संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा ८ घण्टा बिताएर फर्किएका छन्।
आठ घण्टामा पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, फेवाताल, पर्यटन बोर्ड गण्डकी कार्यालय, तारा गाउँ रिसोर्टको अवलोकन गरे भने र पोखराका पर्यटन व्यवसायीसँग करिब दुई घण्टा छलफलमा जुटेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेपछि कामको प्रगती राम्रो रहेको उनले बताए।
मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका भट्टराईले विमानस्थलको भौतिक र वित्तीय प्रगतिको बारेमा बुझेपछि विमानस्थलको फिल्ड निरीक्षण गरे।
उनले सबै तहका सरकारले समन्वय गर्ने र विमानस्थलको काम रोकिन नहुनेमा उनले जोड दिए।
मन्त्री भट्टराईले पनि समय अगावै निर्माण सकेर उदाहरण हुन निर्देशन दिए। नेपालमा ठूला आयोजनाहरू काम नभएर रोकिरहँदा नेपालमा कामै हुँदैन भन्ने सन्देश गएको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताए।
उनले अहिलेका प्रगती हेर्दा ६ महिना अगाडि नै सक्ने बताउँदै समय अगाडि सकेमा रथमा चढाएर पोखरा परिक्रमा गराउन पोखरा महानगरपालिकालाई तयारी गर्ने निर्देशन दिए।
उनले ६ महिना पहिले सकिँदा नेपाल छिटो काम हुँदैन भन्ने भ्रम समेत हट्ने बताए।
आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको अहिलेसम्म ४५ प्रतिशत काम सकिएको जानकारी दिए।
धमाधम निर्माण कार्य भइरहेको र समयभन्दा ६ महिना अगाडि नै काम सम्पन्न हुने उनको दाबी छ।
अहिलेसम्म कामका करिब ७ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई दिइसकेको बताए। उनले नेपाल सरकारको तर्फबाट पनि करिब ३ अर्ब रुपैयाँको काम अन्य काम भएको बताए।
उनले अहिले रनवे सकिसेकेको, टर्मिनल भवन, टावर लगायतका निर्माणको काम धमाधम भइरहेको उल्लेख गरे।
पर्यटनमन्त्री भट्टराईले पोखरा आउने भएपछि विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरूलाई छलफलका लागि बोलाएका थिए।
स्थानीयवासीले विमानस्थल रोजगारी र विकासका काम नगरेको, मुआब्जा नपाएको, विमानस्थलकै कारण सिँचाइको समस्या भएको र पटक/पटक विस्थापित हुनुपरेको गुनासो गरेका थिए।
२१ अर्ब लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिएमसीले पाएको थियो। सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौतामा छ।