सरकारले आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाएको पाउडर दूध अझै नेपाल भित्रने गरेको तथ्य फेला परेको छ।
नेपाली सेनाले लोकल प्याकेजिङ गरिएको विदेशी पाउडर दूध भेटेपछि प्रतिबन्धित पाउडर दूध अझै नेपालमा भित्रने गरेको तथ्य फेला परेको हो।
सेनाले जाँचका लागि पठाएको लोकल प्याकेजिङ गरिएको दुई प्याकेट दूध विदेशी पाउडर नै रहेको जाँचको क्रममा पुष्टि भएको डिडिसीका बजार व्यवस्थापन विभागका विभागीय प्रमुख सञ्जिव झाले जानकारी दिए।
‘माघको पहिलो सातातिर नेपाली सेनाले लोकल प्याकेजिङ गरिएको विदेशी पाउडर भेटेपछि जाँच्नका लागि हामीलाई पठाएका थिए र सो प्याकेजिङमा विदेशी पाउडर नै रहेको जाँचबाट पुष्टि भयो,’ झाले सेतोपाटीसँग भने।
भारत लगायत विभिन्न देशबाट आयात हुने गरेको पाउडर दूधमा पूर्णरूपमा प्रतिबन्ध लगाए पनि लुकिछिपी आउने गरेको कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले स्वीकार गरे।
‘धूलो दूध नेपालमा नै बन्ने भएपछि पूर्णरूपमा प्रतिबन्ध लगाउँदा पनि चोरबाटो भएर आउने गरेको छ,’ मन्त्री खनालले भने, ‘यसलाई हामी छिट्टै नियन्त्रणमा ल्याउँछौं।’
भारत लगायत विभिन्न देशबाट मिति सकिएको धूलो दूध ल्याएर सीमामा अर्को प्याकेट बनाएर नेपाल भित्र्याई यहाँ दूध बनाएर बेच्ने गरेको मन्त्री खनालको भनाइ छ।
‘यसका लागि खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले अनुमति दिने गरेको रहेछ। त्यो हामीले थाहा पाएपछि तुरून्तै अनुज्ञापत्र रोक्न निर्देशन दियौं’, मन्त्री खनालले भने।
मन्त्री खनालका अनुसार अहिले मन्त्रालयको निर्देशनमा विभागले अनुज्ञापत्रमा रोक लगाएको छ।
व्यापारीले धूलो दूध घोलेर दूध बनाएर अतिरिक्त ७ रुपैयाँ नाफा लिने गरेको मन्त्री खनालले दाबी गरे।
उनका अनुसार भारतको तुलना नेपालको दूध नौ रूपैयाँ महँगो रहेकोले दूधको मूल्य वृद्धि नगरी लागत घटाउने मन्त्रालयको योजना छ।
खुला सीमा नाका कारण अवैधरूपमा भित्रिएका खाद्यवस्तुको बजार अनुगमन गर्दै आएको खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
कृषि तथा पशुपंक्षी मन्त्रालयले स्वदेशी धूलो दूधको प्रवर्द्धन गर्न चालू आर्थिक वर्ष २०७५/०७६ को साउन महिनाबाट आयातित धूलो दूधमा प्रतिबन्ध लगाएको हो।
चितवन मिल्क लिमिटेड, सुजल मिल्क लिमिटेड र नेपाल दुग्ध संस्थान(डिडिसी)ले नेपालमा धूलो दूध उत्पादन गर्दै आएका छन्।