ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन्।
नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ। आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ।
मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरे।
मन्त्री घिसिङले सडक स्तरोन्नतिको काम सुरु भएको तर जुन गतिमा हुन पर्ने हो त्यसअनुसार काम हुन नसकेको देखिएको बताए।
हिउँद सुरू भएसँगै कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको उल्लेख गर्दै मन्त्री घिसिङले जनशक्ति थप गरी कामको गति बढाउन आग्रह गरे।
सडकको दायाँबायाँ रहेको विद्युतका पोल सार्न केही समस्या देखिएता पनि समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी निर्माण प्रभावित हुन नदिने उनले बताए।
सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। काँकडभिट्टादेखि झापाको केरखा सितापुरीसम्म ४५ किलोमिटर खण्डको निर्माण प्रगति २९ प्रतिशत छ।
यो खण्ड निर्माणका लागि कात्तिक २०८० मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० कलिोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ।
आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुललगायतका सडक संरचना निर्माण हुनेछन्।