आगामी वैशाखबाट नेपालमा युरो ६ मापदण्डको इन्धन आउने भएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालमा पनि त्यही प्रकारको इन्धन आउन लागेको आयल निगमले जानकारी दिएको छ।
नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याउँछ।
निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको छ।
वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग पाउने गरी ल्याउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
यसप्रकारको इन्धन सबै गाडीमा प्रयोग गर्न सकिने छ।
युरो ६ मापदण्ड इन्धन ल्याएपछि विस्तारै युरो ४ मापदण्ड इन्धन विस्थापित गर्दै लगिने उनले बताए।
निगमका अनुसार हाल प्रयोगमा आइरहेको युरो ४ मापदण्डको इन्धनमा सल्फरिक ५० पिपिए छ। युरो ६ मा १० पिपिए मात्रै हुन्छ। यसले वातावरण प्रदूषणमा ह्रास ल्याउन मद्दत गर्दछ।
सल्फरिक भनेको एक प्रकारको रसायन हो। इन्धनमा सल्फरिक जति कम भयो त्यति नै वातावरण प्रदूषण कम हुने वातावरणविद् भूषण तुलाधार बताउँछन्।
उनका अनुसार सल्फरडाइअक्साइड वातावरणमा घुलेपछि पानीसँग रसायनिक प्रतिक्रिया गरेर सल्फ्युरिक एसिड बनी अम्लिय वर्षा गराउँछ।
यसले विभिन्न प्रकारका रोग लाग्नुका साथै कृषियोग्य जमिनको उर्वर क्षमतामा ह्रास ल्याउने, वन विनाश गराउँछ।
‘युरो ६ इन्धन बढी मात्रामा प्रशोधन गरिएको हुनाले वातावरण प्रदुषण कम हुने हो’, उनले भने, ‘साँच्चै वातावरण प्रदूषण कम गर्ने नै हो भने गाडीको मापदण्डमा पनि उत्तिकै महत्व दिनुपर्छ।’
युरो ६ इन्धन भनेको युरो ६ मापदण्डकै गाडीको लागि हो। विकसित मुलुकमा युरो ६ मापदण्डका गाडी चल्छन्।
भारतले नेपालका लागि युरो ६ इन्धन बनाउन लागेको होइन। उसले युरो ६ मापदण्डको गाडी प्रयोगमा ल्याउन त्यही अनुसारको इन्धन अपग्रेड गर्न लागेको हो।
युरो ६ इन्धन वातावरणमैत्री भएपनि नेपालमा लागू नहुने उनी बताउँछन्।
‘यहाँ चलेका पुराना गाडीले वातावरण प्रदूषण गरेको छ। युरो ६ मापदण्डको इन्धनले मात्र वातावरण प्रदूषण कम हुँदैन’, उनले भने।
सरकारले मादक पदार्थ सेवन जाँच गरेर जसरी दुर्घटना कम गराएको छ त्यसैगरी वातावरण प्रदूषण गर्ने गाडी जाँच गरेर प्रदूषण कम गर्नुपर्ने उनी बताउँछन्।
हाल नेपालमा युरो ३/४ मापदण्डका गाडी आयात हुने गरेको छ।
‘युरो ६ इन्धन भित्रिनु नेपालका लागि एउटा राम्रो अवसर हो, यो सँगै वातावरण प्रदूषण गराउने पुराना गाडी व्यवस्थित गर्न सरकार अघि बढ्नुपर्छ’, उनले भने।
वातावरण प्रदूषण हटाउन सरकारले एकीकृत कार्यक्रम नै ल्याउनुपर्ने उनी वातावरणविद् तुलाधार बताउँछन्।
‘प्रदूषण कम गराउने प्रमुख तत्व इन्धन हो। यसका साथै गाडी र सडकको पनि तालमेल मिलाउनु पर्छ’, उनले भने।
हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्नसक्ने निगमले जनाएको छ।
अहिले पेट्रोल १ सय ७ र डिजेल ९५ प्रतिलिटर छ।