्राप्तिको काम अघि बढिरहेको छ, तर टुंगो लागेको छैन।
निगमका उपनिर्देशक प्रदीप यादवका अनुसार सिनामंगल डिपो गुह्येश्वरीमा सारिनेछ। त्यहाँ नागरिक उड्डयन प्राधिकरणको ५० रोपनी जग्गामा नयाँ डिपो बन्नेछ। भैरहवाको भलवारी डिपो ओमसतिया गाउँपालिका-५ र रोहिणी गाउँपालिका-३ मा रहेको २३ बिघा जग्गामा सारिनेछ। यहाँ निगम आफैले जग्गा किनेको छ।
धनगढी डिपो भने कञ्चनपुरको पुनर्वास नगरपालिकामा सार्न खोजिएको छ। त्यहाँ राष्ट्रिय आवास कम्पनीको जग्गामा नयाँ डिपो बनाउने तयारी भए पनि टुंगो लागिसकेको छैन।
निगमले तीनवटा डिपोको अनुमानित खर्च पनि निकालेको छ। गुह्येश्वरी डिपो बनाउन ६ अर्ब, भैरहवा डिपो ३ अर्ब २० करोड र धनगढी डिपोलाई साढे २ अर्ब गरी करिब १२ अर्ब रूपैयाँ लाग्ने यादवले जानकारी दिए।
उनका अनुसार यो खर्च निगम आफैले बेहोर्नेछ।
निगमले गुह्येश्वरीमा अत्याधुनिक प्रविधिसहितको डिपोका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्न इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग सम्झौता गरिसकेको छ। भैरहवा डिपोको डिपिआर गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको छ।
अब प्रश्न उठ्छ — निगमलाई १२ अर्ब रूपैयाँ खर्च गरेर तीन ठाउँमा नयाँ डिपो बनाउने आवश्यकता किन पर्यो?
हामीले यो प्रश्न निगमका उपनिर्देशक यादवलाई सोध्दा उनले सिनामंगल, भैरहवा र धनगढीका डिपो अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएकाले नयाँ ठाउँमा सार्न लागेको बताए।
यी डिपो ३५ देखि ४० वर्ष पुराना हुन्। यहाँ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार डिपो स्तरोन्नति गर्न अहिलेको ठाउँ साँघुरो हुन्छ। अन्य ठाउँको डिपो भने सुरक्षा मापदण्डभित्रै पर्ने उनको भनाइ छ।
डिपो वरिपरि ११ फिटको आरसिसी पर्खाल लगाउनुपर्ने आइकाओको नियम छ। त्यस्तै, ट्यांकरका लागि यथेष्ट पार्किङ सुविधा, अग्नि नियन्त्रण प्रणाली, इन्धन भण्डारण क्षमताको ३३ प्रतिशत पानी व्यवस्था, हाइड्रो-कार्बन डिटेक्सन प्रणाली, इमर्जेन्सी सटडाउन सिस्टम (इएसडी) लगायत स्मार्ट प्रविधि हुनुपर्छ।
'सिनामंगल, भैरहवा र धनगढीमा ठाउँ साँघुरो भएकाले नयाँ संरचना थप्न सकेका छैनौं। मेसिनले गर्नुपर्ने कामहरू हातैले गर्नुपरेको छ,' यादवले भने, ‘इन्धन लोड-अनलोड गर्दा हातले छुन हुँदैन भन्ने मापदण्ड छ। तर डिपो स्तरोन्नति नभएकाले हातले छुनुको विकल्प छैन।'
प्राधिकरणले डिपो सार्न धेरै अघिदेखि ताकेता गरे पनि निगमले आलटाल गर्दै आएको थियो।
यसबीच विमानस्थलको हवाई यातायात क्षमता वृद्धि गर्न नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउने काम सुरू गर्यो। विमानस्थलको मुख्य धावनमार्गसम्म जहाज पुग्न प्रयोग गरिने समानान्तर मार्ग विस्तार गर्न लागिएको छ। यसका लागि सिनामंगल डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने भएकाले निगमले नयाँ ठाउँमा सार्न लागेको हो।
'भैरहवा र धनगढी डिपो भने बस्ती बीचमा भएकाले सार्न खोजेका हौं,' यादवले भने।
गत साउनमा काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएपछि निगम डिपो सार्न तातेको हो। गत साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकले एक वर्षभित्र हवाई इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निगमलाई निर्देशन दिएको थियो।