आयल निगम र एलपी ग्यास उद्योग संघको संयुक्त सहकार्यमा आइतबारदेखि विशेष डिलरहरूबाट ग्यास ब्रिक्री भइरहेको छ। ग्यास आपूर्ति बढेपनि दिनप्रतिदिन ग्यास नपाएको उपभोक्ताको गुनासो बढेपछि लेआउटबाट बिक्री थालिएको हो।
२२ वटा ग्यास उद्योगहरूले काठमाडौं, भक्तपुर, ललितपुरका २२ वटा ठाउँमा थप आउटलेटमार्फत ग्यास वितरण गरेका छन्। नेपाल ग्यास, तारा, चण्डी, सगर, एसटिसी, बाबा, श्री, लुम्बिनी, एचपी, सिद्धार्थ, श्रीमाया, लोकप्रिय, राजधानी, सुर्य, गीता, हिमाल, नमस्ते, भानु, एभरेष्ट, सुगम र श्री राम ग्यास वितरण भएको छ।
ती मध्ये नेपाल ग्यास दिएको ठाउँमा भने उपभोक्ताको लाइन देखिन्छ। बालाजुको विएमसी कर्नर, अनाम नगर र सातदोबाटोको एनएस स्टोरबाट नेपाल ग्यास वितरण भएको छ।
बालाजुमा रहेको बीएमसी कर्नरमा बिहान ६ बजेदेखि उपभोक्ता लाइनमा बसेको सञ्चालक सुरेन्द्र श्रेष्ठले बताए।
‘बिहानदेखि भीड नै छ, ८० वटा सिलिण्डर आएको थियो बाँडी सक्यौं’, सञ्चालक श्रेष्ठले भने, मानिसहरू अझै लाइनमै छन्, बेलुका ५ बजेसम्म बाड्छौं।’
ग्यास वितरण गरिएको ठाउँबाट करिब ४० मिटरपरसम्म मानिसहरू लाइनमा छन्।
सातदोबाटोका एनएस स्टोरका सञ्चालक पनि ग्यासमा उपभोक्ताको लाइन नै भएको बताँउछिन्। ‘बिहानदेखि लाइन छ, आएको ग्यास दिइरहेका छौं’, सञ्चालकले भनिन्, ‘जति छिटो लिन आउनुभयो त्यति राम्रो हुन्छ, नभए गाह्रै होला।’
अनामनगरमा पनि नेपाल ग्यास लिनेको भीड नै देखिन्छ। लाइनमा करिब ६०/७० जना जति मानिस देखिन्छन्।
अन्य ग्यासमा भने मानिसको लाइन नभएको व्यवसायी बताउँछन्। उपभोक्ता फाट्ट फुट्ट मात्र ग्यास लिन आएको गीता ग्यासका प्रोपाइटर सुवास केसीले बताए।
‘हामिले बिहान ९ सय ६२ वटा सिलिण्डर झारेका थियौं, उपभोक्ता फाट्ट फुट्ट आएर लगिरहेका छन्, भीडभाड छैन,’ उनले भने।
थलीमा रहेको आदर्श स्टोरमा भने ग्यास लिने उपभोक्ताको खासै भीड नभएको स्टोरका सञ्चालक आनन्द सिंखडाले जानकारी दिए। उक्त स्टोरमा ओम ग्यास पाइन्छ।
उनका अनुसार सामान्य दिनमा जस्तै ग्यास बिक्री भयो। ग्रामीण क्षेत्र भएकाले पनि खासै भीड नभएको उनी बताउँछन्।
एलपी ग्यास उद्योग संघका अनुसार आइतबार ती स्टोरबाट कुल २ हजार ५ सय सिलिण्डर बिक्री भयो।
त्यो मध्ये नेपाल ५ सय, सगर ३५३, चण्डी १०३, एसटिसी ५४, ओम ११५, बाबा र श्री १०५, लुम्बिनी ५३, एचपी ८०, सिद्धार्थ १४०, श्रीमाया ४७, लोकप्रिय १२०, राजधानी ११८, सुर्य १२५, गीता २१, हिमाल १४०, नमस्ते ४०, भानु ८०, एभरेष्ट १७९, सुगम ८६ र श्रीराम ४२ वटा सिलिण्डर बिक्री भएको छ।