भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने परियोजना निर्धारित समयभन्दा ८ महिना अगावै सकिएको छ।
सन् २०१८ डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा शिलान्यास गरेपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको परियोजना सन् २०२० मा सम्पन्न गर्ने समझदारी भएको थियो। निर्धारण गरिएको समय अवधिभन्दा ८ महिनाअगाडि नै परियोजना सम्पन्न भएको निगमले जानकारी दिएको छ।
निगमका अनुसार मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको सम्झौता ५/५ वर्षमा नवीकरण हुने छ। यस अवधिमा आवश्यकता अनुसार तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न सकिने छ।
गत शुक्रबार बिहान करिब ६ बजेतिर अमेलगञ्जमा पाइपलाइनमार्फत डिजल आइपुग्यो। अब भारतमा एक क्लिक गरेपछि डिजल आउने अवस्था रहेको अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादबले जानकारी दिए।
हालै परीक्षणका लागि बरौनीबाट पटना र पटनाबाट मोतीहारी हुँदै अमलेखगन्जमा डिजल ल्याइएको थियो। परीक्षणको रूपमा डिजल आएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सचिव केदारबहादुर अधिकारी, आयल निगमका अधिकारीहरू र भारतीय राजदूत मन्जिवसिंह पुरीसहितको टोली गत मङ्गलबार पाइपलाइनको अवलोकन गर्न पुगेको थियो।
समयभन्दा अगावै सकिएको यो आयोजना नेपालको इतिहासमा नै पहिलो भएको मन्त्री यादबले दावी गरे। यसले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मुल नारालाई सघाउ पुग्ने मन्त्री यादबको भनाइ छ।
भारतीय राजदूत मन्जिवसिंह पुरीले अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट नेपालको आर्थिक समृद्धि हुने बताए। ‘पाइप लाइन निर्माणले अमलेखगन्ज आर्थिक क्षेत्र नै बन्नेछ,’ उनले भने, ‘आर्थिक क्षेत्रले समृृद्ध नेपाल बनाउने छ।’
पाइपलाइनबाट लागत खर्च बचत हुनुका साथै चोरीको जोखिम घट्ने क्षेत्रीय प्रमुख यादब बताउँछन्। उनका अनुसार पाइपलाइन मार्फत डिजल ल्याउँदा निगमको वार्षिक दुई अर्ब बचत हुने छ।
‘ट्यांकरबाट ढुवानी गर्दा सुरक्षा थिएन, मिसावट, चोरीको जोखिम थियो। पाइपलाइनले ती सबै समस्या समाधान हुनेछ’, प्रमुख यादबले भने।
क्षेत्रीय प्रमुख यादवका अनुसार बरौनीबाट हाल अमलेखगञ्जमा दैनिक ४ हजार किलोलिटर डिजेल आयात हुन्छ। त्यसका लागि १ सय ६० वटा ट्यांकर सञ्चालन भएका छन्। ट्यांकरबाट ढुवानी गर्दा प्रतिलिटर २ रुपैयाँ ५० पैसा खर्च हुन्छ। अब भने त्यो रकम बचत हुने उनी बताउँछन्।
उनका अनुसार मोतीहारी–अमलेखगन्ज पाइप लाइनको लम्बाइ ६८.९ किलोमिटर छ। उक्त पाइप लाइनको डायमिटर (मोटाइ) १०.७५ इञ्च छ। भित्री भाग १० इञ्च छ । उक्त पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर इन्धन आयात गर्न सकिनेछ।
यसअघि शुक्रबार पाइपलाइनबाट आएको १ हजार किलोलिटर डिजल डिपोमा हालिएको छ। २१ सय किलोलिटर पाइपमा भरेर राखिएको छ। भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गरेपछि मात्र औपचारिक रूपमा डिजेल ल्याइने छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बालुवाटारबाट र मोदीले हैदराबादबाट स्विच थिचेर उद्घाटन गर्ने आन्तरिक तयारी भइरहेको छ।
अमलेखगन्जका ट्याङ्कर अन्य डिपोमा व्यवस्थापन गर्ने निगमले जानकारी दिएको छ। निगमका अनुसार १६० ट्याङ्करमध्ये करिब १ सय ट्याङ्कर झापा, दाङ, नेपालगन्ज, धनगढीमा पठाइनेछ।
हाल अमेलखगञ्जमा दैनिक १५ सय केएल, काठमाडौंमा १ हजार केएल, पोखरामा ४ सय केएल, वीरगञ्जमा ४ सय केएल र जनकपुरमा ४ सय केएल डिजेलको माग छ।