दसैँको अग्रिम बस टिकट लिन भनेर अघिल्लो रात १० बजे नै आकृति पोखरेल बसपार्क आइन्। टिकट काउन्टर भने बिहान साढे ९ बजेबाट मात्र खुल्यो। कुलेश्वरमा बस्दै आएकी उनको घर अर्घाखाँची हो।
‘भोलि भीड हुन्छ भनेर हिजो राति १० बजे देखि नै आएर लाइन बसेको, धेरै दुःख पाइयो’ उनले भनिन् ‘लाइन बस्न कहिले यता जा कहिले उता जा भन्छ।’
बिहान ६ बजे टिकट दिने भनिए पनि त्यस पछि ७, ८ गरी समय सार्दै लगिएको उनले गुनासो गरिन्। ‘आज पनि पाइँदैन की जस्तो लागेको थियो’ अघिल्लो दिन आएर पनि टिकट नखुलेपछि रित्तै हात फर्केकी उनले दुखेसो पोखिन्।
टिकट लिन मध्यरात देखि नै सर्वसाधारणले मिलेर टोकन सिस्टमको व्यवस्था गरेका थिए। ‘हिजोको दुःखलाई बिर्सिएको छु, सबैभन्दा पहिला नै टिकट पाएँ, धेरै खुशी छु’ उनले हातको टिकट देखाउँदै भनिन्, ‘अब चाहिँ घर जान पाइएला जस्तो छ।’
मिलन थापा पनि घर जाने टिकट पाउँदा खुसी देखिए। उनको घर गुल्मी हो। ‘हिजैदेखि आएर लाइन बसेको बल्ल टिकट पाइयो’ उनले भने।
लाइन बसेको केही बेरसम्म टिकट नपाएर छट्पटिएकी सरित बिसी पनि अहिले खुसी छिन्।
उनी बिहान ४ बजे देखिनै आफ्ना परिवारलाई घर जान टिकट लिन लाइनमा बसेको बताउँछिन्। टिकट काउन्टर खुलेपछि सहजरूपमा टिकट पाएको उनको भनाइ छ।
‘महिला र पुरूषको छुट्टा छुट्टै लाइन भएकाले टिकट लिन सहज भयो’ उनले भनिन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आजबाट दसैँको अग्रिम टिकट खोलेपछि काठमाडौँको नयाँ बसपार्कमा मध्यरातदेखि नै घुइँचो लागेको हो।
हिजो सम्म बसपार्कमा टिकट खुल्यो की भनेर आउँदै जाँदै गरेका सर्वसाधारण आज खुसीका साथ टिकट काटेर फर्किएका छन्। नयाँ बसपार्क यातायात समितिका कर्मचारी अर्जुन ढुङ्गेलले टिकट लिन महिला र पुरूषको छुट्टा छुट्टै लाइन राखेर व्यवस्थित गरिएको बताए।
उनका अनुसार जेष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त भएका व्यक्तिले लाइन बस्न नपर्ने व्यवस्था गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सुरूमा केही कठिनाई भए पनि अहिले व्यवस्थित तरिकाले टिकट दिएको बताए।
‘सरकारले बैङ्कको खाता रोक्का गरेको र बीमाको स्पष्ट नीति नभएका कारण यातायात व्यवसायीले सवारीमा लगानी गर्न अन्यौलता छाएकाले यसपटक अत्यन्त चुनौती छ’ उनले भने। यही चुनौतिले गर्दा यस पटक नयाँ बस नथपिएको उनले बताए।
‘पहिलेका वर्षहरूमा नयाँ सवारी साधन पनि संचालन हुन्थे, तर यस पटक पुरानै गाडी संचालन हुन्छ’ उनले भने। सिटौलाका अनुसार देशका सातै प्रदेश र १४ ओटै अञ्चलमा टिकट खुलाउन पत्राचार गरिएको छ। साथै महासङ्घले पेट्रोलियम पदार्थको अभाब हुन नदिन उद्योग मन्त्रीलाई पत्राचार गरेको उनले बताए।
भिडभाडमा टिकट काट्दा भुल हुन सक्ने भएकाले यात्रुले टिकट लिँदा मिति, सिट सङ्ख्या, समय हेरेर मात्र टिकट लिन उनले आग्रह गरे।
उनले तोकिएको भन्दा बढी भाडा कुनै पनि संघ वा कम्पनीले लिएमा कारबाही हुने बताए। ५ गते काटिएका टिकटमा वृद्धि भएको भाडा बढाउन नपाउने उनले जानकारी दिए।
अरनिको बाट जिरी मन्थली, रामेछाप, ओखलढुङ्गा जाने टिकट बुधबार बिहान ६ बजेबाट पुरानो बसपार्क, कोटेश्वर र चाबहिल गरी ३ ठाउँबाट अग्रिम बुकिङ खुल्ने सिटौलाले जानकारी दिए।
माथिल्ला उच्च तह तथा आफन्तजनले ‘सोर्स फोर्स’का भरमा टिकट नपाउने उनले दावी गरे। पश्चिम यातायातको भने टिकट खुलेको छैन।