तपाईंको घरमा चामल सकियो? लकडाउनले बजारमा किन्न जान सक्नुभएको छैन वा कोरोनाको त्रासले बजार जानुभएको छैन। त्यसोभए अनलाइनबाटै अर्डर गर्नुहोस्। सुलभ र सस्तो मूल्यमा तपाईंको घरमै आइपुग्छ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनमार्फत खाद्यान्न होम डेलिभरीको सेवा सुरु गरेको छ। उपभोक्ताले होम डेलिभरीका लागि नेपालफुड डटकम अनलाइनमार्फत अर्डर दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्।
‘अहिले हामीले आन्तरिक रूपमा पोर्टलको परीक्षण गर्यौं, अर्डर आइरहेको छ,’ उनले भनिन्, ‘अब उपभोक्ताले पनि अर्डर गर्न सक्छन्।’
लकडाउनको अवधिमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले होम डेलिभरी सेवा सुरू गरेको सुवेदी बताउँछिन्। उनका अनुसार सुरूआतमा उपत्यका भित्र मात्र सेवा दिइने छ। यो सेवा अहिलेका लागि मात्र नभएर पछिसम्म निरन्तर दिइने याेजना बनाएकाे उनले जानकारी दिइन्।
‘होम डेलिभरीको शुल्क लाग्दैन, साबिकको मूल्यभन्दा अझ १० प्रतिशत छुट दिन्छौं,’ उनले थपिन्, ‘उपभोक्ताको अर्डर आएपछि कन्फर्मेसन हुन्छ, त्यसको भालिपल्ट डेलिभरी हुन्छ।’
उनका अनुसार उपभोक्ताले सामान अर्डर गरेपछि खल्ती र इसेवामार्फत पेमेन्ट गर्नुपर्नेछ। साथै होम डेलिभरीको समयमा पनि नगद दिन सक्नेछन्। उपभोक्ताले २ हजार मूल्यभन्दा माथिको सामानको अर्डर दिनुपर्ने छ। कम्पनीमा अहिले चामल र सिमी मात्र भएकाले उपभोक्ताले सोही सामान मात्र अर्डर गर्न सक्नेछन्।
सिमी आधा किलो, दुई किलो र तीन किलो तौलमा उपलब्ध छ । यसको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । त्यस्तै, जिरा, सोना र जापानिज चामल छन्। स्टिम राईस केही दिनमा आइपुग्ने उनले जानकरी दिइन्।
उनका अनुसार चामल ३० केजीको बोरामा उपलब्ध छ।
सरकारी कम्पनीले होम डेलिभरीको सेवा पहिलो पटक गर्न लागेको हो। यसअघि खाद्य कम्पनी र सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनले घुम्ती सेवामार्फत खाद्यान्न टोल–टोलमा बिक्री गर्दै आएका छन्।