तुलसीपुर उपमहानगरपलिकाको नजिकै रहेको तरकारी बजार आइतबारदेखि नयाँ ठाउँमा सर्ने भएको छ।
तुलसीपुर तरकारी व्यवसायी समितिका अध्यक्ष झुपाल खड्काले सब्जी बजार आइतबारदेखि सेन्टर माविको जग्गमा निर्मित संरचनामा सर्न लागेको जानकारी दिए।
यो तरकारी बजार निर्माण गर्न ३६ जना फलफूल र तरकारी व्यवसायीले प्रति व्यक्ति झन्डै साढे ३ लाख रकम संकलन गरेका थिए।
व्यवसायीले कूल १ करोड २६ लाख र तुलसीपुर उपमहानरपालिकाले १ करोड १० लाख लगानी गरेर स्कुलको जग्गामा नयाँ तरकारी बजार निर्माण गरिएको छ। अध्यक्ष खड्काले २०७५ साल असार २१ गते भएको सम्झौता अुनसार गत वर्ष माघदेखि लागू हुने गरी विद्यालयलाई भाडा बुझाउन सुरू भइसकेको जानकारी दिए। विद्यालय प्रशासन, उपमहानगरपालिका र व्यवसायिका बीचमा भएको त्रिपक्षीय सम्झौता अनुसार प्रत्येक वर्ष जग्गाको ५ प्रतिशतले वृद्धि गर्ने सहमति रहेको छ।
सेन्टर माविको १० कठ्ठा जग्गा २० वर्षको लागि भाडामा लिएर तुलसीपुर उपमहनगरपालिकाले यहाँ नयाँ सब्जीमण्डी निर्माण गरेको हो। जम्मा ३६ वटा स्टल निर्माण गरिएको फलफूल व्यवसायीका ३९ वटा र तरकारी व्यवसायीका १७ वटा स्टलहरू निर्माण गरिएका छन्।
भोलिदेखि फुटपाथमा तरकारी र फलफूल बेच्न नपाइने
विद्यालयको जग्गामा नयाँ सब्जिमण्डी निर्माण भएपछि अब आइतबारदेखि तुलसीपुर बजार क्षेत्रमा फुटपाथमा तरकारी र फलफूलको व्यापार गर्न नपाइने भएको छ। बजारलाई व्यवस्थित गर्ने उद्धेश्यले नयाँ निर्मित सब्जीमण्डीमा गाउँघरबाट तरकारी बेच्न आउने किसानलाई समेत नि:शुल्क रूपमा ठाउँको व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिए।
‘गाउँ घरबाट तरकारी तथा फलफूल बेच्न आउने किसानले अब सडकमा बसेर व्यापार गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ,’ अध्यक्ष खड्काले भने, ‘उहाँहरू सबैको लागि नयाँ सब्जीमण्डीमा नि:शुल्क रूपमा ठाउँको व्यवस्था गरिएको छ।’
यो व्यवस्था भएसँगै तुलसीपुरको बाहिनी चोक, बीपी चोक, वीरेन्द्र चोक र बसपार्क क्षेत्रको पिपलबोट लगाएको आसपासको सडक व्यापार अन्त्य हुने आशा गरिएको खड्काले बताए।