भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको काम सकिँदै गएको छ। नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब ४ किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले बताए।
भारतीय चुनावले पाइपलाइनको काममा ढिलो हुन्छ कि भनेर धेरैले आँकलन गरे पनि काममा कुनै असर नगरेको उनले बताए। ‘भारतीय चुनावले पाइपलाइनको काम ढिलो हुने शंका थियो, तर काम द्रुत गतिमा अघि बढिरहेको छ’, उनले भने, ‘अब १५ दिन जतिमा पाइपलाइनको काम सकिने छ।’
यसअघि बैशाखमै काम सक्ने भनिए पनि अब परियोजना सकिन जेठ अन्तिम लाग्नेछ। उनका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्मका ठाउँमा पाइप विछ्याउने हो। यो खण्डमा ६ हजार ९ सय ५३ वटा रूख कटान गरिसकिएको छ। रूख पन्छाएर पाइप विच्छ्याउन बाँकी छ।
पाइप विच्छ्याउने काम सकेपछि जेठ महिनामा हाइड्रो टेस्ट, पाइप सफा गर्ने लगायतका काम हुने उनले जानकारी दिए। गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो।
अमलेखगन्ज डिपोमा पाइप लाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की छन्। ती ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन्।
ती ट्याङ्कीको मर्मतसम्भार र पाइप फेर्ने काम काम भारतीय आयल कर्पोरेशनले गर्दै आएको छ। पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।
यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ। नेपालका तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।
नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन पाइपलाइनको मोतिहारीबाट कुल ६९.५ किलोमिटर लम्बाइमध्ये ३२ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ। मोतिहारी–रक्सौल खण्डमा भने पाइपलाइन पुरा भई परीक्षणसमेत भइसकेको छ ।