पछिल्लो समय सरकारले भारतीय खसी आयातमा कडाइ गर्दा मासुको मूल्य बढेको छ। बजारमा खसीको मासु प्रतिकेजी १२ सय रुपैयाँसम्म पुगेको छ।
आफूहरूले खरिद गर्ने जिउँदो खसीको मूल्य बढेपछि मासुको भाउ बढेको व्यापारीहरू बताउँछन्। व्यापारीका अनुसार जिउँदो खसीको मूल्य अहिले साढे ५ सयदेखि साढे ६ सयसम्म छ।
सरकारले २०५५ सालमा बनाएको पशु बधशाला तथा पशु जाँच ऐन कडाइका साथ कार्यान्वयनमा ल्याउँदा भारतीय खसी भित्रिन सकेका छैनन्।
ऐनको दफा १० मा बध गरिएको पशुको मासु जाँच गर्दा त्यस्तो मासुमा केही खराबी वा रोग भएको पाइएमा आंशिक वा पूर्णरूपमा विक्री वितरणको लागि निषेध गर्न सक्ने व्यवस्था छ। सो व्यवस्थालाई कडाइका साथ लागू गरिएपछि भारतबाट खसीबोका तथा मासु आयात घटेको छ।
आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि चैतसम्ममा छिमेकी मुलुक भारतबाट जिउँदो खसी बोका ३ लाख १७ हजार २३१ वटा आएको छ।
त्यस्तै, सो समयमा खसीबोकाको मासु ९ हजार किलो आएको छ।
विभागको तथ्यांक हेर्दा २०७४ चैतयता नै भारत तथा अन्य मुलुकबाट तयारी मासु भित्रिएको छैन।
चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा जिउँदो खसी ३ लाख १५ हजार ७ सय २४ वटा आयात भएको छ।
सरकारले पशु क्वारेन्टाइन लगाएपछि फागुनको अन्तिमतिरबाट भारतीय खसीमा कमी आएको पशु क्वारेन्टाइन शाखा प्रमुख सम्झना कुमारी काफ्लेले बताइन्।
‘पशुको स्वास्थ्य प्रमाणपत्र भएको खण्डमा मात्र आयात अनुमति दिएको हुनाले भारतीय खसीमा कमी आएको छ’, उनले भनिन्।
उनका अनुसार भारतमा भेटनरी बिलको सिस्टम नभएका कारण दुई महिनादेखि भारतीय खसी नेपालमा आउन सकेको छैन। खसी बोकामा लाग्ने पिपिआर र खोरेत रोगको खोप लगाएको १ महिना पुगेको प्रमाणपत्र पेश गरेपछिमात्र विदेशी खसी आयात अनुमति दिइने गरेको छ।
भारतीय खसीमा कमी आउनुका साथै आन्तरिक उत्पादनलाई सहज रूपमा बजारमा ल्याउन नसक्दा पनि बजारमा खसीको मासुको मूल्य बढेको उनी बताउँछिन्।
‘अहिले व्यापारीलाई गाउँ–गाउँबाट खसी ओसार पसार गर्न पनि गाह्रो छ। संकलन गरिएका खसीबोका सहज रूपमा बजारमा आउन नसक्दा पनि मासुको मूल्य बढेको हो’, उनले भनिन्।
बालाजु मासु पसलका व्यापारी राजकुमार थापा बजारमा खसीको मूल्य बढे पनि आफूले भने एकदमै कम नाफा राखेको दाबी गर्छन्।
‘मैले बिहान जिउँदो खसी प्रतिकेजी ६ सय १० रूपैयाँका दरले ४० किलोको खसी ल्याएँ, त्यसको २४ हजार ४ सय रुपैयाँ पर्यो। ल्याउँदा लाग्ने ढुवानी खर्च, काटकुट गर्दा हामीलाई नै प्रतिकेजी ११ सय २९ रुपैयाँ पर्यो, ग्राहकलाई ११ सयले बेचेका छौं, उनले दाबी गरे।
दैनिक रूपमा खसीको मूल्य बढ्दै गएकाले पनि घाटा खाएर नै व्यापार गर्नुपरेको उनी बताउँछन्।
‘हिजो एउटा मूल्यमा खसी ल्यायो, आज अर्को मूल्य हुन्छ। ग्राहक हिजोको आजै कसरी महँगो हुन्छ भनेर कराउन थाल्छन्। एक दिन एउटा मूल्य अर्को दिन अर्को मूल्य गर्दा ग्राहक भड्किने भएकाले मूल्य बढाउन पाएका छैनौं’, उनले भने।
नेपाली बजारमा भारतीय खसी नभित्रिने हो भने नेपाली उत्पादनले मात्र माग नपुग्ने उनी बताउँछन्।
आन्तरिक उत्पादन सहज रूपमा बजारमा ल्याउन नसकेको उनको गुनासो छ।
नियम अनुसार ढुवानी गर्दा पशुलाई छतमा, डिक्कीमा कोचेर ल्याउन पाइने छैन। त्यसको कार्यान्वयन पक्ष भने एकदम फितलो भएको उनी बताउँछन्।
आफूहरूले अहिले रोल्पा, डोल्पादेखि खसी ल्याएर बेच्ने गरेको उनले बताए।
‘गाउँ/गाउँबाट खसी खोजेर ल्याउँदा नियम अनुसार भएन भनेर पुलिसले दुःख दिने गरेको छ, सिधै पैसा माग्छन्’ उनले गुनासो गरे ‘नियम नै नपुगेको हो भने समातेरै राखुन् किन घूस माग्नु?।’