नेपाल आयल निगमले वार्षिक कार्यक्रममा पेट्रोलियम पाइपलाइन विस्तार गर्ने, भण्डार क्षमता बढाउने र नयाँ भवन बनाउने योजना बनाएको छ।
निगमले चालू आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा वार्षिक कार्य योजना प्रस्तुत गरेको थियो। त्यसैको आधारमा निगमले कार्ययोजना बनाएको हो।
कार्ययोजना अनुसार नेपाल आयल निगमले बबरमहलमा रहेको केन्द्रीय कार्यालयलाई भत्काएर नयाँ भवन बनाउने भएको छ।
मिटिङ हल, कर्मचारी सबैलाई बस्ने ठाउँको अभाव, अन्तर्राष्ट्रिय छलफल भवन अभाव भएकाले नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
उनका अनुसार कम्पनी छनोटका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया भइरहेको छ। टेकुमा कार्यालय सारेपछि केही साताभित्रै प्रक्रिया पूरा गरेर टेण्डर आह्वान गरिने छ। भवन बनाउन करिब पौने दुई अर्ब खर्च हुने निगमको अनुमान छ।
निगमका अनुसार टेण्डर आह्वान भएर कम्पनी छानी सम्झौता भएपछि करिब तीन वर्षमा नयाँ भवन बन्ने छ।
निगमले डिजेल भण्डारणको लागि पोखरामा ५-५ लिटरको दुई वटा १० हजार किलोलिटरको ट्याङ्की बनाउन लागेको छ।
त्यसको अनुमानित लागत एक अर्ब छ। त्यसक्षेत्रमा हाल तीन दिको माग धान्ने २२ सय किलो लिटरको ट्याङ्की छ। १० हजार किलोटिरको ट्याङ्की बनेपछि एक महिनाको माग धान्न सकिने प्रवक्ता उपाध्यायले जानकारी दिए।
भण्डारण निर्माणका लागि भारत ट्यांक कम्पनीले जिम्मा पाएको छ। अब दुई वर्षभित्रमा उक्त भण्डार निर्माण सकिने छ। यसको टेण्डर आह्वान गरी एक कम्पनीलाई जिम्मा दिइएको छ।
अमलेखगञ्जबाट चितवन लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने
निगमले अमलेखगञ्जबाट चितवन लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना बनाएको छ।
त्यसको लागि नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच छलफल भइरहेको छ। कसरी निर्माण गर्ने, कस्तो प्रविधिको भण्डार ट्यांक राख्ने र कुन मोडालिटीमा जाने भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता उपाध्यायले जानकारी दिए।
उनका अनुसार लोथरमा एक लाख किलो लिटर र झापामा ४० हजार लिटरको भण्डारण निर्माण गरिनेछ। ‘कति क्षमताको बनाउने, कहाँसम्म विस्तार गर्ने भन्ने निर्णय भइसको छ। त्यसलाई बिटुबी गर्ने कि ठेक्का लगाएर गर्ने भन्ने विषयमा भारतीय सरकार र नेपाल सरकारबीच छलफल भइरहेको छ,’ उनले भने।
गत वर्ष पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगमको अमलेखगञ्ज डिपो परिसरमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरी चितवन लोथर पुर्याउने कार्यको शुभारम्भ गरेका थिए। अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दूरी ६२ किलोमिटरको हुनेछ। पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिन्छ।
भैरहवामा ३ सय ५० केएल क्षमताको हवाई इन्धन भण्डारगृह दुई महिनामा तयार हुने निगमले बताएको छ। हाल भैरहवामा ६० केएल क्षमताको हवाई इन्धन भण्डारगृह छ। भैरहवामा १० हजार केएल क्षमताको हवाई इन्धन भण्डारगृहको डिपिआरको काम सकेर परामर्शदाता छनोट गर्ने प्रक्रियामा छ।
भद्रपुरमा पाँच विघा आफ्नै जग्गामा एलपिजीको बोटलिङ प्लान्ट (ग्यास भण्डारण) राख्नका लागि परामर्श दाता छनोट गरिसकिएको निगमले जनाएको छ। गत आर्थिक वर्षमा निगमले भण्डारण निर्माणका लागि इओआई (परामर्श दाता) सूचना निकालेको थियो। निगमले यही आवमा ६ वटा विमानस्थलमा फम भेइकल (फायर फाइटिङ) निमार्ण गर्ने बताएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल (टिआइए)सहित मुलुकभरका सात डिपोमा अहिले करिब ८५ लाख लिटर हवाई इन्धन भण्डार गर्ने क्षमता छ। टिआइएमा मात्र ७७ लाख १० हजार लिटर क्षमता छ। काठमाडौंमा ७ हजार ७ सय १० किलोलिटर, विराटनगरमा दुई सय ८० किलोलिटर, नेपालगन्जमा दुई सय ८० किलोलिटर, भैरहवामा ६० किलोलिटर, पोखरामा ६४ किलोलिटर, सुर्खेतमा ६० किलोलिटर र धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डार क्षमता छ। हवाई इन्धन डिपो भद्रपुर, झापा, विराटनगरमा छ भने आपूर्ति बिन्दु सिलिगुडीमा छ।
यसैगरी, काठमाडौंको हवाई इन्धन डिपो सिनामंगलमा छ भने यसको आपूर्ति बिन्दु भारतको रक्सौलमा छ। भलवारी पोखरा हवाई इन्धन आपूर्ति बिन्दु रक्सौलमा छ भने नेपालगन्ज सुर्खेत र धनगढी डिपोको आपूर्ति केन्द्र भारतको इलाहावादमा रहेको छ। निगमसँग भएको हवाई इन्धन भण्डार क्षमता सबैभन्दा बढी काठमाडौंको सिनामंगलमा छ भने सबैभन्दा कम क्षमता रामेछापको मन्थलीमा रहेको छ। हाल निगमसँग भएको डिजेल तथा पेट्रोलले सात दिनको माग धान्न सक्छ। यसको भण्डारगृह काठमाडौंलगायत विराटनगर, जनकपुर, अमलेखगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत, थानकोट, धनगढी र दीपायलमा रहेको निगम जानकारी दिएको छ।