भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको काम सकिन अझै दुई महिना बाँकी छ। नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा ७ किलोमिटर पाइप बिच्छ्याउन बाँकी रहेकाले समय लम्बिएको मोतिहारी–आलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले बताए।
यसअघि वैशाखमै काम सक्ने भनिए पनि अब परियोजना सकिन जेठ अन्तिम लाग्नेछ।
पाइपलाइनको काम तीव्र रुपमा चलिरहेको पनि यादवले जानकारी दिए।
‘पाइपलाइनको काम गर्न मेसिनरी सामग्री लिएर करिब दुई सय इञ्जिनियर ठाउँ–ठाउँमा बसिसकेका छन्,’ उनले भने।
पाइपलाइनको काममा भारतीय लोकसभा चुनावले प्रभाव पार्ने अनुमान धेरैले गरिरहेको भए पनि यस्तो नहुने यादवको भनाइ छ।
भारतको विहारमा चैत २८ गतेदेखि जेठ ५ गतेसम्म ७ चरण गरेर चुनाव हुने भएको छ। पहिलो चरणमा चैत २८ गते (अप्रिल ११) नेपालसँग सीमा जोडिएका सबै प्रदेशमा चुनाव हुने भएको छ। चुनावलाई मध्यनजर गर्दै चैत २६ गतेदेखि नै सीमानाका बन्द हुँदै छ ।
‘भारतीय चुनावले पाइपलाइनको काम ढिलो हुन्छ कि भनेर धेरैले आकलन गरेका छन्,’ उनले भने, ‘तर नेपालको खण्डमा काम भइरहेकाले केही असर पुग्दैन।’
उनका अनुसार अब बाँकी काम भनेको पथलैयादेखि अमलेखगञ्जसम्मका रुख काटेर पाइप विछ्याउने हो। यो खण्डमा ६ हजार ९ सय ५३ वटा रूख काट्नु पर्नेछ। सो कार्य दुई महिना भित्र सकिने उनी बताउँछन्।
गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो।
अमलेखगन्ज डिपोमा पाइप लाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की छन्। ती ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन्।
ती ट्याङ्कीको मर्मतसम्भार र पाइप फेर्ने काम काम भारतीय आयल कर्पोरेशनले गर्दै आएको छ।
पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।
यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।
नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ।
मोतिहारी–रक्सौल खण्डमा भने पाइप लाइन पूरा भई परीक्षणसमेत भइसकेको छ ।