नेपाल आयल निगमले ६ ठाउँमा इन्धन भण्डार गृह निर्माण गर्ने भएको छ। पेट्रोल, डिजेल, ग्यास र हवाई लगायतका इन्धन भण्डार गृह निर्माण गर्न लागेको निगमले जानकारी दिएको छ।
निगमका अनुसार भैरहवा, पोखरा र भद्रपुरमा इन्धन भण्डार गृह निर्माण गर्न लागिएको हो।
हाल भएको इन्धन भण्डार गृहले माग धान्न नसकेपछि प्रादेसिक संरचनाअनुरूप इन्धन भण्डार गृह निर्माणका लागि निगम अघि बढेको छ।
भैरहवामा ३ सय ५० केएल क्षमताको हवाई इन्धन भण्डार गृह बनाउन टेण्डर आह्वान भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
उनका अनुसार हाल भैरहवामा ६० केएल क्षमताको हवाई इन्धन भण्डार गृह छ।
सरकारले पर्यटन वर्ष २०२० मनाउने भएपछि अन्तर्राष्ट्रिय उडानका लागि ३ सय ५० केएलको भण्डार गृह थप गर्न लागिएको हो।
यो भण्डार गृहलाई निगमले जमिनमुनि बनाउने भएको छ।
‘जमिनमुनि भण्डार गृह बनाउन थोरै समय लाग्ने भएकाले यस प्रकारको भण्डार गृह निर्माण गर्न लागेका हौं’, उनले भने, ‘यो निर्माण कार्य सुरू भएको ६ महिनामा तयार हुनेछ।’
भद्रपुरमा नेपाल आयल निगमको आफ्नै जग्गामा १ हजारदेखि १५ सय केएल क्षमताको हवाई इन्धन भण्डार गृहका लागि टेण्डर आह्वान प्रक्रियामा रहेको प्रवक्ता गोइतले जानकारी दिए।
भैरहवामा १० हजार केएल क्षमताको हवाई इन्धन भण्डार गृहका लागि समेत निगम अघि बढेको छ। यसका लागि सिभिल एभिएसनसँग ७ विघा जग्गा भाडामा लिएको छ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर अहिलेसम्मकै ठूलो हवाई इन्धन डिपो निर्माण गर्न लागिएको हो।
यसका लागि थप अध्ययन गर्न पुल्चोक इञ्जिनियरिङ विभागलाई जिम्मा दिइएको निगमले जानकारी दिएको छ।
पोखरामा पनि हवाई इन्धन डिपो निर्माण गर्ने निगमको सोच छ। २ हजारदेखि २५ सय केएल क्षमताको हवाई इन्धन डिपो बनाउन अध्ययन भइरहेको प्रवक्ता गोइतले बताए।
उनकाअनुसार निगमले पोखरामा १० हजार किलोलिटरको डिजेल भण्डार गृहका लागि टेण्डर आह्वान गरिसकेको छ।
त्यस्तै, भद्रपुरमा ५ विघा आफ्नै जग्गामा एलपिजीको बोटलिङ प्लान्ट (ग्यास भण्डारण) राख्नका लागि इओआई (परामर्श दाता) सूचना निकालिएको गोइतले जानकारी दिए।
परामर्शदाताले सम्भाव्यता अध्ययन गरेपछि उसको सल्लाहमा भण्डार गृह निमार्णको कार्य अघि बढ्ने उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल (टिआइए) सहित मुलुकभरका सात डिपोमा अहिले करिब ८५ लाख लिटर हवाई इन्धन भण्डार गर्ने क्षमता छ। टिआइएमा मात्र ७७ लाख १० हजार लिटर क्षमता छ।
काठमाडौंमा ७ हजार ७ सय १० किलोलिटर, विराटनगरमा दुई सय ८० किलोलिटर, नेपालगन्जमा दुई सय ८० किलोलिटर, भैरहवामा ६० किलोलिटर, पोखरामा ६४ किलोलिटर, सुर्खेतमा ६० किलोलिटर र धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डार क्षमता छ।
हवाई इन्धन डिपो भद्रपुर, झापा, विराटनगरमा छ भने आपूर्ति बिन्दु सिलगुडीमा रहेको छ। यसैगरी, काठमाडौंको हवाई इन्धन डिपो सिनामंगलमा छ भने यसको आपूर्ति बिन्दु भारतको रक्सौलमा छ।
भलवारी पोखरा हवाई इन्धन आपूर्ति बिन्दु रक्सौलमा छ भने नेपालगन्ज सुर्खेत र धनगढीे डिपोको आपूर्ति केन्द्र भारतको इलाहावादमा रहेको छ।
निगमसँग भएको हवाई इन्धन भण्डार क्षमता सबैभन्दा बढी काठमाडौंको सिनामंगलमा छ भने सबैभन्दा कम क्षमता रामेछापको मन्थलीमा रहेको छ।
हाल निगमसँग भएको डिजेल तथा पेट्रोलले ७ दिनको माग धान्न सक्छ।
यसको भण्डार गृह काठमाडौंलगायत विराटनगर, जनकपुर, अमलेखगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत, थानकोट, धनगढी र दिपायलमा रहेको निगम जानकारी दिएको छ।